गुल्मी महोत्सव एक साता पछि सर्‍यो

मेचीकाली संवाददाता

२५ चैत्र २०८१, मंगलवार
35 shares

टोपलाल अर्याल

गुल्मी । गुल्मी चेम्बर अफ कमर्शले आयोजना गरेको दोस्रो गुल्मी महोत्सव तथा कृषि पर्यटन, व्यापार एवं औद्योगिक मेला एक साता पछि धकेलिएको छ ।

यसअघि चैत २९ गतेदेखि वैशाख १२ गतेसम्म महोत्सव सञ्चालन हुने निर्णय भएको थियो । तर, प्राविधिक कारणले वैशाख ५ गतेदेखि १७ गतेसम्म सञ्चालन गर्न थालिएको गुल्मी चेम्बर अफ कमर्श गुल्मीका अध्यक्ष दुर्गाप्रसाद पाण्डेयले बताए । उनले रेसुंगा नगरपालिका, फेन्सी व्यावसायी र मेला व्यावसायीसँग समन्वयपछि वैशाख ५ गतेबाट महोत्सव आयोजना गरिएको बताए ।

‘गुल्मी जिल्लाको समृद्धिको आधार, कृषि पर्यटन उद्योग र व्यापार’ भन्ने महोत्सवको उदेश्य रहेको छ । महोत्सबमा डेढ लाख दर्शकले अवलोकन गर्ने र ३० करोडको आर्थिक कारोबार गर्ने अपेक्षा आयोजकले गरेको छ । आर्थिक गतिविधी कम भइरहेका बेला बजार चलायमान बनाउने नै आफूहरुको उद्देश्य रहेको गुल्मी चेम्बर अफ कमर्शका बरिष्ठ उपाध्यक्ष वीरेन्द्र भुसालले बताए ।

दुई साता संचालन हुने महोत्सवमा स्थानीय कृषि तथा घरेलु उत्पादन, लोक कला संस्कृतिको प्रदर्शनी तथा पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसारनै महोत्सवको प्रमुख उद्देश्य रहेको गुल्मी चेम्बर अफ महासचिव यज्ञप्रसाद पन्थीले जानकारी दिए ।

महोत्सवका कृषि तथा घरेलु उत्पादनको लागि निशुल्क स्टलको व्यावस्थापन गरिएको छ । तम्घासमा महोत्सव गर्न स्थान अभाव भइरहेको छ । बिगतमा केही महोत्सव चिदिचौर र महेन्द्र माविको खेल मैदानमा हुने गरेका थिए । तर, गत वर्षबाट विद्यालय र चिदिचौरमा महोत्सव गर्न नदिने निर्णय भएको छ । उद्योग संघले गत बर्ष उपल्लो तम्घासमा महोत्सव गरेको थियो । अहिले गुल्मी चेम्बर अफ कमर्शले तम्घास कारागार नजिकै नुनथला भन्ने स्थानमा महोत्सव गर्दैछ ।

स्थानीय छ जनाको १० रोपनी जग्गा लिएरु महोत्सव गर्न थालिएको गुल्मी चेम्बर अफ कमर्शका सचिव सूर्य घिमिरेले बताए । महोत्सवलाई प्रभावकारी बनाउन १७ उपसमिति गठन गरिएको छ । सचिवालय, आर्थिक, सांस्कृतिक, स्टल, घरेलु हस्तकलालगायतका कामको संयोजन उपसमितिमार्फत हुने महोत्सव प्रचारप्रसार समिति संयोजक प्रेम घिमिरेले जानकारी दिए ।

स्थानीय फेन्सी व्यावसायीले महोत्सवले आफूहरुको व्यावसायमा महोत्सवले प्रभाव पार्ने भन्दै विरोध गर्दै आएका थिए । उनीहरुलाई पाँच स्टल निशुल्क र २० स्टल ८० प्रतिशत छुटमा सञ्चालन गर्न दिने सहमति भएको महोत्सवको आर्थिक व्यवस्थापन उपसमिति संयोजक युवराज पाण्डेयले जानकारी दिए ।

त्यस्तै रेसुंगा नगरपालिकालाई पनि १० लाख दिने सहमति भएको छ । महोत्सवबाट हुने नाफाबाट नगरभित्र आफूहरुको पहिचान हुने गरेर सामाजिक काम गर्ने निर्णय समेत भएको आर्थिक उपसमिति संयोजक पाण्डेयले बताए ।