

बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ लुम्बिनी गेट नजिकै सञ्चालनमा रहेको सुन्दर हार्डवेयर एण्ड प्लाइउडबिरुद्ध मंगलबार राजस्व चुहावट तथा राजस्व छलि गरेको आरोपमा मुद्दा दायर भएको छ ।
उक्त पसलका सञ्चालक जोगेन्द्र अग्रहरीले मालवस्तु खरिद गरेको स्टक नचढाएको, बिल बिजकनै जारी नगरी सामान बिक्रि गर्ने गरेको तथा बिक्री भएको मालवस्तुको अभिलेख नराखेको अनुसन्धानबाट देखिएकाले राजस्व अनुसन्धान कार्यालय, बुटवलले मंगलबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरिएको राजस्व अनुसन्धान बिभागका उपमहानिर्देशक तथा प्रवक्ता कृष्णकुमारी श्रेष्ठले जारी गरेको बिज्ञप्तिमा जनाइएको छ ।
राजस्व कार्यालयको अनुसन्धानमा उक्त पसल सञ्चालकले राजस्व कार्यालयमा पेश गरेको मौज्दात विवरण भन्दा पसलको गोदाममा अधिक मालवस्तु फेला परेको र ति मालवस्तुको खरिद तथा भन्सार पैठारी सम्बन्धि कुनै कागजात प्रमाण निजले पेश गर्न नसकेका कारण कारोबार कर छल्ने उद्देश्यले न्यून बिक्री देखाई राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ (संशोधन सहित) को दफा ४(छ) र (झ) बमोजिमको कसूर गरेको पुष्टि हुन आएकाले मुद्दा दायर गरिएको राजस्व अनुसन्धान कार्यालय, बुटवलका कार्यालय प्रमुख बिवेक घिमिरेले जानकारी दिए ।
राजस्व अनुसन्धान कार्यालयले प्राप्त तथ्य र प्रमाणको आधारमा सुन्दर हार्डवेयर एण्ड प्लाइउडका प्रोप्राइटर जोगेन्द्र अग्रहरीले सञ्चालन गरेको पसल तथा गोदामको खानतलासी तथा मालवस्तुको भौतिक निरीक्षण गरीएको र बिल बिजक, खरिद खाता, विक्री खाता, लगायत अन्य आवश्यक कागजातहरु तथा मालवस्तुको भौतिक गणना गरी विश्लेषण प्रतिवेदन अनुसार निजले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधन सहित) को दफा ३ ले निषेध गरेको कार्य गरेको पुष्टि हुन आएकाले मुद्दा दायर गरिएको प्रमुख घिंमिरेले जानकारी दिए ।
उक्त मुद्दामा प्रतिवादी सुन्दर हार्डवेयर तथा प्लाइउड पसलका सञ्चालकले राजस्व चुहावटको प्रकृति, गाम्भिर्यता तथा राजस्व चुहावट भएको रकम समेतलाई बिश्लेषण गरि रु ५४ लाख ४१ हजार बिगो र सोहि बमोजिम शत प्रतिशत जरिवाना र कानून बमोजिम हदैसम्मको कैद सजाय मागदाबी लिई मुद्दा दायर गरिएको घिंमिरेले जानकारी दिए । पछिल्लो समय राजस्व अनुसन्धान कार्यालय, बुटवलले सक्रियता बढाएको छ । यसअघि पनि कार्यालयले राजस्व चुहावट तथा राजस्व छलि गर्ने विभिन्न फर्महरुलाई मुद्दा दायर गरेको थियो ।
