ठूला दलहरुका कारण यथास्थिती र पुर्नउत्थानबादी सक्रिय भए: भट्टराई

मेचीकाली संवाददाता

१२ बैशाख २०८२, शुक्रबार
20 shares

बुटवल । नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य सिद्धिचरण भट्टराईले ठूला भनिएका दलहरुकै कारण मुलुकमा यथास्थिती र पुर्नउत्थानबादी शक्तिहरु सलबलाउन थालेको टिप्पणी गरेका छन् ।

नेकपा एकिकृत समाजवादी बुटवल उपमहानगरले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य भट्टराईले अब ठूला भनिएका दलहरुले आफूलाई सुधार गर्नुपर्ने बताए । उनले सत्तासिन दलहरुको असफलता र अर्कमण्यका कारण पुर्नउत्थानवादी शक्तिहरुले असन्तुष्टहरुबाट शक्ति सञ्चय गर्न कोसिस गरेको बताए । उनले अब दलहरुविच ऐजेन्डाका आधारमा गठबन्धन गर्ने र सरकारमा जाने संस्कृति विकास गर्नुपर्ने बताए । मुद्धामा भन्दा पनि स्वार्थमा गठबन्धन र सहकार्य गर्ने परिपाटीले जनतामा निराशा छाएको उनले बताए ।

केन्द्रीय सदस्य भट्टराईले मुलुकमा देखा परेको राजनीतिक संकटबाट अगाडि बढ्नका लागि अब सुशासन र रोजगारी नै प्रमुख ऐजेन्डा हुनुपर्ने बताए । उनले नेकपा एकिकृत समाजवादीले ‘सुशासन र रोजगारी समाजवादको तयारी’ भन्ने मुद्धालाई स्थापित गर्ने गरी आन्दोलनको तयारीमा रहेको समेत बताए । उनले सुशासन र रोजगारीका लागि सम्पूर्ण शक्तिहरुलाई एकिकृत गरी राष्ट्रिय सम्मेलन मार्फत आफूहरुले आन्दोलनको नेतृत्व गर्ने बताए । ‘हामी आन्दोलनको चरणमा छौं, हामी सबै क्षेत्रबाट सुझाव लिएर सुशासन र रोजगारीका बिषयमा सबैलाई एकजुट बनाएर जाने तयारीमा छौं’ उनले भने ।

पत्रकार सम्मेलनमा नेकपा एकीकृत समाजवादी बुटवल उपमहानगर कमिटिको दोस्रो अधिवेशन शनिबार (भोली) हुने जानकारी गराइएको थियो । अधिवेशनको पार्टीका केन्द्रीय सचिव तथा पुर्वमन्त्री सोमप्रसाद पाण्डेले उद्घाटन गर्ने कार्यक्रम रहेको नगर अध्यक्ष चिनबहादुर गुरूङले जानकारी दिए ।