गाडीका महँगा पार्टस तस्करीमा कहलिएका बस मालिक संलग्न

–झण्डै डेढ करोड जरिवाना दावी गर्दै मुद्दा दायर

मेचीकाली संवाददाता

२ जेष्ठ २०८२, बिहीबार
128 shares

मेचीकाली संवाददाता

बुटवल । राजस्व छलीमा संलग्न रहेको भन्दै प्रमाण सहित धमाधम मुद्दा दायर भएका छन् । तीमध्ये केही दृष्टान्त हेर्दा लाग्छ(तस्करीमा सुकिला मुकिला र पहुँचवालाकै लहरो लामो छ । विदेशी बिनिमयको अपचलन, कपडा, खाद्यान्नदेखि साना गाडीका महँगा पार्टसको तस्करीको आरोपमा राजस्व अनुसन्धान कार्यालयले मुद्दा दायर गरेको छ । यहाँ दायर भएका कतिपय मुद्दाहरु हेर्दा लाग्छ( तस्करीमा साना होइन ठूलाबडाकै संलग्नता ज्यादा छ ।

साना गाडीका महँगा पार्टसको तस्करी गरि राजस्व छली गरेको आरोपमा बुटवलका कहलिएका बस व्यवसायीविरुद्ध मुद्दा दायर भएको छ । मोटर पार्टसको समेत कारोबार गर्दै आएका बस व्यवसायी दधिराम खरेल र उनका साझेदार जगन्नाथ खनालविरुद्ध बिहीबार मुद्दा दायर भएको छ ।

उनीहरू सञ्चालक रहेको फर्मबाट गाडीका महँगा पार्टसहरु राजस्व छली गरेर ल्याउने र बिक्रीवितरण गर्ने गरेको पाइएको छ ।
तस्करीको आरोपमा मुद्दा दायर भएका दुबै जनाविरुद्ध हो । राजस्व अनुसन्धान विभाग राजस्व अनुसन्धान कार्यालय बुटवल मार्फत बिहिवार मुद्दा दायर भएको विभागका प्रवक्ता कृष्णकुमारी श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय, बुटवल मार्फत राजस्व चुहावट सम्बन्धी कसूरमा अनुसन्धान तथा तहकिकात तीब्र बनाएको छ । यसैक्रममा खरेल र साझेदारविरुद्धको उक्त कसुर पत्ता लगाएको हो । शुभलक्ष्मी अटो लिंक प्रालि स्था ले.नं ३०४८९८८१३) का प्रोप्राइटर जगनन्नाथ खनाल र दधिराम खरेल विरुद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधन सहित) को दफा २० (६) बमोजिम मुद्दा दायर गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘शुभलक्ष्मी अटो लिंक प्रालि (स्था.ले.नं ३०५६६७५७७) का प्रोप्राइटर जिल्ला रुपन्देही, तिलोत्तमा नगरपालिका, वडा नं ४, शुभलक्ष्मी पथमा बस्ने वर्ष ४८ का जगनन्नाथ खनाल र जिल्ला रुपन्देही, तिलोत्तमा नगरपालिका, वडा नं ४, नयाँमिलमा बस्ने वर्ष ५४ का दधिराम खरेलले सञ्चालन गरेको वर्कशप र गोदामको खानतलासी तथा मालवस्तुको भौतिक निरीक्षण गरी बिल बिजक, खरिद खाता, विक्री खातालगायत अन्य आवश्यक कागजातहरु तथा मालवस्तुको भौतिक गणना गरी विश्लेषण गर्दा उक्त फर्मको मौज्दात किताबमा प्रविष्टि गरेबमोजिमको परिमाण भन्दा भौतिक निरीक्षणबाट प्राप्त परिमाण बढी देखिएको तथा केही मालवस्तुको परिमाण मौजदात किताब भन्दा कम देखिएको जस्ता विभिन्न पक्ष समेतलाई हेर्दा निज प्रतिवादीहरुले प्रस्तुत फर्मका नाममा मालवस्तु खरिद गरी मौज्दात किताबमा प्रविष्टि नगर्नु, बिजक नै जारी नगरी मालवस्तु बिक्री गर्नु, बिक्री भएको मालवस्तुको अभिलेख बिक्री खातामा प्रविष्टि नगर्नु, पेश गरेको मौज्दात विवरण भन्दा अधिक मालवस्तु गोदामबाट फेला पर्नु, बढी फेला परेको मालवस्तुको खरिद तथा भन्सार पैठारी गरेको कुनै निस्सा प्रमाण निजसँग नहुनु तथा कारोबार छल्ने उद्देश्यले न्यून बिक्री देखाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधन सहित) को दफा ४ (छ) र (झ) बमोजिमको कसूर गरेको पुष्टि भएकोले निज प्रतिवादीहरुलाई ऐ. ऐनको दफा २ (छ १) बमोजिम चुहावट भएको भन्सार महशुल, मुअ कर र आयकर सहितको बिगो रु ७२ लाख ११ हजार तीनसय रुपैयाँ मात्र कायम गरी ऐ। ऐ। ऐनको दफा २३ (१) बमोजिम बिगो असुल उपर गरी बिगोको शत प्रतिशत रु ७२ लाख एघार हजार तीनसय रुपैयाँ मात्र जरिवाना गरी जम्मा रु एक करोड चौवालीस लाख बाईस हजार छ सय मात्र असुल उपर गर्न तथा ऐ। ऐ। ऐनको दफा २३ को उपदफा (१) (ख) बमोजिम हदैसम्मको कैद सजायको मागदाबी लिई सोही ऐनको दफा २० (६) बमोजिम आज सम्मानित उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरिएको छ।’ विज्ञप्तिमा उल्लेख छ ।

खरेल नेपालका कहलिएका बस व्यवसायी हुन । उनलाई राजनीतिक पहुँच र रवाफ भएका कहलिएका उद्यमीका रुपमा लिइन्छ । उनी पश्चिम नेपाल बस व्यवसायी प्रालिका सञ्चालक हुन । यो प्रालि साविकको पश्चिम नेपाल बस व्यवसायी समिति थियो । खरेलका बसहरु नेपालका अधिकांश रुटका साथै नेपाल–भारत मैत्री बसका रुपमा भारतका पनि विभिन्न ठाउँमा आउजाउ गर्ने गर्छन् ।