समृद्धि र विकासको यात्रा रोकिँदैन: प्रधानमन्त्री ओली

मेचीकाली संवाददाता

२८ चैत्र २०८१, शुक्रबार
21 shares

बुटवल । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले सिध्याउँछु भन्ने स्वार्थी तत्वहरु असफल भएको जनाउँदै समृद्धि र विकासको यात्रामा कुनै विराम नलाग्ने बताएका छन् । नेकपा (एमाले) रुपन्देही जिल्ला कमिटीले शुक्रबार बुटवलमा आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले लिएको समृद्धि र विकासको यात्राबाट तर्सिएर देशी विदेशी प्रतिक्रियावादी स्वार्थी तत्वहरुले एमालेलाई विभाजनको कोशिश गर्नेहरु असफल भएको टिप्पणी गर्दै भने,‘एमालेलाई सिध्याउँछु, केपी ओलीविनाको एमाले बनाउँछु भन्नेहरु सफल हुँदैनन् । म धेरै बाँच्ने होइन, त्यसपछि पनि मभन्दा बलवान् नेताहरु पार्टीमा आउनेछन् । यस देशको विकासको भाग्यरेखा हामी आफैँ कोर्छाैँ । मान्छेको घरमा आगो लगाएर र पसलबाट चोरेर भाग्नेहरुले क्रान्ति र परिवर्तनका लागि केही गर्न सक्दैनन् ।’

राजतन्त्र र पञ्चायतकालमा मुलुकमा कुशासन र अव्यवस्था भएकाले जनताको बलिदानीपूर्ण संघर्षबाट ल्याइएको लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन अहिलेको सरकारले आफ्ना सबै प्रयास गरिरहेको बताए । उनले विगतमा आफ्ना कुशासन र निरंकुशताको राज सम्झिएर प्रतिगामी तत्वहरुले यस व्यवस्थालाई बदनाम गर्न अराजकता र अफबाह फैल्याउन खोजे पनि त्यसबाट कुर्न विचलित नभई समृद्धि र सुसाशनको अहिलेको यात्रामा योगदान दिन सबैमा आग्रह गरे ।

अहिलेको आधुनिक समयमा जन्मसिद्ध श्रेष्ठताको सिद्धान्तमा पछि लाग्नु बेक्कार भएको जनाउँदै उनले लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउँदै जनताको समृद्धि र विकासलाई तीव्र गति दिन वर्तमान संयुक्त सरकार कटिबद्ध रहेको स्पष्ट गरे । देशका ठुला दलहरु नेपाली काँग्रेस र एमालेले मुलुकलाई स्थायित्व दिन र देशलाई परिवर्तनका लागि सरकार बनाएले यो सरकार (गठबन्धन) आगामी निर्वाचनसम्म जाने स्पष्ट गर्दै भने,‘यो सरकार ढल्न त के हल्लन पनि हल्लँदैन ।’ प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारको पालामा लुम्बिनीमा विभिन्न राजमार्ग, अस्पताल, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, ध्यान केन्द्र, कृषि उत्पादन क्षेत्रको विकासजस्ता अनेकै विकास र प्रविधिका योजना र कार्यक्रमहरु ल्याएको अवगत गराए ।

अध्यक्ष ओलीले देशमै नमुना विकासको काम गरेको र आफ्नो क्षेत्रमा पनि विकासका नमुना अभ्यास गरेका उपाध्यक्ष विष्णु पौडेललाई पछिल्लो निर्वाचनमा कम मत आएकोमा असन्तुष्टि जनाए । ‘यो क्षेत्रबाट लगातार केन्द्रमा प्रतिनिधित्व गर्नुभएको मात्रै होइन देशमै नमुना काम गर्नुभएको छ तर पछिल्लो निर्वाचनमा उहाँको मत किन कम आयो, यो समीक्षा हुन जरुरत छ ।’ उनले भने ‘यो यहाँका स्थानीयले पनि बुझ्नुपर्छ र पार्टीका नेता कार्यकर्ताले गम्भीर समीक्षा गर्न जरुरत छ ।’ रूपन्देही–२ पार्टीको बलियो आधार क्षेत्र भएको तर यस्तो ठाउँमा आएको मत परिणामका विषयमा नेतृत्वले समीक्षा गरेर जानुपर्ने उनले बताए ।

उनले अहिले पार्टीका महासचिव रहेका नेता शंकर पोखरेल मुख्यमन्त्री हुँदा प्रदेशले नमुना काम गरेको भन्दै प्रशंसा गरे ।
प्रधानमन्त्री ओलीले सरकार विद्यालय शिक्षा ऐन चाँडै ल्याउन तत्पर रहेकाले शिक्षकहरूले आन्दोलन गरिरहनु नपर्ने बताए । अहिलेको सरकारले सबै क्षेत्र र समुदायका समस्या र आवाजलाई सुन्ने भएकाले आन्दोलन गरिरहन नपर्ने उनले बताए । ‘शिक्षक साथीहरू आन्दोलनमा हुनुहुन्छ, तपाईंहरूका पनि अप्ठ्यारा छन्, समस्या छन्, तिनै अप्ठ्यारा र समस्या समाधान गर्न यो सरकार बनेको हो,’ उनले भने, ‘शिक्षकहरूलाई म भन्न चाहन्छु, शिक्षा ऐन चाँडै आउँछ । लामो समयदेखि ऐन रोकिएर बसेको छ, हामी त्यसलाई ल्याउँछौं भनेकै छौं, भावनामा बगेर समस्या समाधान हुँदैन, हामीले उपयुक्त समयमा राष्ट्रको हित हुने गरी ऐन कानुन ल्याउँछौं र व्यवस्थित ढंगले सबै समस्याको समाधान गर्छौं,’ प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिले अन्य माध्यमबाट पठाएको राजीनामा एकिन गरेर स्वीकृत गरेको जनाउँदै उपकुलपतिसँग आफ्नो भिडन्त भयो भन्ने खालका प्रचारमा कुनै सत्यता नभएको स्पष्ट गरे ।

यस्तै जागरण सभालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री तथा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले समृद्धि र सुशासनका लागि प्रधानमन्त्री ओलीको नेतृत्वमा भएका राम्रा कामलाई ओझेलमा पार्ने गरी गरिएका गलत प्रचारलाई चिरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री केपी ओलीविरुद्ध प्रतिगामी र दक्षिणपन्थीहरूले लगातार प्रहार गरिरहेको भन्दै पौडेलले उनीहरूको प्रयास सफल नहुने दावी गरे । नयाँ दलहरूसँग कुनै विचार, सिद्धान्त, दृष्टिकोण र गन्तव्य नभएको आरोप लगाउँदै उनले लोकप्रियतावादी र अवसरवादी मात्रै भएको टिप्पणी गरे । अर्थमन्त्री पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा सबै एकजुट हुनुपर्ने धारणा राखे । ‘दरबारिया र राजतन्त्रका मतियारलाई कहिल्यै नउठ्ने गरी सडकमा पछार्नुपर्छ,’ उनले भने, ‘प्रतिगामी तत्व र राजावादीको कुनै भविष्य छैन, राजनीतिक दलहरूले नै हो मुलुकलाई अगाडि बढाउने हो ।’

यस्तैगरी एमालेकी सचिव एवं लुम्बिनी प्रदेश इञ्चार्ज पद्मा अर्यालले एमाले र यसको नेतृत्वले देश र जनताका पक्षमा गरेका कामबारे आफूहरु खुलस्त छलफल गर्न तयार रहेकाले विपक्षी र प्रतिगामी पक्षहरुबाट हुने गलत प्रचारको पछि नलाग्न आग्रह गरिन् । जागरण सभामा एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरे लगायतका नेताले सम्बोधन गरेका थिए । कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, संघका भूमि व्यवस्थामन्त्री बलराम अधिकारीलगायत सहभागी थिए ।