बसन्ता बनिन् प्रथम बुटवल लोकतारा

मेचीकाली संवाददाता

१६ चैत्र २०८१, आईतवार
273 shares

बुटवल । प्रथम बुटवल लोक ताराको उपाधि बसन्ता खनालले जितेकी छन् । प्रतियोगितामा प्रेम बिश्वकर्माले द्वितीय स्थान, भुवन अधिकारीले तृतीय स्थान साथै अर्जुन पाण्डे र सुनिता विसीले सान्त्वना स्थान हासिल गरेका छन् । विजेता बनेसँगै प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले प्रमाणपत्र सँगै क्रमशः नगद रु २० हजार, १५ हजार, १० हजार र ५/५ हजार प्राप्त गरेका छन् ।

लोक कला संस्कृतिको संरक्षण तथा नव प्रतिभाको खोजि गर्ने उद्देश्यले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिकाको प्रवद्र्धनमा यही चैत १५ र १६ गते बुटवलमा प्रतियोगिता सम्पन्न भएको हो ।

कार्यक्रममा बुटवल उपहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले लोक कला संस्कृतिको संरक्षणका लागि सबैजना एकजुट हुनुपर्ने बताए । नयाँ पुस्तामा कला, संस्कृती र आफ्नोपनको ज्ञान हुनुपर्ने उनले बताए । यसका लागी उपमहानगरले बिभिन्न खालका रचनात्मक कामहरू गर्दै आएको र भविष्यमा पनि यस्ता खालका कार्यक्रमलाई नगरले निरन्तरता दिने बताए ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रुपन्देहीका अध्यक्ष विजय सोपकोटाले यो प्रतियोगितामा अवसर नपाएका भाईबहिनीहरुले आफ्नो प्रतिभा देखाएर पुरस्कार जित्न सफल भएको बताए । साथै उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिवद्धता जनाए ।

यस्तै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व केन्द्रिय अध्यक्ष चन्द्र शर्मा, बुटवल उपमहानगरपालिकाका उपनिर्देशक दामोदर ज्ञवाली, प्रतिष्ठानका केन्द्रिय सदस्य डील्ली नारायण पाण्डे, सीता राना, प्रचण्ड जिसी, पुरुषोत्तम भण्डारी, कार्यक्रम संयोजक रेशम खनाल लगायतले आआ्नो भनाई राखेका थिए ।

प्रतियोगिताको निर्णायकमा चन्द्र शर्मा, प्रचण्ड जिसी, शुरेश सेन्चुरी र डिल्ली नारायण पाण्डे रहेका थिए । प्रथम उपाध्यक्ष ऋतु थापाको स्वागत तथा सचिव विधान कार्कीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।