

बुटवल । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ७ किलो गाँजासहित भारतीय महिला पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा भारतको महाराष्ट्र मुम्बइकी ४५ वर्षीया गुलनाज बैग रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी वरिष्ठ प्रहरी उपरीक्षक जर्नादन जिसीले जानकारी दिए ।

सोमबार दिउँसो थाइल्याण्डबाट थाई एयर एसियाको विमानमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आएकी महिलाको गतिविधि शंकास्पद लागेपछि प्रहरी निरीक्षक अर्जुन पौडेलको कमाण्डमा खटिएको प्रहरी टोलीले लगेज चेकजाँच गर्ने क्रममा हरियो रङको सुटकेशभित्र २६ वटा प्लाष्टिकको प्याकेटमा प्याक गरेर राखेको अवस्थामा गाँजा फेला परेको हो ।
उक्त महिलालाई पक्राउ गरेर थप अनुसन्धान र आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाइएको वरिष्ठ प्रहरी उपरीक्षक जिसीले बताए ।