मानव शरीर र प्राकृतिक चिकित्सा

मेचीकाली संवाददाता

१३ चैत्र २०८१, बिहीबार
47 shares

बबिता पौडेल

प्रकृतिमा भएका वस्तुहरू वा प्राकृतिक तत्वहरूको उपयोग गरेर विना औषधी उपचार गरिने पद्धतिलाई प्राकृति चिकित्सा भनिन्छ । यो चिकित्सा पद्धति शुद्धरूपमा प्रकृतिमा आधारित हुन्छ, जसमा विभिन्न तत्व प्रयोग गरेर उपचार गरिन्छ ।

मानव शरीर पञ्चतत्वले बनेको छ । प्रकृतिमा भएका पाँच तत्वबाट निर्माण भएको मानव शरीरको उपचार पञ्च तत्वबाट नै गरिन्छ । पञ्चतत्व अर्थात् पृथ्वी, जल, तेज वायु र आकाश रहेका छन् । यही पाँच तत्व शरीर प्रतिकूल हुँदा विभिन्न रोगहरू लाग्दछ । प्राकृतिक चिकित्सामा यही पाँच तत्वमा आधारित भएर रोगहरूको उपचार गरिन्छ । रोग प्रतिरोधात्मक क्षमताको विकास र शरीरको अनावश्यक फोहोर फाल्नु नै यसको मुख्य प्रयोजन हो । यस उपचारको कुनै पनि नकारात्मक असर छैन । वातावरण र शरीरप्रतिकूल सबैभन्दा प्राचीन उपचार पद्धतिको रूपमा यसको विकास भएको छ । शरीर भनेको रोगको घर हो । प्रतिक्षण रोगले शरीरलाई आक्रमण गरिरहेको हुन्छ । शरीरले आफै ती रोगसँग लडेर शरीरको सुरक्षा गर्दछ ।

रोगप्रतिरोधात्मक क्षमता शरीरले पञ्च तत्वबाट नै प्राप्त गर्दछ । वेदान्तको परिभाषाअनुसार स्वास्थ्यको वास्तविक आधार ‘स्वाभावोऽधिष्ठानं स्वास्थ्यम्‘ स्वाभाविक अवस्था नै स्वास्थ्यको आधार हो । मानव शरीर र प्रकृतिको अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । हाम्रो शरीर प्रकृतिको नै एक अंश हो । स्वास्थ्य भनेको केवल व्यक्तिमा मात्र सीमित हुँदैन यो पूर्णरूपमा प्रकृतिमा नै आश्रित हुन्छ । वेदहरूको दृष्टिकोणबाट हेर्दा प्रकृतिमा नै आधारित शरीर भएको हुँदा प्रकृति नै उपचारकर्ता हो भन्न सकिन्छ । शरीरले आफूलाई आफैँ ठिक पार्ने क्षमता राख्छ । रोगको मुख्य कारण असन्तुलित जीवनशैली हो । यसलाई सन्तुलन राख्नका लागि सबैभन्दा महत्व प्रकृतिको रहेको हुन्छ ।

ऋषि–मुनिहरूअनुसार प्राकृतिक चिकित्सा
ऋषि–मुनिहरूले प्राकृतिक चिकित्सालाई ‘स्वाभाविक चिकित्सा’, ‘प्रकृति चिकित्सा’, वा ‘नैसर्गिक चिकित्सा’ भनेर व्याख्या गरेका छन् । उनीहरूको दर्शनअनुसार, ‘प्रकृति नै परम चिकित्सक हो’ र मानव शरीरको स्वाभाविक अवस्था नै स्वास्थ्य हो ।

ऋषि–मुनिहरूका प्राकृतिक चिकित्सा सिद्धान्तहरू
१. पञ्चमहाभूत चिकित्सा
ऋषिहरूका अनुसार शरीर पञ्चमहाभूत (पृथ्वी, जल, अग्नि, वायु, आकाश) बाट बनेको हुन्छ । रोगहरू यिनै तत्वहरूको असन्तुलनका कारण हुन्छन् । प्राकृतिक उपचारमा यी तत्वहरूको सन्तुलन कायम गर्नुपर्छ ।
क) पृथ्वी: माटो चिकित्साद्वारा शरीरको विषाक्त पदार्थहरू हटाउने । माटो विभिन्न प्रकारका खनिज पदार्थले भरिएको हुन्छ । यसले शरीरबाट विषाक्त पदार्थ हटाउन मद्दत गर्नुका साथै छालासम्बन्धी रोगहरू पनि हटाउन मद्दत गर्छ ।

चिकित्सा विधिः
माटोको लेप
माटोको स्नान

ख) जल: जल चिकित्साशुद्धीकरण । जल तत्वमा पानीको प्रयोग गर्ने गर्दछौँ । यो तत्वले शरीरलाई सफा गर्ने, शीतलता प्रदान गर्ने तथा रक्तसञ्चार सुधार गर्न मद्दत पु¥याउँछ । यो विधिमा पानीको विभिन्न तापक्रम प्रयोग गरिन्छ । जस्तै ः तातो, चिसो र मनतातो आदि ।

चिकित्सा विधि:
हाइड्रोथेरापी
हिप बाथ
स्पाइनल बाथ
हातखुट्टा डुबाउने
पूर्ण स्नान
वाष्प स्नान

ग) अग्नि: सूर्यस्नानद्वारा रोग निवारण: अग्नि तत्वमा सूर्यको किरणको प्रयोग गरिन्छ । सूर्यको किरणबाट ऊर्जा प्राप्त हुन्छ, यसले शरीरलाई ऊर्जावान् बनाउँछ । सूर्यको किरणले भिटामिन डी दिने र रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्दछ ।

चिकित्सा विधि:
सन बाथ

घ) वायु: ताजा हावामा रहने, गहिरो श्वास–प्रश्वासमा आधारित उपचार पद्धति । शुद्ध वायु स्वस्थ जीवनका लागि अति आवश्यक छ । सफा हावाले स्वस्थ राम्रो बनाउने तथा फोक्सो सफा गर्ने र श्वासमा नियन्त्रण गर्न सजिलो बनाउँछ ।

चिकित्सा विधि:
प्राणायाम
खुला हावामा स्नान
वनस्पति नजिक बस्ने

ङ) आकाश: उपवास गरेर शरीरलाई प्राकृतिक रूपमा शुद्ध पार्ने । आकाश तत्व शरीरको आन्तरिक शुद्धीकरणका लागि महत्वपूर्ण हुन्छ । यो तत्वले शुद्धीकरण र मानसिक शान्तिका साथै शरीरलाई आफैँ निको बनाउन र आराम दिन मद्दत गर्दछ ।

चिकित्सा विधि:
उपवास
ध्यान

२. उपवास र शरीर शुद्धि
ऋषिहरू उपवास (व्रत) गरेर शरीर शुद्ध गर्थे । उपवास गर्दा शरीर स्वयं शुद्ध हुने प्राकृतिक शक्ति जागृत हुन्छ । आधुनिक न्याचुरोपेथीमा यसलाई ‘फास्टिङ थेरापी’ भनिन्छ ।

३. सात्विक भोजन
शुद्ध, सात्विक र प्राकृतिक भोजनले शरीरलाई स्वस्थ राख्छ । ऋषिहरूको भोजनमा फलफूल, नट्स, हरियो सागसब्जी, दूध, मह, र जडीबुटी प्रमुख हुन्थे । प्रकृतिसँग सन्तुलित आहार ग्रहण गर्दा शरीरलाई रोग लाग्दैन ।

४. योग, प्राणायाम र ध्यान
ऋषिहरूले योगलाई स्वस्थ जीवनको आधार मान्थे । प्राणायामले शरीरलाई शुद्ध गर्छ । ध्यानले मानसिक शान्ति र आत्मशुद्धि ल्याउँछ ।

५. प्राकृतिक औषधी
महर्षि चरक – आयुर्वेदिक औषधीहरूको विकास ।
महर्षि सुश्रुत – शरीर शुद्ध गर्ने पद्धति प्रतिपादन ।
ऋषि वाग्भट – प्राकृतिक जीवनशैली र जडीबुटी चिकित्सा ।

६. सरल जीवनशैली
ऋषिहरू जङ्गल, पर्वत र आश्रमहरूमा बस्थे । प्रकृतिसँग नजिक रहेर जीवन जिउँदा शरीर स्वस्थ र मन शुद्ध रहन्छ । पञ्चतत्वको प्रयोगले प्राकृतिक पद्धतिबाट शरीर स्वास्थ्य राख्न सकिन्छ । प्राकृतिक चिकित्साले आधुनिक औषधिको प्रयोगबिना नै उपचार गरी जीवनभर स्वस्थ रहन मद्दत गर्दछ । यो एउटा यस्तो पद्धति हो जसले कुनै नकारात्मक असर गर्दैन र दीर्घकालीन स्वास्थ्य लाभ प्रदान गर्दछ ।