तिलोत्तमाका किसानलाई आधारभूत मौरीपालन तालिम

मेचीकाली संवाददाता

४ चैत्र २०८१, मंगलवार
145 shares

बुटवल । तिलोत्तमाका मौरीपालक किसानलाई मौरीपालनसम्बन्धी आधारभूत तालिम दिइएको छ । तिलोत्तमा नगरपालिकाले यहाँका किसानलाई ३ दिनको तालिम दिएको हो । तिलोत्तमा–७ भलवारीमा सञ्चालन भएको तालिम मंगलबार एक कार्यक्रमका बीच समापन गरीएको छ ।

किसानलाई मौरीपालनबारे ज्ञान दिई मौरीपालनको व्यवसायिकतामा वृद्धि तथा अर्थोपार्जनमा सहयोग पु¥याउन तालिम आयोजना गरिएको नगरस्तरीय कृषि समिति सञ्जाल सदस्य गौरीकान्त पौडेलले जानकारी दिए । समापन कार्यक्रममा तिलोत्तमा–६ का वडाध्यक्ष गणेश पाठक, तिलोत्तमा–७ का वडाध्यक्ष देवि पंगेनी, तिलोत्तमा–९ का वडाध्यक्ष धुव्रप्रसाद न्यौपाने लगायतले आआफ्नो भनाई राख्दै मौरीपालनसँगै प्रांगारिक खेती गर्न किसानलाई आग्रह गरे ।

तालिममा मौरीका जात, प्रविधि, मौरी चरन, मह उत्पादन तथा बजारीकरण, गोला व्यवस्थापन, रानी उत्पादन, परम्परागत घार र आधुनिक घारमा फरक तथा प्रयोगका फाइदा बेफाइदा, व्यवसायिक मौरीपालन गर्दा ध्यान दिनुपर्ने कुराहरु लगायत विषयमा तिलोत्तमा नगरपालिका कृषि शाखा प्रमुख दोमलाल भुसाल, रामप्रसाद खनाल, सौरभ बस्ताकोटी, केशब कुँवर लगायतले प्रशिक्षण दिएका थिए । भने मौरीपालक किसान बलराम काफ्ले र सुम बहादुर बस्नेतले प्रयोगात्मक सहजीकरण गरेका थिए । तालिममा सहभागी इश्वरी न्यौपाानेले तालिम उपलब्धीमुलक रहेको बताइन् । तालिममा ३० जना मौरीपालक किसानहरु सहभागी थिए ।