

अमृत गिरी
बुटवल । उपप्रधान तथा अर्थमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आगामी आव ०८२/८३ को बजेटको पूर्वतयारीकै सिलसिलामा निर्वाचन क्षेत्रमा विशेष परामर्श गर्दै तथ्यगत सुझाव माग गरेका छन् । उनले पूरा भएका योजनाको दिगो सञ्चालनलाई प्राथमिकतामा राख्दै अधुराको पूर्णता र नयाँको आवश्यकताको प्रभाव क्षेत्रबारे मिहीन अध्ययन गरेर प्रतिवदेन बुझाउन निर्देशन दिएका छन् ।
उनले हचुवाका आधारमा, पहुँच र निम्छरो स्वार्थका आधारमा योजना नबनाउन र बजेट माग नगर्न सचेत बनाएका छन् । पौडेलले आउँदो आवको बजेटअघि निर्वाचन क्षेत्रमा विभिन्न क्षेत्रका विज्ञ, निजी क्षेत्रका लगानीकर्ता, स्थानीय अगुवा तथा सरकारी अधिकारीहरूसँग राय सुझाव लिइरहेको र तथ्यांकसहितको विशेष प्रतिवेदन बनाउन लगाएको पार्टीको निर्वाचन क्षेत्रीय कमिटीका सचिव तथा जिल्ला कमिटी सदस्य मेघराज भट्टराईले जानकारी दिए । विकासको प्रभावकारिता, नयाँ योजनाको आवश्यकतासँगै सम्पन्न परियोजनाको दीर्घकालीन फाइदा सुनिश्चित गर्नेतर्फ अर्थमन्त्रीको जोड छ ।

सोही आधारमा रहेर तथ्यसहितको सुझाव संकलन गरेर प्रतिवेदन बनाउन कमिटीलाई उनको निर्देशन छ । पार्टीको निर्वाचन क्षेत्रीय कमिटीलाई यसको समन्वय, सहजीकरण र आवश्यकताका आधारमा माथिल्ला कमिटीमा पनि समन्वय गर्न सुझाएका छन् । अर्थमन्त्री पौडेलले विषयविज्ञ, नागरिक अगुवा र निजी क्षेत्रसंग अनिवार्य परामर्श गरेर मात्रै योजना र बजेट माग गर्ने सूची बनाउन निर्देशन दिएका छन् । एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ कमिटीको आयोजनामा बुधबार बुटवलमा भएको विशेष परामर्श बैठकमा अर्थमन्त्री तथा सोही निर्वाचन क्षेत्रका सांसद पौडेलले अबको बजेटमा समटेनुपर्ने योजनामात्रै होइन तिनको प्राथमिकता र समुदायमा पर्ने प्रभावसमेत खुलाउन निर्देशन दिएको क्षेत्रीय कमिटीका सचिव भट्टराईले जानकारी दिए ।
अर्थमन्त्री पौडेलले हाल निर्माणको चरणमा रहेका योजनाहरु, अधुरा रहेका योजनाको अवस्था र तिनको कारण, समस्या समाधानका उपायसमेत प्रतिवेदनमा समेट्न लगाएका छन् ।
उक्त परामर्श कार्यक्रममा अर्थमन्त्रीले निर्वाचन क्षेत्रअन्तर्गत रहेका पार्टीका पोलिटब्यूरो सदस्य पूर्वमुख्यमन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य लिला गिरी, अर्का पोलिटब्यूरो सदस्य तथा पूर्वसांसद दधिराम न्यौपाने, केन्द्रीय सदस्य तथा बुटवल उपमहानगरका पूर्वमेयर शिवराज सुवेदी, केन्द्रीय सदस्य गुमादेवी आचार्य, उपप्रमुखसमेत रहेकी केन्द्रीय सदस्य सावित्रादेवी अर्यालसहित केन्द्रीय सल्लाहकार नेत्र पन्थी, लेखा आयोगका विष्णु पन्थी, केन्द्रीय अनुशासन आयोगका तुलसी चौधरी, पार्टीका प्रदेश उपाध्यक्ष पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठ, जिल्ला अध्यक्ष यज्ञ गैरेसहित विभिन्न तहका नेता, कार्यकर्ताहरु सहभागी थिए ।

उनीहरुसहित पार्टीका जनवर्गीय संगठन, शाखा कमिटीका अगुवा र विभिन्न विषयका विज्ञहरुसमेतले निर्वाचन क्षेत्रको विकास निर्माण र सामाजिक परिवेशका बारेमा संक्षिप्त जानकारी गराएका थिए । पौडेललाई मुलुकका सफल अर्थमन्त्रीमध्येमा गनिन्छ । उनको नेतृत्वमा रुपन्देही क्षेत्र नं. २ मात्र नभई समग्र लुम्बिनी प्रदेशको विकासमा महत्वपूर्ण कामहरू भएका छन् ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र सभा हल, व्यापारिक (वाणिज्य) मार्गहरू तथा व्यापारिक पूर्वाधार निर्माण, लुम्बिनी प्रादेशिक अस्पताल (निर्माणाधीन अवस्था), झुम्सा खानेपानी आयोजना (निर्माणाधीन अवस्था), तिनाउ–दानव करिडोर र अन्य रणनीतिक सडक निर्माण परियोजनाको अवस्थाका बारेमा वस्तुगत प्रतिवेदन माग गर्दै जिम्मेवारी दिइएको निर्वाचन क्षेत्रीय कमिटीका सचिव भट्टराईले जानकारी दिए ।
साथै अव्यवस्थित बसोबासीको प्रभावकारी व्यवस्थापन तथा भूमिहीन सुकुम्बासीलाई गास र आवाससहितको प्रबन्ध गर्नेबारेमा पनि तथ्यांकसहितको प्रतिवेदन बनाइने भएको छ । अधुरा परियोजनाहरू पूरा गर्न थप कति बजेटको आवश्यकता पर्ने हो, प्रशासनिक जटिलता तथा सरकारी प्रक्रियामा ढिलाइले काम प्रभावित भए नभएको के छ त्यसको पनि वस्तुगत रुपमा प्रतिवेदन बनाउन अर्थमन्त्रीले निर्देशन दिएको निर्वाचन क्षेत्रीय कमिटीले जनाएको छ ।
कार्यक्रममा सहभागी अगुवा कार्यकर्ताहरुले योजना कार्यान्वयनमा समन्वयात्मक पहल भइरहेको र महत्वपूर्ण आयोजनाहरु नै समयमै सम्पन्न नहुने समस्या रहेको गुनासो गरेका थिए । उनीहरुले बजेटको अभाव नभएको बरु सम्पन्न भएका योजनाहरुमा ‘विजनेश प्लान’सहितको विशेष योजनाको खाँचो रहेको औंल्याएका थिए ।

अर्थमन्त्री पौडेलले स्थानीय, प्रदेश र संघीय मातहत जनताको आयआर्जनसँग प्रत्यक्ष प्रभाव पार्ने थप योजनाहरुका बारेमा पनि अध्ययन गरेर प्रतिवेदनमा समेट्न लगाएका छन् । दीर्घकालीन प्रभावका लागि परियोजनाहरूलाई आर्थिक उत्पादनशीलतासँग जोड्नुपर्नेमा उनको जोड थियो ।
राजस्व संकलन र स्रोतको वास्तविक अवस्था, विकास परियोजनाहरूको व्यवसायिकता र आम नागरिकको जीवनस्तरमा प्रभाव, समस्या र समाधान उपायहरूको पहिचान गर्दै जनताको जीविकोपार्जनसँग योजनाहरू कसरी जोड्न सकिन्छ भन्ने विश्लेषण गरेर प्रतिवेदन बनाउने तयारी भइरहेको निर्वाचन क्षेत्रीय कमिटीका संयोजक ऋषिराम पाण्डेले जानकारी दिए ।
स्वास्थ्य तथा शिक्षाका क्षेत्र, रोजगारी विस्तार, उद्यमशिलताको विकास, लुम्बिनी प्रादेशिक अस्पताललाई स्तरोन्नति गर्न, लुम्बिनीको पर्यटकीय सम्भावना बढाउन पूर्वाधार विकासका क्षेत्रको प्रभावकारिता बढाउने, अधुरा रहेका व्यापारिक मार्ग र करिडोर निर्माणलाई तीव्रता दिनुपर्ने र ती आयोजनाबाट प्रभावित हुने समुदायलाई उचित प्रबन्धसहित स्थानान्तरण गर्नुपर्ने, स्थानीयस्तरमा रोजगारका अवसर सिर्जना गर्न उद्योगमैत्री नीति बनाउनुपर्ने, भूमिहीन तथा सुकुम्बासीसंग सम्बन्धित समस्याको समाधानका लागि ठोस नीति बनाउन कार्यकर्ताहरुबाट सुझाव आएको कमिटीका सहसंयोजक राजेन्द्र ढकालले बताए ।
विष्णुप्रसाद पौडेलले ल्याउने आगामी बजेट रुपन्देही क्षेत्र नं. २ मात्र नभई लुम्बिनी प्रदेशकै विकासको मेरुदण्ड बन्ने अपेक्षा गरिएको सुझाव संकलन कार्यक्रममा सहभागीहरुको धारणा थियो । आगामी बजेटमा जनताको माग, योजनाको दीर्घकालीन उपयोगिता र प्रभावकारी कार्यान्वयनलाई विशेष प्राथमिकता दिनुपर्ने उनीहरुको सुझाव थियो ।

बजेट कार्यान्वयनका लागि आवश्यक स्रोत व्यवस्थापन, योजना कार्यान्वयनको प्रभावकारीता र समग्र विकास योजनाहरूलाई आत्मसात् गर्दै आउँदो आर्थिक वर्षको बजेटलाई समावेशी, दिगो तथा उत्पादनमुखी बनाउनेगरी समग्र रुपन्देहीको आवश्यकता यकिन गर्दै प्रतिवेदन तयार पारिने एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले जानकारी दिए ।
अर्थमन्त्री र लुम्बिनी प्रदेशसभाका सांसद तथा पूर्वमुख्यमन्त्री गिरी र पूर्वमन्त्री श्रेष्ठले निर्वाचन क्षेत्रमा सम्पन्न योजनाहरूको व्यवसायिकता, जनताको जीवनस्तरमा पारेको प्रभाव, योजनाका कार्यान्वयनका अवरोधहरू तथा टिकाउ विकासका उपायबारे विज्ञहरूसँग छलफल गरेर प्रतिवेदन बनाउन कमिटीलाई निर्देशन दिएको प्रचार विभाग प्रमुख मिनप्रसाद पौडेलले बताए ।
निजामती सेवाका कर्मचारी, निजी क्षेत्रका लगानीकर्ता तथा विषय विज्ञहरूलाई तथ्यांकसहित प्रतिवेदन तयार गर्न निर्देशन दिइएको प्रचार विभाग प्रमुख पौडेलको भनाइ छ । उनले योसँगै रुपन्देहीका सबै १६ वटै पालिका, १५० वटै वडा र टोलहरुमा समेत सुझाव संकलन र योजना छनौट अघिका परामर्श कार्यक्रमहरु गरिने जानकारी दिए ।
यस्ता छन् कार्यकर्ताका सुझाव
अन्तक्र्रिया र भेटघाटका कार्यक्रमहरु निरन्तर गर्नुपर्ने, वडास्तरीय अन्तक्र्रिया कार्यक्रम आयोजना गर्नुपर्ने, आधारभूत तहमा रहेका पार्टीका कार्यकर्ताहरुको बीचमा निरन्तर संवाद गर्नुपर्ने, पार्टीभित्रको गुटबन्दी अन्त्य गर्नुपर्ने, स्थानीय नेताहरुका कारणले सृजना भएको अन्तरविरोधलाई समाधान गर्नुपर्ने ।
कार्यकर्तालाई योग्यताअनुसारको काम र कामअनुसारको जिम्मेवारी दिनुपर्ने । पर्टी र नेतृत्वका विषयमा फैलाइएका भ्रमपूर्ण र तथ्यहिन सूचनाहरुको भण्डाफोर र सशक्त प्रतिवाद गर्नुपर्ने । रचनात्मक तथा सृजनात्मक कार्यक्रमहरु पार्टीले अगाडि बढाउनुपर्ने । पार्टीमा युवा र महिलालाई विशेष रुपमा सक्रिय बनाउनुपर्ने । पार्टीका नेता कार्यकर्ताहरु जनताको घरघरमा जानुपर्ने । नेता कार्यकर्ताको कार्यशैली र व्यवहार हार्दिकतापूर्ण र जनमैत्री हुनुपर्ने ।
झुम्सा खानेपानी परियोजना तत्काल सम्पन्न गर्नुपर्ने । अन्तर्राष्ट्रिय सभाहल र प्रदर्शनी व्यवस्थित हिसाबले सञ्चालनमा ल्याउनुपर्ने । वडा नं. ३, ४, ६, ७, ८ को सुखौरा खोला व्यवस्थापन गर्नुपर्ने, तिनाउ र दानव नदीमा तटबन्दको काम प्रभावकारी ढंगले हुनुपर्ने । बुटवल मेडिकल कलेज निर्माणको काम अगाडि बढाउनुपर्ने । बुटवल–नारायणगढ र बुटवल–गोरुसिंगे सडकको काम तिव्र गतिमा अगाडि बढाउनु पर्ने ।
एमालेले गरेका राम्रा कामहरुको प्रचार र स्वामित्व लिने विषयमा बढी ध्यान दिनुपर्ने । भ्रष्टाचारको अन्त्य, छिटो छरितो सेवा प्रवाह र समयमै विकास निर्माणका आयोजना सम्पन्न हुने कुराको प्रत्याभूति गर्नुपर्ने । अव्यवस्थित बसोबास र भूमिहिनको समस्या समाधान गर्नुपर्ने । लक्ष्मीनगर, ज्योतिनगर पहिरोको दीर्घकालिन समस्या समाधान गर्नुपर्ने । १६ मौजा र चार तपाहमा देखिएको फोहोरमैलाको समस्या समाधान गर्नुपर्ने ।
सैनामैना चक्रपथको बाँकी काम सम्पन्न गर्नुपर्ने । मोतिपुर, सेमलारलगायत क्षेत्रको विकासलाई समेत प्राथमिकतामा राख्नुपर्ने । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी ढंगले कार्यान्वयनमा ल्याउन पर्ने । बेलबास–बेथरी सडकखण्डको काम तत्काल सम्पन्न गर्नुपर्ने, मोतिपुर औद्योगिक क्षेत्रको कामलाई अगाडि बढाउनुपर्ने । सेमलार कृषि उपज केन्द्र निर्माणको कामलाई गति दिनुपर्ने ।