

बुटवल । हस्पिटालिटी क्षेत्रमा शिक्षा र तालिम दिँदै दक्ष जनशक्ती उत्पादन गर्दै आइरहेको पाणिनी कलेज बुटवलले देवदह नगरपालिकाको खैरेनीमा शाखा विस्तार गरेको छ । सोमबार एक कार्यक्रमबीच देवदह नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडाध्यक्ष गणेश डुम्रेले खैरेनी शाखाको उद्घाटन गरे ।

सोही अबसरमा बोल्दै नगर प्रवक्ता डुम्रेले दक्ष जनशक्तीलाई नेपालमै थुप्रै अवसरहरु रहेको बताए । पछिल्लो समय बढ्दो विदेश पलायनलाई रोक्न युवालाई रुचीअनुसारको सिप सिकाउन जरुरी रहेको उनले बताए । ‘आजको प्रतिष्पर्धी समयमा कुनैपनि क्षेत्रमा दक्ष नभइकन रोजगारी पाउन कठिन छ ।’, नगर प्रवक्ता डुम्रेले भने, ‘युवा जनशक्ति रोजगारीको खोजीमा विदेशतिर पयालन भइरहेका छन् तर, कतिपयले यूवाले मेहनत गरे नेपालमै पर्याप्त कमाइ गर्न सकिने उदाहरण पनि प्रस्तुत गरिरहेका छन् ।’ नगर प्रवक्ता डुम्रेले दक्ष जनशक्ती उत्पादनमा पाणिनी कलेजले महत्वपूर्ण भूमीका खेल्ने विश्वास व्यक्त गरे ।
हस्पिटालिटी क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित स्थापना भएको कलेज छोटो समयमै विद्यार्थीको पहिलो रोजाइमा परेकको कलेजका डाइरेक्टर जनकराज भुसालले बताए । देवदह क्षेत्रका विद्यार्थीहरुलाई सहजरुपमा गुणस्तरीय सेवा प्रदान गरी दक्ष बनाउने उद्देश्येले खैरेनीमा शाखा विस्तार गरीएको उनले बताए । वि.स.२०७४ सालमा बुटवल–८ सुख्खानगरमा स्थापना भएको कलेजमा डिप्लोमा इन होटल म्यानेजमेन्ट (डिएचएम) सँगै अन्य छोटो समयका कोर्षहरु कफि मेकर (बारिष्टा), किचन कुकिङ, हाउसकिपिङ, वेटर/वेट्रेस, बेकरी एण्ड क्याफे, रेष्टुरेन्ट बार ट्रेनिङलगायतका कोर्षहरु सञ्चालनमा रहेको डाइरेक्टर भुसालले बताए ।

६५ जना विद्यार्थीबाट सुरु गरिएको कलेजमा वार्षिक २५० भन्दा बढी विद्यार्थीले डिएचएम तथा अन्य कोर्सहरू पढ्दै आइरहेको कलेका अर्का डाइरेक्टर देवराज शर्माले बताए । विदेश जाने तथा स्वदेशमै केही गरौँ भन्नेहरूको रोजाइमा डिएचएम र छोटो समयका तालीमहरु पर्ने गरेको उनले बताए । जुनसुकै विषय लिएर पढेका विद्यार्थीहरुले यो कोर्ष पढ्न सक्ने डाइरेक्टर शर्माले जानकारी दिए । काठमाडौं, पोखरा, बुटवल, भैरहवाका स्टार लेबलका होटलसम्म साझेदारी गरी तालिमपछि विद्यार्थीहरुलाई पठाउने गरीएको उनले बताए । लुम्बिनी बौद्ध विश्व विद्यालयको सम्बन्धनमा ‘समुदाय सँगै विश्वविद्यालय’ कार्यक्रमकअन्तर्गत कलेजले तालीमपछि प्लेसमेन्टको लागि दर्जनबढी होटलसँग सम्झौता गरेको छ ।
पढाइपश्चात् रोजगारीको ग्यारेन्टी हुने भएकाले पनि बिद्यार्थीको आकर्षण बढ्दै गएको कलेजका प्रवन्ध निर्देशक गुरुदत्त पोडेलले बताए । आगामी दिनमा आबश्यकता अनुसार थप शाखा विस्तार गर्ने योजना बनाएको उनले बताए । कार्यक्रममा लुम्बिनी बौद्ध विश्व विद्यालयका उपप्राध्यापक श्रीप्रसाद भट्टराई, लुम्बिनी सिटी क्याम्पसका सहायाक क्याम्पस प्रमुख मोहन भण्डारी, नेपाली कांग्रेस देवदह नगर सभापती गुणाखर भुर्तेललगायतले आआफ्नो भनाई राखेका थिए ।