मैनाबगर अटोभिलेज क्षेत्रमा सडक र नाली व्यवस्थित बन्दै

मेचीकाली संवाददाता

३० बैशाख २०८२, मंगलवार
14 shares

रमेश पराजुली

बुटवल । बुटवल–२ मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ्ग एसोसिएसन (अटो भिलेज) क्षेत्रमा मुख्य सडकसँगै, भित्री सडकमा आरसीसी ढलान र व्यवस्थित नाली निर्माण हुने भएको छ । नमुना अटो भिलेज बनाउने भनिए पनि आधारभूत भौतिक पूर्वाधार नहुँदा लामो समयदेखि अस्तव्यस्त छ । नयाँ योजनासँगै अटोभिलेजमा क्षेत्रमा सडक र नाली बनेपछि व्यवस्थित हुने अपेक्षा गरिएको छ । अर्थमन्त्री विष्णु पौडेलको पहलमा संघीय सरकारबाट ८ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । अहिले ठेक्का सम्झौता गरी काम सुरु गर्न लागिएको बुटवल अटो इन्जिनियरिङका अध्यक्ष प्रेम गौचनले बताए । आफू नेतृत्वमा आएसँगै यो क्षेत्रमा वषौँदेखि रहेका समस्या हटाउँदै पूर्वाधार विकास एवं संस्थागत विकासमा काम गरिरहेको गौचनले अपेक्षा लिए ।

मैनाबगर प्रवेशद्वारदेखि रामएकबाल बडी कारखाना–कजवे हुँदै जीतगढी निस्किने मुख्य सडक अहिले ३० फुट रहेकोमा यसलाई विस्तार गरी ५४ फुट बनाइने छ । साथै सडकको दुवै साइडतर्फ नालीसहित आकर्षक फुटपाथ निर्माण गरिने बुटवल अटो इन्जिनियरिङका उद्योग उपाध्यक्ष तथा निर्माण समिति संयोजक ध्रुवराज भुसालले जानकारी दिए । यसैगरी सबै भित्री सडक ढलान गरी व्यवस्थीत नाली निर्माण हुनेछन । बुटवलको मिलनचोक, ट्राफिकचोकलगायतका क्षेत्रमा छरिएर व्यवसाय गरेका व्यवसायीहरुलाई एकतृत गरी भौतिक निर्माणसँगै आधारभूत आवश्यकता पूरा गर्ने प्रतिबद्धतासहित वि.सं. २०५७ सालमा मैनाबगरमा सारेपनि लामो समयसम्म यो क्षेत्र अस्तव्यस्त नै रहेको थियो । सडक र नाली निर्माणका लागि रुची श्रीकृष्ण जेभीले करिब ६ करोड रुपैयाँमा ठेक्का सम्झौता गरिसकेकको उपाध्यक्ष भुसालले बताए । उनका अनुसार आगामी असारभित्र काम सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको छ ।

सडक डिभिजन कार्यालय, बुटवलका इन्जिनियर शरद आचार्यले निर्माण व्यवसायीलाई समयमै काम सम्पन्न गर्नेगरी तयारी गर्न आग्रह गरेको बताए । उनका अनुसार संस्थाको सचिवालयदेखि रामएकबाल बडी कारखानासम्मको ५४० मिटर मुख्य सडक विस्तार गरी ५४ फुटको बनाइनेछ । यस्तैगरी भित्री सडकतर्फ अटोल्याण्डदेखि दुर्गा पञ्चाङ्गसम्मको ११५ मिटर, कालिका सिटदेखि बडीलाइनसम्म २४२ मिटर, बुद्ध ग्रीलदेखि सिमाना पथसम्म ७५ मिटर, स्मल गल्लीदेखि पार्किङसम्म ३३ मिटर, पवन बडी लाइनमा ३६ मिटर, सुलब–तिनाउ पथमा ८३ मिटर, मणिमुकुन्द पथमा १०० मिटर, बुद्ध पथमा ९५ मिटर, श्री गणेश पथमा ३६ मिटर र खोला लाइनमा ३९२ मिटर सडक स्ततरोन्नति र नाली निर्माण गरिनेछ ।

यस्तैगरी शहरी पूर्वाधार भवन निर्माण कार्यालयअन्तर्गत ३ वटा भित्री सडकको काम भइरहेको बुटवल अटो इन्जिनियरिङ्गका सचिव मनिष पाण्डेले बताए । जसमा गौरीशंकर पथमा ३० मिटर सडक निर्माण सम्पन्न भइसकेको छ भने बुद्ध पथ र सगरमाथा पथमा ९०/९० मिटर सडक र नाली निर्माणको काम भइरहेको छ । बुटवल अटो इन्जिनियरिङ्गमा करिब ८ सय व्यवसायी रहेका छन् भने १० हजार जनाले राजगारी पाएका छन् । अटो भिलेज क्षेत्र सडक र नाली निर्माण भएपछि व्यवस्थीत हुने अपेक्षा गरिएको व्यवसायी चिरञ्जीवी शर्माले बताए । सडक र नाली निर्माण नहुँदा वषौँदेखि सास्ती खेप्दै आएको स्थानिय अहिले भने उत्साहित भएका छन् । समयमै काम सम्पन्न भएमा यहाँका नागरीकलाई सहज हुने स्थानीय जमुना नेपाल भट्टराइले बताइन् । रुपन्देहीको क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यसमेत रहेका अर्थमन्त्री पौडेलको पहलमा यस क्षेत्रमा थुप्रै विकास निर्माणका काम सम्पन्न भइसकेका छन् भने केही आयोजना निर्माणाधीन अवस्थामा रहेका छन् ।