होटल तथा रेष्टुरेन्ट व्यवसायी संघद्धारा होली मिलन

मेचीकाली संवाददाता

२९ फाल्गुन २०८१, बिहीबार
78 shares

बुटवल । होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देही फागु पुर्णिमा अर्थात होली बिहीबार शुभकामना आदान प्रदान गरी मनाएको छ । सिद्धबाबा पार्टी प्यालेसमा आयोजना गरिएको होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीको होली मिलन कार्यक्रमको सागर डिष्ट्रिलरी लिमिटेडका रिजनल म्यानेजर किशोर पुरीले उद्घाटन गर्दै मदिरा ब्यवसायी र पर्यटन ब्यवसायीहरु बिचको सहकार्यबारे प्रकाश पारे । बजारमा उपभोक्ताको मागलाई मध्येनजर गरी गुणस्तरिय मदिरा उत्पादन गर्दै आएको भन्दै एकअर्काबिच ब्यवसायिक सहकार्य गर्न सके ब्यवसाय प्रवद्र्धन हुने उनले बताए ।

कार्यक्रममा संघका प्रमुख सल्लाहकार माधव प्रसाद नेपालले पौराणिक र स्वास्थ्यसंग समेत जोडिएको असत्यमाथि सत्यको जितको पर्वका रुपमा मनाउने गरिएको बताए । मानव जीवनको सार्थकता समाजलाई केही दिनसकेमात्र सफल हुने बताए । पर्यटन, कृषि र जलश्रोतबाट मात्र आर्थिक समृद्धि हुने सरकारको घोषणाको कारण पनि अब यसलाई मुलमुद्घा बनाएर अघि बढ्नुपर्ने उनले बताए ।
कार्यक्रममा संघका प्रमुख सल्लाहकार समुन्द्र जिसीले ब्यवसायिक एकतालाई मुलमन्त्र बनाएर अघि बढ्न सुझाव दिदै नेपालीहरुको पर्वहरुको समेत सन्देश रहेको उनले बताए ।

कार्यक्रममा संघका अध्यक्ष लेखनाथ भण्डारीले संस्थाका वार्षिक कार्ययोजना अनुसार संस्कृति संरक्षण अभियान अन्तरगत होलीको शुभकामना मनाएको बताए । पछिल्लो केहि वर्षमा विश्व नै आर्थिक कठिनाईबाट ग्रुजेको बेला पर्यटन ब्यवसाय अछुतो नरहेको भन्दै संस्थाबाट विभिन्न समयमा संघबाट भएको कामहरुबारे जानकारी दिए । घरबहालको समस्या, होर्डिङ बोर्डको विषय लगायतको बेला अगुवाई गरेको उनले बताए ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष माधव खनालले संस्थाको हक अधिकारसंगै ब्यवसायिक एकता दर्शाउने यो पर्व होलीको महत्व रहेको बताए । संघका सल्लाहकार विष्णु पोखरेलले पौराणिक कथाको आधारमा महत्व बोकेको होली पर्वको महत्व आज पनि उत्तिकै रहेको बताए । सो अवसरमा महासचिव अर्जुन थापा, कार्यक्रम संयोजक दामोदर पौडेलले होटल ब्यवसायहरुको बिचमा सदभाव र एकता दिने गरि वर्षभरि नै विविध रचनात्मक कार्यक्रमलाई मनाउने परम्परा आफुहरुले कायम गरेको बताए ।