विचार र व्यवहारका पर्याय मदन–आश्रित

मेचीकाली संवाददाता

४ जेष्ठ २०८२, शनिबार
13 shares

बलबहादुर आचार्य

नेपालको कम्युनिष्ट आन्दोलनमा जेठ ३ दुखदायी घटनाको रुपमा स्मरण हुने गर्दछ । यस दिन मेरो मनमा २ वटा विषयको जिज्ञासा उत्पन्न हुने गर्दछ । एउटा किन यस दिनमा मात्र यो घटना नियोजित षड्यन्त्र थियो भन्ने विषयमा नेताहरु बोल्ने गर्नुहुन्छ र सरकारको ताला चाबी भएका बेला किन यसको अनुसन्धानको विषय बन्दैन ? अर्को कुरा यस दिन किन जवजको उन्नती प्रगतिका बारेमा चर्चा भए पनि जबज यसका कार्यनीति र कार्यक्रमका बारेमा व्दन्दात्मक रुपमा समिक्षा हुदैन र पार्टीको कार्यशैलीमा देखिएका कमि कमजोरीहरुलाई पार्टीले सच्याउनु पर्दछ भन्ने बारेमा पनि त्यति चर्चा भएको पाइदैन र भए पनि दृढताका साथमा सच्याउने बारेमा पार्टीमा ठोस योजना बन्दैन ? यी विषयहरुलाई गंभिरताका साथमा नलिएका कारण आज नेकपा एमाले पुन खुम्चने अवस्थातर्फ अगाडि बढी रहेकोछ । मदन आश्रित जबजको सिद्धान्त र सिद्धान्तलाई व्यवहारमा कार्यान्वयन गर्ने विषयका असाधारण प्रतिभाका धनी हुनुहुन्थ्यो । आज हामी जबज अवलम्वनको ३३ वर्षमा पनि एकातिर जबजले सोचेको कार्यक्रमलाई ठिक गोरेटोमा हिँडाउन सकेका छौँ न त पार्टीको कार्यशैली र संगठनात्मक सिद्धान्तलाई ठिक किसिमले स्थापित गर्न सकेका छौँ । यदि संगठनलाई ठिक विचार र शैलीबाट सञ्चालन गर्ने हो भने छोटो समयमा नै पार्टीलाई स्थापित गर्न सकिन्छ भन्ने विषय क मदनको नेतृत्वकाला र जीवराज आश्रितको जीवनवाट सिक्न सकिन्छ ।
कुशल नेतृत्व र असाधारण क्षमता भएका मानिसहरुलाई कुनै पनि कार्य अरुको तुलनामा ज्यादै छिटो र ज्यादै सुव्यवस्थित रुपमा सम्पन्न गर्दछन भन्ने कुरा नेपालको कम्युनिष्ट आन्दोलनका सफल व्यक्तित्व कमरेड मदन भण्डरीको जीवनकालबाट पनि प्रमाणित हुन्छ ।

उहाँ पार्टीको केन्द्रिय कमिटीमा संगठित भएको एक दशकमै पार्टीको सर्वोच्च पदमा पुग्नु, महाधिवेशनले विजारोपण गरेको नयाँ विचारलाई ६ महिना मै प्रयोगमा ल्याउनु र नेपालको लामो समयको निरंकुश राजतन्त्रलाई समाप्त गर्नका लागि सबै राजनैतिक दलहरुलाई एक स्थानमा ल्याउँदै नेपालको कम्युनिष्ट आन्दोलनमा नयाँ विचार स्थापित गर्दै त्यसको सफल प्रयोग गरी विश्व कम्युनिष्ट आन्दोलनमा समेत एउटा नयाँ बहसको शुरुवात गराउनु निकै चुनौतीपूर्ण कार्यहरु हुन । तर पनि यी सबै कार्यहरु बदलिदो राजनैतिक परिवेशमा कुशलताका साथमा पार्टीलाई एक ढिक्का बनाउँदै सम्पन्न गराउन सक्नु विलक्षण प्रतिभा कै नतिजा हो । उहाँले नेपालको राजनीतिमा ४२ बर्षको युवा अवस्थामै यी असाधारण क्षमताको प्रदर्शन गरेकै कारण प्रतिक्रियावादीहरुको षड्यन्त्रमा परि नेपालको राजनीतिवाट सदाका लागि बिदा भएर जानुभयो । उहाँको भौतिक शरिर हाम्रा सामु नरहे पनि उहाँको बैचारिक नेतृत्व नेपालको कम्युनिष्ट आन्दोलन र राजनैतिक आन्दोलनमा अत्यन्त सान्दर्भिक छन् । उहाँको विचारलाई ठिक किसिमवाट समात्ने र नेपाली समाजमा प्रयोग गर्ने ठिक सवालमा हामी काहाँ चुक्यौ गम्भीर समिक्षाको आवश्यकता छ । त्यसैगरी क.जीवराज आश्रितको संगठन निर्माण, अन्तरविरोधहरुको पहिचान गर्ने, कार्यकर्ताको भावना र सोचका आधारमा संगठनमा जिम्मेवारी दिने र अनुशासनका मामलामा दृढ रहने कार्यशैलीका अभावमा यति बेला नेकपा एमालेमा देखिएका अवशरवाद र संगठनात्मक अराजकताहरु महाधिवेशनको मूल नारा नै बनाउनुपर्ने अवस्था आउनु र त्यसलाई सामान्य पार्टी पकृयाबाट सच्याउन नसकिने भएका कारण पुरा संगठनलाई नै राष्ट्रिय अभियानका रुपमा मिसन ग्रास रुट र जरा अभियानका नाममा संचालन गर्नुपर्ने अवस्थाले गर्दा हामी संगठन निर्माण, संचालन र हाम्रा कार्यशैलीहरु कति संक्रमित भएका छन भन्ने अनुमान र अनुभव गर्न सकिन्छ ।

क.मदनले आफ्नै जीवनकालमा आफूले नेतृत्व गर्नुभएको विचारलाई व्यवहारमा प्रमाणित गर्नु भयो ।
०४६ सालको चौंथौँ महाधिवेशनवाट विषय प्रवेश भएको प्रतिस्पर्धाको आधारमा कम्युनिष्ट पार्टीलाई जनतामा स्थापित गर्दै आमूल परिवर्तनको दिशामा अगाडी बढ्ने कार्यनीति तथा कार्यक्रमहरुलाई व्यवहारबाटै स्थापित गर्नका लागि ६ महिनाभित्रै क.मदनले अगुवाई गर्दै संयुक्त जनआन्दोलनको तयारीमा जुट्नुभयो । यसका लागि पार्टी पंक्तिलाई प्रशिक्षित गर्ने, बाम पार्टीहरुसंग संवाद गर्दै वाममोर्चा निर्माण गर्ने र नेपाली कांगे्रसलाई संयुक्त जनआन्दोलनका लागि सहमत बनाउँदै यही छोटो समयमा ०४६ सालको संयुक्त जनआन्दोलनलाई सफलतामा पुराउन नेतृत्व गर्नुभयो । आन्दोलनको सफलतापछि नेपालको नयाँ संविधान तयार गर्ने, पार्टीलाई खुला परिवेशमा नयाँ ढंगबाट पुर्नगठन गर्ने क्रममा बाम एकीकरणका लागि नेकपा माक्र्सवादीलगायतका पार्टी तथा अन्य कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुसंग एकीकृत गर्दै कम्युनिष्ट पार्टीलाई एकीकरण गर्ने, महाधिवेशनले नविन विचारको रुपमा पास गरेको जबजको नवीन विचारलाई निर्वाचनको माध्यमवाट प्रयोगमा लैजाँदै नेपालको संघीय संसद्मा प्रतिस्पर्धाबाट ६९ सिटमा सांसदहरु विजयी बनाउँदै तय गरिएको विचारलाई व्यवहारबाट प्रमाणित गर्ने कार्यहरु सफलताकासाथमा सम्पन्न गराउन नेतृत्व गर्नु भयो । यसरी कम्युनिष्ट पार्टीलाई जनतावाट अनुमोदन गराउँदै विश्व कम्युनिष्ट आन्दोलनको कार्यनीतिमा देखा परेको ठुलो चुनौतीलाई समेत ठिक बाटो देखाउने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु चानचुने विषय होइन ।

०४९ सालको माघमा सम्पन्न पाँचौँ महाधिवेशनमा कमरेड मदन भण्डारीले जनताको बहुदलीय जनवादको कार्यक्रम तथा कार्यनीतिलाई विधिवत रुपमा अत्यधिक मतवाट अनुमोदन गराउने कार्यसमेत कुशलताको साथमा नेतृत्व गर्नुभयो र नेपालको राजनीतिमा नयाँ आयम स्थापना गर्दै नेपाली समाजको आमूल रुपान्तरणको अभियान सञ्चालनका लागि नयाँ गोरेटोसमेत तयार गर्नुभयो । आफ्नो नेतृत्वको ४ वर्षे छोटो अवधिमा विचार प्रतिपादन गर्ने र उक्त विचारलाई व्यवहारवाट सिद्ध गर्दै सिद्धान्त निर्माणको आधार तयार गर्ने कामको अगुवाई गर्ने कार्य ज्यादै महत्वको विषयका रुपमा लिन सकिन्छ । पार्टीले पास गरेका विचारलाई व्यवहारमा कार्यान्वयन गर्न आवश्यक संगठन निर्माण र परिचालनमा संगठन विभाग प्रमुखका रुपमा क्रियाशील भई पार्टी अनुशासनलाई ठिक दिशामा लान र विचारअनुसारको कार्यशैली निर्माणमा मदन भण्डारीका सहयोद्धा क.जीवराज आश्रितको योगदानसमेत महत्वपूर्ण रहेको छ ।

क.मदन भण्डारीले २०४६ भदौमा भएको नेकपा मालेको चौंथौँ महाधिवेशनमा पार्टी निर्माण बारे आधारभूत प्रस्तावना नामको दस्तावेजमा पार्टी निर्माण तथा परिचालनका बारेमा ज्यादै महत्वपूर्ण विचार प्रस्तुत गर्नुभएको थियो । जुन भनाई अहिलेको समयमा ज्यादै सान्दर्भिक र मननयोग्य भएकोले उक्त भनाई यहाँ प्रस्तुत गर्न चाहन्छु । कम्युनिष्ट पार्टी सञ्चालित हुने विज्ञानसम्मत संगठनात्मक सिद्धान्त हुन्छ, त्यो लेनिनवादी संगठनात्मक सिद्धान्त हो । यसलाई पालना नगर्ने कम्युनिष्ट पार्टीहरु छिन्न भिन्न हुन्छन् र त्यस्तो भएन भने पनि तिनिहरुले आमूल रुपान्तरणको अगुवाई गर्न सक्दैनन् । हाम्रो देशमा २००६ सालमा कम्युनिष्ट पार्टी स्थापना भयो र २२ सालसम्म पुग्दा विभाजित एवं छिन्नभिन्न भयो । कम्युनिष्ट पार्टीमा भएको विभाजनमा राजनैतिक, सैद्धान्तिक र अरु कारणहरुको धेर थोर जति भए पनि गैर सर्वहारा प्रवृत्ति र लेनिनवादी संगठनात्मक सिद्धान्तको गंभिर रुपमा उल्लंघन भएको तथ्य कसैले लुकाउन सकिँदैन । यो उलंघन फुटेर जानेहरुले मात्र गरेका हुन भन्न सकिन्न । संगठन निर्माण गर्ने र त्यसलाई सञ्चालन गर्ने, वस्तु वा घटनालाई हेर्ने, विश्लेषण गर्ने, विचारलाई खेल्न दिने, फरक मतहरुलाई सञ्चालन गर्ने, नीति निर्माण गर्ने तथा विचारधारात्मक संघर्ष सञ्चालन गर्ने, नेतृत्वको दायित्व निर्वाह गर्ने र कार्यकर्ता परिचालन गर्ने जस्ता अनेकौ सवालमा संगठनात्मक सिद्धान्तको उल्लंघन भएको हुन सक्छ । माथिको यस भनाइबाट हामीले अहिलेको अवस्थालाई विश्लेषण गर्दा हामी काहाँ छौ र कुन दिशातर्फ हामी अगाडि बढ्दैछौँ भन्ने निष्कर्ष निकाल्न त्यति गाह्रो नहोला ।

निष्कर्षः मदन भण्डारी हामी सामुवाट विदा भएको आज ३२ वर्ष भइसकेको छ । यस अवधिमा नेकपा एमालेले अनेकौँ उतार चडावहरु पार गरेको छ । जवजको कार्यक्रम र कार्यनीतिको वरिपरि नेपालको कम्युनिष्ट आन्दोलन घुमिरहेकोछ । यसैको कार्यनीतिको उपयोगवाट अहिले नेपालका कम्युनिष्ट पार्टीहरु पालैपालो सरकारहरु संचालन गरी रहेकाछन् । तर जबजको कार्यनीतिको मूल मर्मको रुपमा रहेको प्रतिस्पर्धाका आधारमा श्रेष्ठता र जनताको उत्साहपूर्ण अनुमोदनवाट सरकार सञ्चालन हो । तर आज राज्य सञ्चालनका लागि संसद् तथा सरकारहरुमा जानको लागि जस्तोसुकै क्रियाकलाप गर्ने कार्यले यो कार्यनीतिको व्यवहारिक पक्ष धरमराएको छ । जनताको मन जितेर सरकार र संसदमा जाउ र जनताको हित र राष्ट्रको उन्नतिमा केन्द्रित हुदै समाजको आमूल रुपान्तरण गर । यसो गर्दा समाज रुपान्तरणका पक्षमा देखा परेका समस्याहरुका विरुद्धमा आउने प्रतिगामी तथा प्रतिक्रियावादीहरुका विरुद्धमा जनताहरु स्वयम प्रतिकारमा उठनेछन र यहि जनताको शक्तिमा कम्युनिष्ट पार्टीले राज्य सञ्चालन गर्दै जाने छ भन्ने सोचसमेत विखण्डित हुन खोजको त हैन भन्ने अवस्था महशुस हुन थालेको छ ।

आज कम्युनिष्ट पार्टीका नेताहरुले समेत निर्वाचनका बेलामा जनतालाई अनेकौँ प्रलोभन र झुटा आश्वासन बाडने, चुनाव जित्नका लागि अनेकौँ विकृत क्रियाकलाप गर्ने, एकपटक जितेको स्थानमा जनताहरुसँग सुमधुर सम्बन्ध कायम गर्न नसक्ेन र पराजयको सिकार हुने, सरकारमा भएका बेला अनेकौ भ्रष्टचारका मुद्दामा मुछिने, यस्ता आरोप लागेकाहरुलाई कुनै छानवीन नगरिने कारण आज जनताहरु कम्युनिष्ट पार्टीप्रति नकरात्मक विचार राख्ने अवस्था सृजना भएकोछ । आजभन्दा ३१ वर्ष अगाडि नै नेपालको संसदमा ठुलो दलका रुपमा स्थापित नेकपा एमाले आज किन विस्तार हुन सकेको छैन भन्ने गम्भीर समिक्षाको विषय भएको छ । किन आज नेकपा एमालेका सांसद, स्थानीय सरकारका जनप्रतिनिधि र नेता कार्यकर्ताबाट जनताहरु असन्तुष्ट हुँदै गएका छन् । यो जबजको स्वरुप र कार्यशैलीप्रतिको स्खलन त होइन ? यी आदि कारणले गर्दा आज जनता र कम्युनिष्ट पार्टीबिचको सम्बन्ध नकरात्मक दिशामा अगाडि बढेको छ । यसले गर्दा आज जवजको कार्यनीतिलाई व्यवहारमा उतार्ने सन्दर्भमा गम्भीर भडकावहरु देखा परेका छन् र अब पनि कठोर समिक्षा गर्दै पार्टीको कार्यशैलीमा आमूल रुपान्तरण हुन सकेन भने यसको भविश्यका बारेमा पनि आशंका बढ्न थालेको छ ।

त्यसैगरी जबजको सार भनेको नेकपा एमालेका प्रतिनिधिहरु सरकारमा जादा गरिने कार्यक्रम र समाज रुपान्तरणका विषयमा गरिने कार्ययोजनाहरु हुन् । हामीले सरकारमा रहेका बेलामा समाजको सार्वजनिक भौतिक पूर्वाधारको पक्षमा केही नयाँ योजनाहरु ल्याउने, सार्वजनिक भौतिक पूर्वाध।का रुपमा बाटो, पुल, भवन तथा केही सामाजिक न्यायका पक्षमा केही सुधारात्मक कार्यक्रमहरुको कार्यान्वयन गर्ने पक्षमा केही सुधार भएका छन् । तर नागरिकको जीवन स्तरलाई माथि उठाउने रोजगारी तथा स्वरोजगारको विकास गर्ने, कलकारखाना स्थापना गर्दै उद्योग व्यवशायको विकासमा टेवा दिने र नेपालको राष्ट्रिय आय स्वाधिन अर्थतन्त्रको विकासका लागि कृषि क्षेत्र र पर्यटन क्षेत्रका पूर्वाधारका विकास र हामीसंग भएका प्राकृतिक संपदाहरुको विकासका लागि गरिने पूर्वाधार विकासका पक्षहरु अत्यन्त कमजोर अवस्थामा रहेकाछन् ।

आज करिव करिव पौने एक करोड मानिसहरु विभिन्न अवशरका लागि विदेशीन बाध्य भएका छन् । नेपालको ठुलो जनसंख्या आज पनि विकासको मूल प्रवाहमा सहभागी हुन सकेको छैन जसका कारण आज उनीहरुमा राजनैतिक व्यवस्था परिवर्तनको अनुभूति हुन सकेको छैन । हामीले हाम्रा निर्वाचित सरकारहरुलाई समाजादको आधार निर्माणका ठोस कार्यक्रमहरु यी हुन, विकासका आधार र प्राथमिकता यी हुन भन्दै समाज रुपान्तरणको रोडम्याप अहिलेसम्म पनि दिन र प्रशिक्षित गर्न सकेका छैनौँ । आज स्थानीय सरकार र प्रदेश सरकारहरुलाई दिशा निर्देश गर्न ठोस कार्यक्रम र विषयगत प्रशिक्षणसमेत गर्न नसकेका कारण आफुले जे जानेको छ त्यहि आधारमा काम गर्ने अवस्था सृजना भएको छ । यस प्रकारको कार्यशैलीले समाज रुपान्तरण र विकासमा कुनै ठोस उपलब्धि हुन सक्दैन ।

हामीले यस वीचमा जबजको बैचारिक पक्षलाई विकसीत गर्ने कार्यमा त केहि अगाडि बढेका छौँ तर यसका सँगैसँगै विकासित गर्नुपर्ने व्यवहार र कार्यान्वयनका पक्षमा भने कमजोर देखिएका देखिएका छौँ । सिद्धान्त र व्यवहारबिचमा देखा परेका खाडलका बारेमा आत्मसमिक्षा गर्ने र कमजोर पक्षहरुलाई नियाल्ने र सच्याउनेतर्फ भने लाग्न सकेनौँ । अवस्था यस्तै रहने हो भने हाम्रो कार्यशैली र ठोस कार्यक्रमको अभावका कारण केही समयपछि नेपाली कम्युनिष्ट आन्दोलनमा जबज असफल भयो भन्ने निश्कर्ष नआउला भन्न सकिन्न । यदि हामीले अझै पनि ठोस समिक्ष गर्दै समयमै सच्चिने जमर्को गरेनौँ भने मेरो विचारमा हामीहरु अब यस्तो अवस्थामा पुगिसकेका हुनैछौँ कि न त हामीले कमजोरी सच्याउन समय नै प्राप्त गर्न सक्छौँ न त जबजको सिद्धान्तलाई दृढताका साथमा कार्यान्वयन गर्दै समाजको रुपान्तरणमा अगुवाई गर्नका निम्ति जनताको विश्वास र भरोसा नै प्राप्त गर्न सक्छौँ भन्ने मैले महशुस गरेको छु र यो मेरो विश्लेषण गलत होस भन्ने कामनाका साथमा आदरणीय कमरेड मदन भण्डारी र जीवराज आश्रितप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु ।