

टोपलाल अर्याल
गुल्मी। गाउँकै घरको शैलीमा निर्माण गरिएको भार्से जनसहयोग मावि ७५ वर्ष पुग्यो । यो सामान्य विषय पक्कै होइन् । किनकि विद्यालयसंगै जन्मिएका भार्सेली छैनन् । तर, एउटा शैक्षिक धरोहरको रुपमा भार्से जनसहयोग मावि यद्यपि स्थापित छ । विद्यालय भवनसहित छात्राबास, अतिथिगृहलगायतका पुराना संरचना पनि थिए । तर, ती संरचना समयसंगै भत्किएर गए । जिल्लाका सबैभन्दा पुराना माविमध्ये भार्से जनसहयोग मावि एक हो । भार्सेमा अनौपचारिक रुपमा विसं. १९८६ मै पढाइ हुने गरेपछि औपचारिक रुपमा विसं. २००८ सालमा भार्से जनसहयोग मावि स्थापना भयो भने विसं. २०१८ सालबाट माद्यामिक विद्यालयकै रुपमा पठ्नपाठन सुरु भयो । तत्कालीन समयमा तम्घासमा महेन्द्र मावि र भार्से जनहसयोग मावि मात्रै थिए । विद्यालय निर्माणमा स्थानीय जनश्रमदान, भारतीय सहयोग र समाजसेवीहरुको अथक मेहेनत रहेको छ ।
विद्यालयसंगै जन्मिएका कैयन् भार्सेली अहिले छैनन् । तर, भार्से जनसहयोग मावि ७५ वर्षसम्म दरिलो साक्षी बनेर उभिएको छ । तत्कालीन समयमा गुल्मी पश्चिममा भार्से जनसहयोग मावि मात्रै भएकाले दश गाविस र बाग्लुङ्गका विद्यार्थीले अध्ययन गर्ने गरेको भार्सेका अगुवा बोमबहादुर श्रीसले बताए । तर, समयसंगै गाउँगाउँमा खुलेका विद्यालय र तीव्र बसाइसराइका कारण भार्से जनसहयोग माविलाई विद्यार्थी टिकाउन ठूलो चुनौति रहेको उनले बताए । कुनै समय आठ/नौ सय विद्यार्थीले खचाखच भार्से जनसहयोग माविलाई अहिले सय विद्यार्थी टिकाउन मुस्किल छ ।
भार्सेमा अत्यधिक बसाइसराइ छ । गाउँमा न्यून आयस्रोत भएका व्यक्तिहरु मात्रै बस्ने र कक्षा ५ पढिसकेपछि शहर झर्ने प्रवृत्तिले अबका केही वर्षमा विद्यालय खाली हुने जोखिम रहेको भार्से जनसहयोग माविका प्रधानाध्यापक लोकहरी पाण्डेयले बताए । वर्षेनी पाँच/सात घर बसाइ सरेका कारण विद्यार्थी संख्या घटिरहेको छ । थपिने गाउँ वा विद्यालय नजिक छैनन् । गाउँकै अभिभावक टिकाउने र बिद्यालयमा प्राविधिक शिक्षा सञ्चालन नगरे विद्यार्थी रोक्न नसकिनेमा प्रध्यानाध्यापक पाण्डेय विश्वस्त छन् । ‘गाउँमा बस्नेभन्दा नबस्ने घर धेरै भएपछि कसरी विद्यालय भरिन्छन् । राम्रो सडक र उद्यम गाउँमा छैन,’ उनले भने,‘भार्सेमा पर्यटनसंग जोडेर उद्यम र प्राविधिक शिक्षा अनिवार्य छ ।’ हिरक महोत्सवमा विद्यालयकै शैक्षिक गुणस्तर राम्रो बनाउन आर्थिक अभियान संचालन गरेकाले अहिलेसम्म ३५ लाख रुपियाँ संकलन भएको पाण्डेयले बताए । अहिले विद्यालयमा १८ जना शिक्षक तथा कर्मचारी र एक सय २० जना विद्यार्थी रहेका छन् । सत्यवति गाउँपालिका–८ भार्सेबाट आर्थिक वर्ष ०७९/०८० मा १८, ०८०/०८१ मा १० र यो आर्थिक वर्षमा २८ घर परिवारका गरेर २४८ जना बसाइ सरेर गएका छन् ।
वडासचिव विद्या भण्डारीले विगतका गाउँ छोडेर अहिले बसाइसराइ माग्न आउनेहरुको संख्या धेरै भएको बताइन् । गाउँमा बसाइसराइ गर्नेहरुको गुनासोनै शिक्षा, स्वास्थ्य र सडकसंगैका पूर्वाधार राम्रो नभएको छ । गाउँका मान्छेहरुलाई गाउँमै राख्न शिक्षा र स्वास्थ्य क्षेत्र राम्रो बनाउन राज्यसंगै आफूहरु पनि लागिरहेको भार्से जनसहयोग माविका विद्यालय व्यवस्थापन समिति सदस्य तथा अगुवा नरबहादुर बुढाथोकीले बताए । ‘बसाइसराइ रोक्न म लाहुरे मान्छे शहरको सुविधा छोडेर गाउँ आएँ । शिक्षा र स्वास्थ्यसहितका विकास राम्रो बनाउन निकै कस्सिएका छौँ,’ उनले भने,‘सोँचे जस्तो नहुँदा गाउँ खाली हुँदै गयो ।’