कालिकानगर बुटवल मण्डीमा नेपाली जुत्ताघर सञ्चालन

मेचीकाली संवाददाता

२३ बैशाख २०८२, मंगलवार
15 shares

बुटवल । बुटवल कालिकानगरस्थित बुटवल मण्डीमा नेपाली जुत्ताघर सञ्चालनमा आएको छ । युवा व्यवसायीहरुले नेपालमा चर्चित रहेका स्वदेशी ब्राण्डका जुत्ता चप्पल एकै ठाउँबाट उपभोक्तालाई उपलब्ध गराउने लक्ष्यका साथ जुत्ताघर सञ्चालनमा ल्याएका हुन् ।

मंगलबार एक कार्यक्रममका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे । सोही अवसरमा बोल्दै उनले नेपाली उत्पादनलाई प्रवद्र्धन गर्न बुटवल उपमहानगर तयार रहेको बताए । बुटवलका सबै क्षेत्रमा व्यवसाय विस्तार भइरहेको बताउँदै उनले युवाहरुले स्वदेशमै भविष्य खोज्नुपर्ने धारणा राखे । ‘युवालाई विभिन्न सिपमूलक तालिम दिएर स्वदेशमै उद्यमी बनाउने गरी काम गरीरहेका छौँ ।’ उनले भने । देशलाई आर्थिक रुपमा सबल बनाउने गरी युवाहरुले नै योजनाहरु अघि सार्नुपर्ने उनको तर्क छ । व्यवसायीहरुलाई स्थापित गर्नका लागि कम्तीमा २५ वर्ष एकै ठाउँमा बसेर व्यवसाय गर्न सक्ने वातावरण तयार गर्नुपर्ने नगर प्रमुख पाण्डेयले बताए ।

स्वदेशी उत्पादन र ब्राण्डलाई प्रवद्र्धन गर्दै उपभोक्तालाई कम मूल्यमा गुणस्तरीय स्वदेशी जुत्ताचप्पल बिक्री गर्ने उद्देश्यले नेपाली जुत्ताघर सञ्चालनमा ल्याइएको सञ्चालक अभिषेक पाण्डेले बताए । स्वदेशमा भविश्य नदेखेर लोखौँ यूवाहरु विदेश पलायन भइरहेको अबस्थामा स्वदेशमै केहि गर्नुपर्छ भन्ने सोँचका साथ व्यवसाय सुरु गरीएको उनले बताए ।जुत्ताघरमा रन सुज, स्मार्ट सुज, क्रसरोड सुज, शिखर सुज, फस्ट वाल्क सुज, विएफ डियरहिल सुज, सुल्याण्ड सुज ब्राण्डका जुत्ता चप्पल पाइने उनले बताए । उनका अनुसार उपभोक्ताले सबै ब्राण्डका जुत्तामा ६ महिनाको वारेण्टी पाउनेछन् । एक महिनाका लागि सबै ब्राण्डका जुत्ता चप्पलमा २० लेखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको सञ्चालक पाण्डेले बताए । त्यसपछि पनि आकर्षक छुट र विभिन्न अफरहरु ल्याउने उनले बताए ।

नेपाली उत्पादनलाई नेपालसँगै विश्वभर फैलाउन देशका विभिन्न सहरहरुमा नेपाली जुत्ताघरको सोरुम विस्तार भइरहेको फुटवेयर म्यानुफ्याक्चर्स एशोसियसन अफ नेपालका अध्यक्ष रुद्रप्रसाद न्यौपानेले बताए । उनका अनुसार नेपालमा वार्षिक साढे १० करोड जोर जुत्ता चप्पलको माग छ । यसमध्ये स्वदेशी उद्योगबाट वार्षिक १५ करोड जोर जुत्ता उत्पादन गर्ने क्षमता भएपनि हाल करिब ७ करोड जोर मात्रै उत्पादन हुँदै आएको छ । स्वदेशी उत्पादनले माग पूरा नहुँदा वार्षिक साढे ३ करोड जोर जुत्ता चप्पल भारतलगायत तेस्रो मुलुकबाट आयात हुँदै आएको उनले बताए । त्यसमा पनि २ करोड बढी अवैध बाटोबाट भन्सार छलेर भित्रने गरेको उनले दाबी गरे । अहिलेको अवस्थामा पनि नेपालबाट वार्षिक १ अर्ब भन्दा बढीको जुत्ता चप्पल निर्यात हुने गरेको अध्यक्ष न्यौपानेले बताए ।

नेपालको औद्योगिक उत्पादनमा फुटवेयर क्षेत्रको योगदान उल्लेखनीय रहेको फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालका वरिष्ठ उपाध्यक्ष सुरज बञ्जाडेले बताए । बुटवल मण्डीका सञ्चालक प्रसन्न कोइरालाले बाहिर छरिएर रहेका व्यवसायी तथा खुला आकाशमुनि ठेलामा व्यवसाय गर्दै आएका व्यवसायीहरुलाई एउटै छानामुनि संगठित गरी उपभोक्तालाई सहज रुपमा सेवा प्रदान गर्ने उद्देश्यले बुटवल मण्डी सञ्चालनमा ल्याइएको बताए । अहिले तरकारी, फलफूल पसल र जुत्ताघर सञ्चालनमा आइसकेको बताउँदै उनले आगामी दिनमा अरु व्यवसायीहरुलाई पनि जोड्दै जाने बताए ।