

बुटवल । बुटवल–११ देवीनगरस्थित साइनो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो स्थापना दिवसमा दृष्टिबिहीनहरूलाई खाद्यान्न सहयोग गरेको छ ।
संस्थाले १५औं स्थापना दिवसको अवसर पारेर बुटवल–१३ जीतगढीस्थित रुपन्देही दृष्टिबिहीन एकता समाज केन्द्रलाई बिहीबार खाद्यान्न वितरण तथा नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान गरेको हो । संस्थाका तर्फबाट सहकारीका अध्यक्ष भोजबहादुर केसी र पथ प्रदर्शक सहकारी संस्थाका अध्यक्ष लिलाबहादुर केसीले दश हजार रुपैयाँ बराबरको खाद्यान्न एकता समाज केन्द्रलाई हस्तान्तरण गरे । सो अवसरमा बोल्दै पथ प्रदर्शक सहकारी संस्थाका अध्यक्ष लिला बहादुर केसीले सहकारीले सामाजिक क्षेत्रमा काम गर्दै जानुपर्ने बताए ।
साइनो बचत तथा ऋण सहकारीका अध्यक्ष भोजबहादुर केसी आफूहरुले समय समय संघ संस्थालाई सहयोग गर्दै आइरहेको बताए । आश्रमका प्रदीप चौधरीले आफूले मनकारी संस्था व्यक्तिको सहयोग निरन्तर आवश्यक रहेको बताए । कार्यक्रम संयोजक अर्जुन कुँवरले आर्थिक अभाव रहेका संघ र संस्थालाई आफूले निन्तरण खाद्यान्न सहयोग प्रदान गर्दै आइरहेको बताए ।
संयोजक कुँवरले आगामी दिनमा पनि सहयोगका हातहरु सहकारीले फैलाउदै जाने प्रतिबद्धता पनि व्यक्त गरे । कार्यक्रममा सहकारीका सल्लाहकार विक्रम खड्का लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन अशोक कुँवरले गरेका थिए । २०६८ मा स्थापना भएको सहकारीमा ६०० भन्दा बढी शेयर सदस्य रहेका छन् ।