 
	 
									बुटवल । राजस्व अनुसन्धान विभागको बुटवल कार्यालयले करछली तथा भन्सार चोरीका कनेक्सनलाई एकपछि अर्को गर्दै नियन्त्रणमा लिएर मुद्दा दायर गरेको छ । यसैक्रममा राजस्व छलीमा संलग्न पाइएका भाञ्जा स्टोर्स एण्ड हाउसका प्रोप्राइटर बरकत अलि मियाँविरुद्ध ठूलो परिमाणको राजस्व हिनामिनाको अभियोगमा उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरेको छ ।

जिल्ला रुपन्देहीको बुटवल उपमहानगरपालिका–७ स्थित राधाकृष्ण पथमा रहेको भाञ्जा स्टोर्स एण्ड हाउस (स्था.ले.नं. ३०५६६७५७७) बाट सञ्चालन हुँदै आएको व्यवसायमा मियाँले करोडौंको राजस्व छली गरेको पुष्टी भएपछि सो कदम चालिएको राजस्व अनुसन्धान विभागका उपमहानिर्देशक तथा प्रवक्ता कृष्णकुमारी श्रेठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मियाँले आयात तथा खरिद गरिएका मालवस्तुको दर्ता नगरी तथा बिक्री गर्दा बिल नदिई वा गैह्र–बिजक जारी गरी कारोबार गर्दै आएको राजस्व अनुसन्धान विभागको विज्ञप्तिमा उल्लेख छ । साथै केही सामग्री स्रोतबिना चोरी पैठारी गरिएका र भण्डारण गरिएका वस्तुहरू समेत मौज्दात किताबमा नदेखिएको तथा कतिपय सामग्रीहरू मौज्दातभन्दा बढी पाइएकाले अनियमितता देखिएको विभागको दाबी छ ।
अनुसन्धानबाट भन्सार महसुल, मूल्य अभिवृद्धि कर (भ्याट) र आयकरसमेत गरी कुल रु.एक करोड ५५ लाख ६६ हजार २ सय ८१ रुपैयाँ बराबरको राजस्व छली भएको ठहर गरिएको विभागले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सोही आधारमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन,२०५२ अन्तर्गत बिगो असुल गर्न र बिगोको शत प्रतिशत जरिवानासहित कुल रु.तीन करोड ११ लाख ३२ हजार ५ सय ६२ रुपैयाँ असुल गर्न माग गर्दै मुद्दा दायर गरिएको हो । बरकत अलि मियाँ हालसम्म फरार छन् भने खोजीका लागि पक्राउ पूर्जीसमेत जारी भइसकेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।
राजस्व अनुसन्धान कार्यालय बुटवलले कर चोरी तथा अनियमिततामा शून्य सहनशीलताको नीतिअनुसार अनुसन्धानलाई तथ्यपूर्ण र वैज्ञानिक ढंगले तीब्र रुपमा अगाडि बढाइएको जनाएको छ । मुलुकको आर्थिक अनुशासन कायम गर्न र कर नतिर्ने व्यापारीवर्गमा कडाइ गर्ने र असल नियतकालाई प्रोत्साहनको सन्देश दिनेगरी काम गरिएको कार्यालय प्रमुख विवेक घिमिरेको दाबी छ ।
विदेशी मुद्रा अपचलनमा संलग्नलाई मुद्दा दायर
यसैबीच राजस्व अनुसन्धान कार्यालय बुटवलले विदेशी मुद्रा अपचलनमा संलग्न ४ जनाविरुद्ध कारबाही गरेको छ । मुद्रासहित पक्राउ परेकाहरुलाई करोडौं बराबरको रकम र भारतीय सवारीसहित मुद्दा दायर गरेको राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विवेक घिमिरेद्वारा बिहिबार जारी विज्ञप्तिमा उल्लेख छ ।

विदेशी मुद्रा अपचलनजस्तो गम्भीर आर्थिक अपराधमा संलग्न व्यक्तिहरूविरुद्ध राजस्व अनुसन्धान विभाग, बुटवलले कडा कारबाही अघि बढाएको छ । विभागले भारतीय मुद्रा अपचलनको अभियोगमा चार जनाविरुद्ध कपिलवस्तु जिल्ला अदालत, तौलिहवामा मुद्दा दायर गरेको छ ।
राजस्व अनुसन्धान कार्यालय, बुटवलको गहिरो अनुसन्धानबाट कपिलवस्तु जिल्लाको विभिन्न स्थानमा बसोबास गर्ने राजेशकुमार बर्मा, राकेशकुमार बर्मा, हमीद मुसलमान र जंगबहादुर बर्मा (सोनार) नामक व्यक्तिहरूले अवैध रुपमा ठूलो परिमाणमा भारतीय मुद्रा नेपाल भित्राएको पुष्टी भएको हो ।
उनीहरूको साथबाट पाँच सय दरका ४ हजार २ सय ३६ थान नोट (२१ लाख १८ हजार), २ सय दरका १ सय थान नोट (२० हजार) बराबर बरामद भएको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कुल भारतीय मुद्रा २१, हजार ३८ हजारको नेपाल राष्ट्र बैंकको विनिमय दर अनुसार नेपाली रुपैयाँमा रु.३४ लाख २४ हजार ७ रुपैयाँ रहेको छ ।
विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ (संशोधन सहित) को दफा ३,४,५ र १२ को उलंघन गरेको देखिएको कार्यालयको ठहर छ । सोही आधारमा प्रतिवादीहरूमाथि उक्त ऐनको दफा १८ (१) बमोजिम मुद्दा दायर गरिएको कार्यालय प्रमुखद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी, प्रतिबन्धित विदेशी मुद्रा ओसारपसार गर्न प्रयोग गरिएको भारतीय गाडी (नम्बरः यूपी ५५ एएम ०४५९) समेत नियन्त्रणमा लिई ‘कसूरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐन, २०७०’ अनुसार जफतको माग गरिएको छ ।

 
		 
		 
			   
		 
             
             
             
             
             
             
		 
                                 
                                 
                                