

बुटवल । रुपन्देही क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद दीपक बोहराको निधन भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको ७४ वर्षको उमेरमा उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा मंगलबार बिहान निधन भएको पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
पोस्ट कोभिड समस्याले गर्दा उनी अहिले बोल्न नसक्ने अवस्थामा थिए । उनी कोरोना महामारीको दोस्रो लहर (जेठ २०७७) मा संक्रमित भएका थिए । कोरोना भाइरसबाट संक्रमित भएपछि बोहराको स्वास्थ्यमा समस्या देखिएको थियो । संक्रमणको केही समयपछि उनलाई पोस्ट–कोभिड लक्षणहरू लेखिएको थियो । थप उपचारका लागि दिल्ली पुगेका बोहरालाई चिकित्सकहरूले पोष्ट कोभिडका कारणले घाँटीमा समस्या भएको बताएका थिए । समस्या थपिएपछि उनी केही समयपछि अमेरिकाको न्यूयोर्क पुगेका थिए । स्वरनलीमा समस्या देखिएपछि त्यसयता बोहरा स्पिच थेरापी लिँदै आएको पारिवारिक स्रोतले जनाएको छ । पछिल्लो समय भने उनी घरमै स्वास्थ्य लाभ लिँदै आएका थिए ।
स्वरमा परिवर्तन र समस्या देखिएकाले उनी चुनावी प्रचार–प्रसारकै क्रममा समेत बोल्न नसक्ने अवस्थामा थिए । २०७९ मंसिरमा भएको निर्वाचनमा नबोलेरै उनी निर्वाचित भएका थिए । उनले नेपाली कांग्रेसका उम्मेदवार तथा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित गरेका थिए । संसदमा पनि उनले बोलेनन् । उनले आफ्ना कुरा राप्रपाकै अन्य सांसदमार्फत सुनाउने गरेका थिए ।
बोहोरा नेपालको राजनीतिमा झन्डै ४ दशकदेखि राप्रपामा क्रियाशील रहँदै आएका थिए । २०३६ सालमा रुपन्देहीबाट राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित उनी २०४२ सालको राष्ट्रिय पञ्चायत सदस्यमा समेत विजयी भएका थिए । बोहरा २०६४ सालको संविधानसभा चुनावमा पराजित भए पनि २०७० सालमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । प्रतिनिधि सभा निर्वाचन, २०७४ मा नेकपा एमालेका घनश्याम भुसालसँग पराजित भएका थिए ।
२०३८ मा पर्यटन सहायकमन्त्री, २०३८ मै पर्यटन राज्यमन्त्रीमा बढुवा भएका उनी २०४० मा पुनः पर्यटन राज्यमन्त्री भए । २०४३ मा निर्माण तथा यातायात राज्यमन्त्री भएका उनी २०४४ मा मन्त्रीमा बढुवा भए । मुलुक गणतन्त्रमा प्रवेश गरेपछि पनि उनी तीनपटक मन्त्री भए । २०६७ सालमा वन तथा भूसंरक्षण मन्त्री भएका उनी २०७२ मा श्रम तथा रोजगार मन्त्री, २०७३ मा आपूर्तिमन्त्री र २०७४ मा स्वास्थ्यमन्त्री भएका थिए । गत फागुनमा मात्र राप्रपा नेता बोहराकी एक मात्र छोरी ४४ वर्षीया जेनी चाँदनी बोहरा ‘ग्यारेट’को निधन भएको थियो ।