

बुटवल । बश्याल वंश समाज नेपालको २९ औँ साधारणसभा तथा स्थापना दिवस शनिबार सम्पन्न भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१६ पर्सहवास्थित केन्द्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गरी साधारणसभा तथा स्थापना दिवस मनाइएको हो ।
साधारण सभाको गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बश्यालले उद्घाटन गरे । सोही अवसरमा बोल्दै उनले बश्याल बन्धुहरू देशका जुनसुकै ठाउँमा रहेपनि संगठित भएर अघि बढ्नुपर्ने बताए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका मन्त्री बश्यालले बन्धुहरूबिच आपसी भाइचारा अभिवृद्धि गर्दै राष्ट्रिय हितका साथै सबैको कल्याण, उन्नति र प्रगतिमा समाजले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए । समाजको केन्द्रीय कार्यालय भवन निर्माण सम्पन्न गर्न आबश्यक समन्वय गर्ने उनले बताए । समाजको गठनले समग्र बश्यालहरुको पुस्ताको जानकारीसँगै एक आपसमा सुख, दुख साटासाट गर्नुका साथै सहयोगी भावनाको विकास गर्ने हुँदा सबैको सहकार्य आवश्यक रहेकोमा उनले जोड दिए ।

यस्तै, समाजका केन्द्रिय अध्यक्ष रामप्रसाद बश्यालले वार्षिक कार्यक्रमसहित प्रतिवेदन प्रस्तुत गर्दै आगामी योजनाहरुबारे जानकारी गराए । देशका विभिन्न भागमा छरिएर रहेका बश्याल बन्धुहरुलाई एउटै छानामुनि समेटेर भाइचाराको सम्बन्धलाई अझै प्रगाढ बनाउने उद्देश्य अनुरुप समाज गठन भएको अध्यक्ष बस्यालले बताए । विभिन्न सामाजिक कार्यसँगै बन्धुहरुलाई एकताबद्ध गर्ने कार्यमा समाज निरन्तर रुपमा लागेको उनको भनाइ थियो । सााथै अध्यक्ष बश्यालले तिलोत्तमामा निर्माणधिन अवस्थामा रहेको समाजको केन्द्रीय कार्यालय भवन आगामी एक वर्ष भित्रै सम्पन्न गर्नका लागि एकजुट हुन आग्रह गरे ।
कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव हरिप्रसाद बश्याल, शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद बश्याल, बर्दघाट नगरपालिकाका पूर्व नगरप्रमुख धिरज बश्याल, सल्लाहकार कौषलराज बस्याल, रुपन्देही क्षेत्रीय समितिका अध्यक्ष बालकृष्ण बस्याल, पर्वत क्षेत्रीय समितिका अध्यक्ष नुमाखर बस्याल, कपिलबस्तु क्षेत्रीय समितिका सदस्य अर्जुन बस्याल, काठमाडौं क्षेत्रीय समितिका अध्यक्ष मिनप्रसाद बश्याल, पोखरा क्षेत्रीय समितिका उपाध्यक्ष देविप्रसाद बश्याल, प्राध्यापक प्रेम बश्याललगायतले बोल्दै समाजलाई अझै सक्रिय रुपमा अघि बढाउनुपर्नेमा जोड दिए ।
यस्तै कार्यक्रममा समाजका कोषाध्यक्ष होमकान्त बश्याल (शंकर) ले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने महासचिवको प्रतिवेदन सचिव जीवलाल बश्यालले प्रस्तुत गरेका थिए । कार्यक्रममा समाजका विभिन्न क्षेत्रीय संयोजक तथा प्रतिनिधिसँगै विभिन्न जिल्लाका सदस्यहरुको सहभागिता रहेको थियो ।
साधारण सभाका अवसरमा रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको थियो । रक्तदान कार्यक्रममा २८ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक कृष्णप्रसाद बश्यालले जानकारी दिए । समाजले तिलोत्तमा–१६ पर्सहवामा २ कठ्ठा क्षेत्रफलमा सुविधासम्पन्न दुईतले केन्द्रिय कार्यालय भवन बनाउने योजनाअनुसार भवन निर्माणको काम भइरहेको छ । उक्त भवनको पहिलो तलामा ३ सय जना अट्ने सभाहल र माथिल्लो तलामा केन्द्रिय कार्यालय, क्षेत्रिय कार्यालय, बैठक हल, पूजारी कोठालगायत बन्ने छन् । २०८० असारमा शिलान्यास भएको भवनको पहिलो तलाको ढलाइ सम्पन्न भइसकेको छ । भवन निर्माणका लागि दुई करोड ५० लाख लागत अनुमान गरिएको समाजका कोषाध्यक्ष होमकान्त बश्यालले बताए । भवन निर्माण कार्य अघि बढिरहँदा आवश्यक रकम अभाव भएकाले दाताहरुलाई सहयोग गर्न उनले आग्रह गरे ।
यस्तै, सोही अवसरमा समाजले प्रकाशन गरेको नयाँ वर्ष २०८२ सालको भित्तेपात्रो विमोचन गरिएको थियो । समाजका उपाध्यक्ष होमराज बश्यालको स्वागत तथा सचिव जीवलाल बश्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।