रामनवमीः परम्परा र पात्रहरुको विश्लेषण

मेचीकाली संवाददाता

२३ चैत्र २०८१, आईतवार
162 shares

कमल पन्थी

आज भगवान् रामको जन्म भएको दिन रामनवमी ! रामनवमी शब्दले सम्पूर्ण रामचरित्रलाई संस्मरण गराँउछ । असत्यमाथि सत्यको विजयलाई दर्शाउँछ । रामको चरित्र कर्तव्य र निष्ठाको अनुपम उदाहरणका रुपमा रहेको छ । भगवान् विष्णुले मर्यादा पुरुषोत्तम रामको रुपमा अवतार लिएको आजको दिनमा श्रीरामको आराधना गर्ने व्यक्तिले पुण्य प्राप्त गर्नुका साथै श्रीरामको पवित्र चरित्रको श्रवण कीर्तन आदि गरेर आफ्नो जीवनसरणिलाई पनि रामपथ वनाउन सकिने धार्मिक विश्वास रहेको छ । हामी सनातन धर्मावलम्वीहरुले ईश्वर, देवता र भगवान्प्रति अत्यन्तै भक्तिभाव दर्शाउछाँै तर, बुझाइमा भने एकरुपता पाइँदैन । यी तीन शब्दहरुलाई शास्त्रहरुमा यसरी उल्लेख गरेको पाइन्छ ।

ईश्वरः निराकार, सम्पूर्ण विश्वव्रम्हाण्ड वा सृष्टिलाई बनाउने, बिगार्ने तिनको नियन्त्रण तथा शासन गर्ने मानिएका परम पुरुष वा परमात्माका रुपमा पूजिने सर्वप्रधान परमेश्वरलाई ईश्वर भनिएको छ ।
देवताः सामान्यतया दिनेवाला देवता हुन् । जस्तो सूर्य भगवान्ले प्रकाश, वायु भगवान्ले हावा, इन्द्र भगवान्ले जल, मातापीताले जन्म, गुरुले ज्ञान दिन्छन् । देवता भगवान्को अधिनमा हुन्छन् ।
भगवान्ः बल हुनेलाई बलवान्, धन हुनेलाई धनवान् भनिएझै भग हुनेलाई भगवान् भनिन्छ । संस्कृत शब्द भगको अर्थ हुन्छ । ऐश्वर्य, यश, विराग, धर्म, शौभाग्य र ज्ञान।यी छ वटा तत्वले पूर्ण भएको अलौकिक पुरुषलाई भगवान् भनिएको छ । विशेष प्रयोजनका लागि पृथ्वीमा जन्म लिने राम, कृष्ण र गौतम वुद्ध भगवान् हुन् ।
अवतार र अशांवतारः भगवान्ले विभिन्न रुप धारण गरी प्रकट हुनुलाई अवतार भनेर बुझिन्छ । उदय हुनु, उत्रनु र आरम्भ हुनुलाई पनि अवतार भनिन्छ । यहाँ स्वर्गवासी देवताले पृथ्वीमा अवतरण गर्नुलाई अवतार भनिएको छ । पृथ्वीमा देवताहरुको अंशलाई लिएर जन्म लिनु वा प्रकट हुनुलाई अंशावतार भनिन्छ । सबै मानिसहरु भगवान्को अंशलाई लिएर पृथ्वीमा जन्मिएका मानिन्छ ।
भगवान्का हजारौँ अवतारमध्ये श्रीमद्भावतमा चौबीस अवतार र त्यसमध्ये मत्स्यावतार, कुर्मावतार, वाराहावतार, नृसिंहावतार, वामनावतार, परशुरामावतार, रामावतार, कृष्णावतार, बुद्धावतार र कल्किअवतार गरी जम्मा दस अवतारलाई मुख्य मानिएको छ । रामावतार चैत्रशुक्ल नवमी तिथि भगवान् रामको जन्मदिन हो । भगवान् विष्णुको सातौ अवतार रामलाई मानिएको छ । यस आलेखमा मातृत्व, पितृत्व, बन्धुत्व, भातृत्व र मित्रत्वको आधारमा रहेर तत्कालीन पात्र र प्रवृत्तिलाई वर्तमान सन्दर्भसँग जोड्दै व्याख्या र विश्लेषण गरिन्छ ।

रामायण महाकाव्य
रामको जीवनमा आधारित रामको चरित्र तथा कृति वर्णन गरिएको रामकथाको प्राचिन हिन्दू धर्म ग्रन्थ रामायण हो । यो मानव जीवनको व्यवहारिक मार्गप्रदर्शक व्याख्यान हो । नीतिशाश्त्र, अर्थशास्त्र र अध्यात्मशास्त्रको साथै सदाचारको मार्ग प्रदर्शन गर्ने धर्मशास्त्र पनि हो । महर्षि वाल्मिकीले संस्कृतमा, सन्त तुलसीदासले हिन्दीमा र आदिकवि भानुभक्त आचार्यले नेपालीमा लेखेर जनजनका मनमा रामायण जस्तो पवित्र काव्यग्रन्थ वस्न सफल भएको छ ।

मर्यादापुरुष श्रीराम र राम राज्यः
श्रीराम अयोध्याका राजा दशरथका तीनवटी रानीमध्ये जेठी रानी कौशल्याबाट जन्मिएका सर्वगुण सम्मन्न, एक आदर्श पुत्र र पती मात्र नभएर आदर्श राजा हुन् । रामको विवाह मिथिला प्रदेशका राजा जनककी पुत्री सीतासित भएको र रामसीताको जोडीलाई आदर्श दम्पतीका रुपमा मानिएको छ । राज्यसञ्चालनको प्रचलित विधि, परम्परा मान्यता र अभ्यास अनुसार राजकाज सञ्चालन गर्ने युवराज पदवी प्राप्त हुने अवस्थामा पिताको आज्ञालाई शिरोधार्य गर्दै निर्वाशित जीवन सहजताका साथ स्वीकार गर्छन् । मान, प्रतिष्ठा र राजकाज सञ्चालनको इच्छा चाहना त राममा पनि पक्कै हुँदो हो तर वावुप्रतिको आदरभाव, आज्ञापालनले यी सवै विषय गौण बनाइदियो । संयमित, मर्यादित र अनुशासित जीवन जीउन चाहनेको लागि राम एक अनुपम आदर्श पुरुष रहेका छन् ।

देशका सबै जनतालाई सुखशान्ति परिपूर्ण हुने रामको जस्तो शासनव्यवस्था भएको आदर्श राज्य लाई रामराज्य भनिन्छ । यो महाकाव्य रामायणमा वर्णित एक आदर्श राज्यको अवधारणा हो । राजा रामको शासनकाललाई आदर्श मानिन्छ । रामराज्यमा न्याय, सुशासन र सुव्यवस्था सुदृण थियो । सबै सुखी र खुसी थिए । एकआपसमा कुनै इष्र्या र द्वैषभाव थिएन । चारैतिर प्रेम, सदाचार र सहिष्णुता थियो । यसरी रामको समयको राज्य अर्थात् रामराज्य धार्मिक मात्र होइन न्यायका लागि अति उत्तम भएकाले अहिले पनि राजनीति वृत्तमा रामराज्यको खोक्रो परिकल्पना गर्ने गरेको सुनिन्छ ।

सीताः मिथिला राज्य राजा जनककले हलो जोत्दा भेटिएकीले यिनको नाम सीता राखिएको हो । संस्कृतमा सीता भनेको हलो हो । जोत्दा जमिनमा परेको डोव अर्थात् हलोको सियोबाट भेटिएकाले यिनको नाम सीता राखिएको छ । पतिव्रता र धर्मपालन गर्ने नारीको रुपमा व्याख्या गरिएको छ ।

रावणः हाहाकार गराउने, अत्याचारी, दुष्ट र मिचाहा प्रवृत्तिको मानविय स्वभावलाई रावण भनेर बुझिन्छ । तर यहाँ लङ्काको राजा तथा रामायणको प्रसिद्ध प्रतिनायकको रुपमा चित्रण गरिँदैछ । उनमा दस वटा मानिस बराबरको बल र बृद्धि रहेकाले प्रतिकात्मकरुपमा दसवटा टाउँका थिए भनिन्छ । रावणको चरित्र जटिल र रहस्यमय देखिन्छ । यहाँ उनका गुण र दोषका आधारमा चित्रण गरिन्छ ।

गुणहरुः वाल्मिकी रामायणका अनुसार रावण सृष्टिकर्ता व्रम्हाका पनाती, पुलत्स्य ऋषिका नाति, विस्रवा ऋषिका पुत्र भनिएको छ । रावण शिवजीका परम भक्त थिए भने विष्णुका कट्टर विरोधि थिए । शिवको कठोर तपस्यावाट शक्ति प्राप्त गर्नु, चार वेद र छ शास्त्र गरी दस विषय वेद वेदांगका विद्वान हुनु उनका मुख्य गुणहरु देखिन्छन् ।

अवगुणहरुः रावणको सौतेनी आमा वरवर्णिनीवाट कुवेरको जन्म हुन्छ भने सौताको रिसमा कैकसीले अशुभ समयमा गर्भधारण गरेकाले राक्षसी र क्रुर स्वाभावका रावण र कुम्भकर्णको जन्म हुन्छ । शिववाट प्राप्त शक्ति र वलको अत्यन्तै घमण्ड हुन्छ । तीनै लोक विजय प्राप्त गर्ने महत्वकान्छा हुन्छ । धर्मको मार्ग छाडेर अधर्मको मार्गमा लाग्छ । अभिमान, अहंकारी र सीताको अपहरण नै मृत्युको कारण बन्छ ।

लक्ष्मण र लक्ष्मणरेखाः भातृत्वप्रेमका अनुपम उदाहरण लक्ष्मण राजा दशरथकी कान्छी रानी सुमित्राका जेठा सुपुत्र हुन् । यिनी दाजु रामलाई निकै आदर र सम्मान गर्छन् । लक्ष्मण रामसँगै वनवास जान्छन् । वनवासको क्रममा एक दिन रामलाई सहयोग गर्न सीतालाई एक्लै छाड्नुपर्दा सुरक्षार्थ आश्रमको अगाडि एउटा रेखा कोर्दै यसभन्दा बाहिर नजान अनुरोध गर्छन् । यही रेखालाई नै लक्ष्मण रेखा भनिएको छ । यो लक्ष्मणले सीतालाई सुरक्षित राख्न कोरेको रेखा मर्यादापालनको कठोर सीमा पनि हो तर सीताले यो रेखा नाघेपछि रावणको अपहरणमा पर्छिन् । यो घटनावाट राम र रावणको युद्धको शुरुवात हुन्छ । रावणका पतनका दिन शुरु हुन्छन् । वर्तमान सन्दर्भमा लक्ष्मण रेखालाई प्रतिकात्मक रेखाको रुपमा लिइन्छ ।

भरत र राजनीतिः भरत राजा हुने प्रकृया अप्राकृतिक एवं वंश परम्पराअनुसार थिएन । जेठो छोरा राज्य प्रमुखको उत्तराधिकारी हुने परम्परा हो।यसमा भरतलाई आरोपित गर्ने कुनै कारण छैन । त्यत्तिखेरको पारिवारिक घटनाक्रम र माता कैकेयीको हठ मुख्य कारण थियो । राजा भइसकेपछि शक्तिको अभ्यास गर्ने लालसा सबैमा हुन्छ तर भरतलाई त्यस्तो कहिल्यै भएन ।

गलत सल्लाहकार मन्थरा: कैकेयीकी मन परेकी सेविका मन्थरा हुन् । रामलाई सौतेनी आमा केकेयीले निकै माया गर्थिन् तर जब मन्थरा राम र कैकेयीको बिचमा प्रवेश गर्छिन् । त्यसपछि कैकेयीको रामप्रतिको सवै मायाप्रेम हरायो । मन्थराको सल्लाहमा तत्कालीन समयको परम्परालाई लत्याएर अन्यायपूर्ण किसिमले आफ्नो छोरा भरतलाई राजगद्धी दिलाउन सफल त भइन तर स्वयं भरत यसका विरुद्धमा देखिए भने नागरिकको नजरमा समेत गिर्न पुगिन् ।

विभीषणः रावणका कान्छो भाइ भएतापनि यिनी सदैव रामको पक्षमा रहन्छन् । रामललगायत रावणका सबै गोप्य पोल खोलिदिन्छन् । यिनैको पूर्ण सहयोगमा रामले रावणलाई हराउन सफल भएका हुन् ।

हनुमान र निष्ठाको भक्तिभावः अष्ठ चिरञ्जिवीमध्येका स्वरुपमा वानराकृतिभए पनि वल, ज्ञान साहस र गुणका खानी हनुमान रामका परम भक्त थिए । लङ्काधिपती रावणले सीतालाई हरण गरेर लङ्का लिएर गएदेखि रावण विजय गरी सीतालाई सकुशल अयोध्या फर्काउनमा यिनको विशेष सहयोग रह्यो । भगवान् रामप्रतिको समर्पण, कत्र्यव्यपरायण, भक्तिभावनै हनुमानका मुख्य आदर्श रहेका छन् ।

क्षमायाचनाको संस्कारः सौतेली आमा कैकेयीले रामचन्द्रलाई चौध वर्ष वनवास पठाइन् र उनी दोषी थिइन् तर रामले दोष दिए समयलाई, सीताले आफ्नो पूर्वकर्मलाई, लक्ष्मणले पनि कर्मलाई, माता सुमित्राले विधाताको विधानलाई, अनि भरतले आफ्नो भाग्यलाई, दशरथले काललाई र गुरु वसिष्ठले भावीको लेखनलाई दोषी मानेर कैकेयीलाई क्षमा गरे ।

सन १९८७ मा निर्मित निकै लोकप्रिय हिन्दी चलचित्र रामायणमा रामको भुमिकामा अरुण गोविलले अभिनय गरेका छन । उनी एकदिन दक्षिण भारतमा सुटिङको क्रममा चुरोट तान्दा केही मान्छेहरुले देखेर हामीले देवता मान्ने मान्छेको यो चाला भनेर गाली गरेछन् । यसवाट उनी निकै लज्जित भई त्यो दिनदेखि चुरोट सदाका लागि छाडेको कुरा समाचारमा आएको थियो । समाजले तीन घण्टाको चलचित्रमा रामको अभिनय गरेका पात्र प्रति हेर्ने दृष्टिकोणले पनि रामप्रतिको मानिसको अगाध श्रद्धा सहजै बुझ्न सकिन्छ ।

अति सर्वत्र वर्जयते अर्थात् अति सबैतिर वर्जित हुन्छ । सकुनी प्रकृतिका सल्लाहकारदेखि सधै सतर्क रहन सक्नुपर्छ । बाबुको आज्ञा र आशयलाई शिरोधार्य गरेर जीवनपथमा अगाढि बढ्न, आमाको सदभावलाई सम्मान गर्न, भाइभाइमा द्वेष र दुर्भावना होइन, प्र्रेम र सदभाव राख्न, दिदीबहिनी र भाइभाइको पत्नी एक आपसमा सदव्यवहारले सवैलाई सन्तुष्टी दिलाउन सक्ने हुनुपर्छ भन्ने सन्देश दिएको छ ।