स्वास्थ्य प्राविधिक संघ रुपन्देहीद्धारा न्युरो, ट्रमा र युरो रोगसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

मेचीकाली संवाददाता

८ चैत्र २०८१, शनिबार
146 shares

बुटवल । नेपाल स्वास्थ्य प्राविधिक संघ, रुपन्देहीको आयोजनामा न्युरो, ट्रमा र युरो रोगसम्बन्धी अभिमुखिकरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । एडमण्ड सिटि हस्पिटलको सहकार्यमा प्यारामेडिक्स तथा नर्सिङ्ग स्वास्थ्यकर्मीहरुलाई लक्षित गरी सोही हस्पिटलमा उक्त कार्यक्रम आयोजना गरीएको हो ।

कार्यक्रममा विर अस्पतालका बरिष्ठ न्युरो सर्जन डा.राजेन्द्र श्रेष्ठले ब्रेन ट्युमर र ब्रेन क्यान्सरबारे जानकारी दिए । मस्तिष्कमा अनियन्त्रित रुपमा कोषिकाहरुको वृद्धि हुँदै क्यान्सरसमेत हुनसक्ने उनले बताए । विनाइल ट्युमर नफैलिने खालको भएपनि मिलिग्नेट ट्युमर भने मस्तिष्कमा फैलिने भएकाले यसले ब्रेन क्यान्सर गराउने उनले बताए । ब्रेन क्यान्सर हुँदा टाउको दुख्ने, बान्ता हुने, अचानक ढल्ने समस्या, मुर्छा पर्ने, हातखुट्टा लुलो महसुस हुनु, प्यारालाइसिस महसुस हुनु, आँखाको दृष्टि कमजोर हुँदै जाने, व्यवहारमा परिवर्तन आउने, चेतना कम हुँदै जाने जस्ता लक्षण देखा पर्ने उनले बताए । ब्रेन क्यान्सर हुने सम्भावना कम गर्न विभिन्न प्रकारका विकिरणबाट जोगिने, मद्यपान, धुम्रपान र प्रदूषणबाट टाढा रहँदा केही हदसम्म बच्न सकिने उनको भनाई थियो ।

यस्तै एडमण्ड सिटि हस्पिटलका युरोलोजिस्ट डा.सगुन थापाले मृगौला, पत्थरी, पोष्टेड र पिसाबसम्बन्धी रोग बढ्दै गएको बताउँदै यी रोगबारे जानकारी गराएका थिए । मृगौलाको क्यान्सर, लिङ्गको क्यान्सर, पिसाब थैलीको क्यान्सर, अण्डकोष सुन्निने जस्ता समस्याका बिरामीहरु बढीरहेको उनको भनाई थियो । पछिल्लो समय उपचारमा प्रयोग भएका आधुनिक प्रविधिबारे जानकारी गराउँदै डा. थापाले दुरविनको प्रयोगबाट अपरेसन बिना बिभिन्न जटिल रोगहरु पत्ता लगाउने र उपचार गर्न सकिने प्रविधि विकास भइसकेको बताए ।

कार्यक्रममा नेपाल स्वास्थ्य प्राविधिक संघका केन्द्रिय अध्यक्ष बसन्तकुमार श्रेष्ठले स्वास्थ्यकर्मीहरुको अधिकारका लागि वि.सं २०३६ सालमा स्थापना भएको सघ निरन्तर क्रियाशील रहेको बताए । नेपाल स्वास्थ्य प्राविधिक संघ रुपन्देहीका अध्यक्ष इश्वरी पौडलले वार्षिक कार्यक्रम अनुसारनै अभिमुखिकरण कार्यक्रम आयोजना गरीएको बताए । साथै उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

एडमण्ड सिटि हस्पिटलका मेडिकल डाइरेक्टर डा.राजकृष्ण श्रेष्ठले अस्वस्थकर खाना र अव्यवस्थीत जिवनशैलीका कारण जटिल खालका रोग बढ्दै गएको बताए । हस्पिटलका सञ्चालक उमा थापाले अस्पतालले प्रदान गर्दै आएका सेवाबारे जानकारी गराइन् । साथै उनले बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरेका कारण छोटो समयमै अस्पतालले सफलता प्राप्त गर्न सफल भएको बताइन् ।

सोही अवसरमा एडमण्ड सिटि हस्पिटल र स्वास्थ्य प्राविधिक संघ रुपन्देहीबीच स्वास्थ्य सेवा सम्झौता गरीएको छ । हस्पिटलका अध्यक्ष प्रकाश राना र स्वास्थ्य प्राविधिक संघका अध्यक्ष इश्वरी पौडेलले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार संघका पदाधिकारी, सदस्य, कर्मचारी तथा तिनका परिवारले हस्पिटलमा उपलब्ध सेवा तथा शल्यक्रियामा १५ देखि ५० प्रतिशतसम्म छुट पाउनेछन् । ओ.पि.डी टिकट, होलबडी चेकअप, बेड चार्ज, प्रयोगशाला, रेडियोग्राफी, शल्यक्रिया शुल्कमा छुट दिने सम्झौता गरीएको हो । स्वास्थ्य प्राविधिक संघ रुपन्देहीका उपाध्यक्ष सिद्धार्थ आचार्यको स्वागत तथा सचिव सन्तोष खरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।