

बुटवल । देशको वर्तमान अवस्था जानकारी गराउने उद्देश्यसहित नेकपा एमालेले शुक्रबार बुटवलमा लुम्बिनी प्रदेशस्तरीय जागरण सभा गर्ने भएको छ । एमालेले चैत २४ देखि ३० गतेसम्म गणतन्त्रको पक्षमा देशका विभिन्न ७ सहरमा गर्ने सभाअन्तर्गत बुटवलमा पनि सभा गर्न लागेको हो । रामनगरस्थित बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बिआइसीसी) मा हुने सभालाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले संवोधन गर्ने कार्यक्रम रहेको छ ।
नेकपा एमाले प्रचार विभाग रूपन्देहीले बिहीबार पत्रकार सम्मेलन गरी सभाको तयारी पूरा भएको जानकारी दिएको छ । सभापूर्व बुटवलबाट भैरहवासम्म ५ हजार मोटरसाइकल र ५०० सय गाडीको ¥याली गरिने नेकपा एमाले, रूपन्देहीका अध्यक्ष यज्ञ गैरेले जानकारी दिए । ‘यो सभा एमालेको मात्र होइन,’ अध्यक्ष गैरेले भने, ‘आयोजना एमाले भए पनि गणतन्त्र पक्षधर शक्तिको हो । सभामा हजारौं नागरिक सहभागी हुनेछन् ।’
एमाले सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न गर्दै गणतन्त्रको पक्षमा राष्ट्रिय जागरण अभियान अभियान एमालेले चलाएको बताइन् । प्रतिगामी गतिविधिका विरूद्ध जनतालाई सचेत पार्दै लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउने अघि बढ्ने अर्यालको भनाइ छ । सभामा अध्यक्ष ओलीसहित उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेललगायतका नेताहरूले संवोधन गर्ने कार्यक्रम रहेको छ ।