जानकी साहित्य पुरस्कार डा.टंक पन्थलाई

मेचीकाली संवाददाता

२३ चैत्र २०८१, आईतवार
16 shares

टोपलाल अर्याल

गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिका–४ दिगामका चर्चित कवि तथा समालोचक डाक्टर टंक पन्थलाई जानकी साहित्य पुरस्कार प्रदान गरिने भएको छ ।

यो पुरस्कार किरण पुस्तकालय तम्घास, गुल्मीले प्रत्येक बर्ष प्रदान गर्दै आएको छ । जानकी साहित्य पुरस्कार छनोट समितिको निर्णय अनुसार नेपाली कविता तथा समालोचनाको बिद्यामा पुराएको योगदानको कदर गर्दै पन्थलाई पुरस्कार दिने निर्णय भएको किरण पुस्तकालयका उपाध्यक्ष दीन पन्थीले जानकारी दिए ।

यो पुरस्कार साहित्यमा रुची राख्ने स्वर्गीय जानकी ज्ञवाली गौतमको सम्झनामा २०७३ सालमा स्थापना गरिएको थियो । गुल्मीमा जन्मेर साहित्य सिर्जना गर्ने वा गुल्मीलाई केन्द्रमा राखेर साहित्य सिर्जना गर्ने साहित्यकारहरु मध्येबाट छनोट गरेर एक जनालाई मोती जयन्तीका दिन पुरस्कार प्रदान गर्ने गरिएको पुस्तकालयका उपाध्यक्ष पन्थीले बताए ।

उक्त पुरस्कार २०७५ सालमा सूर्यबहादुर सेन वली, २०७६ सालमा भागीरथी श्रेष्ठ, २०७७ सालमा रामप्रसाद पन्त, २०७८ सालमा नारद गौतम, २०७९ सालमा रुद्र ज्ञवाली, २०८० सालमा हरिप्रसाद भण्डारी र २०८१ सालमा ठाकुरप्रसाद भण्डारीलाई प्रदान गरिएको किरण पुस्तकालयले जनाएको छ ।