रुपन्देही कम्युनिष्ट पार्टीका सस्थापक डा.रमेश श्रेष्ठ

मेचीकाली संवाददाता

७ जेष्ठ २०८२, मंगलवार
163 shares

डीआर घिमिरे

अहिले उनी ७० वर्षका भए । घरमा काम गर्न औधी जाँगर छ । दुई कठ्ठा जग्गामा बनेको घरमा कति धेरै काम हुन्छ ? त्यो त प्रायः सबैले जानेकै हुन्छन् । घरको सजावट, उद्यानको व्यवस्थापनदेखि ३ वटा कुकुरको देखभाल आफैँमा सानो काम हैन । यी सबै काम फूर्तिका साथ गर्न सक्ने रमेश श्रेष्ठ नेपालगञ्जको लागि रैथानेजस्तै भए । उनी बुटवलमा जन्मे, हुर्के । वनारसदेखि काठमाण्डौ र रसियासम्म घुमेर पढे । राजनीति गरे । राजनीति गर्दा पनि औषधी व्यवसायमा रमाउने उनी अर्थात् रमेशलाई जीवराज आश्रितले मेडिकल शिक्षा प्राप्त गर्ने र त्यसकै माध्यमबाट जनसेवा गर्ने जिम्मा दिएका थिए । जो निरन्तर चलिरहेको छ ।

राजनीतिलाई उनले पेशा बनाएनन्, पेशालाई राजनीतिबाट सिकेको पथलाई समाजसेवामा हिडाए र जीविकोपार्जनको माध्यम बनाए । विसं.२०२३ साल अघि काठमाण्डौमा आइएस्सी पढ्न गएका श्रेष्ठ पढाइमा जमेनन् । बुटवल फर्केपछि आश्रितसँग सम्बन्ध भयो । एक दिन आश्रितले आईए पढ्न वनारस लिएर गए । कलेजको कुरा त हुँदै थियो, त्यहीबिचमा एक दिन आश्रितले कमरेड पुष्पलालको कोठामा लगे । पार्टी निर्माणमा व्यस्त पुष्पलालसँग जो गए पनि पार्टीमै लाग्ने एकप्रकारको ऊर्जा भरिन्थ्यो । उनलाई पनि त्यस्तै भयो ।

डा.रमेश श्रेष्ठ

पुष्पलालले गोरखपुर गएर लालबहादुर अर्थात् एकदेव आलेसँग भेट गर्न सल्लाह दिए । उनीहरु गोरखपुर आएर कमरेड एकदेव आलेसँग भेट गरे । त्यतिबेलाको प्रसंग सम्झदै रमेशले भने–क.एकदेवले रुपन्देही गएर पार्टी निर्माण गर्न भन्नुभयो र हामीहरु रुपन्देही आयौं र पार्टी निर्माणमा लाग्याँै । बुटवलमा पहिलोपटक कम्युनिष्ट पार्टीको सेल कमिटी गठन भयो । जसमा देवेन्द्र घिमिरे, जीवराज आश्रित र रमेश श्रेष्ठ रहे । रमेश त्यतिबेला १७ वर्षका थिए । त्यतिबेलाको अवस्थालाई सम्झदै श्रेष्ठ भन्छन्–करिब चार महिनापछि तीर्थमुनि बज्राचार्य र बाबुराम अर्याललाई थपेर ५ जनाको भयो । यसपछि क्रमसः दुर्गा जेजी, थमनबहादुर मल्ल र मोहन ज्ञवाली थपिए । मदन पौडेल, तारेन्द्र माण्डब्य, थमनबहादुर थापा, ओमकुमार सुधाकर र खेमप्रसाद गैरेहरु पनि विभन्न कमिटीमा थपिने क्रम बढ्दै गयो । गोविन्दसिंह थापा लुम्बिनी अस्पतालमा कार्यरत थिए । उनी थपिए । एकजना बर्माबाट आएका ओमकुमार सुधाकर थपिएपछि २०२४ सालमा बुटवलको दाउरे टोलमा जिल्ला कमिटी गठन भयो । जसको सचिव देवेन्द्र घिमिरे भए ।

डा.रमेशको दिमागमा पुराना कुरा ताजै छन् । उनी भन्छन्,‘कमिटी गठन भएपछि विभिन्न मोर्चाहरु बनाउनुपर्ने थियो । विद्यार्थी, महिला, किसान, मजदूर र वुद्विजीवीका मोर्चा बने । मेरो जिम्मा बिद्याथी, वुद्विजीवि र मजदूरको आयो ।’ उनी बजारको हुनुले त्यस्ता व्यक्तिको महत्व स्वतः अलि बढी हुन्थ्यो । राजनीति सर्वहाराको गरेपनि उनी खातापिता सम्पन्न परिवारका थिए । बजारमा सम्पर्क र समन्वयको काम ज्यादा हुन्छनै अहिले पनि । त्यतिवेला नहुने कुरै भएन । उनी बुटवलको ‘फोकल’ व्यक्ति थिए । पर्चा छाप्न र कसैलाई भौतिक कारवाही गर्न परे उनकै जिम्मा हुन्थ्यो । घरमै औषधी पसल भएकोले कसैलाई उपचार गर्नुपरे वा आर्थिक श्रोत जुटाउनु परेपनि जिम्मा उनकै हुन्थ्यो । हातपात गर्न अघि सर्ने उनको स्वभाव भएकोले कसैकसैले ‘गोदगाद’ कमिटीको नेता भन्थे उनलाई । पछि त्यही गोदगादलाई एक्सन कमिटी बनाइयो । जसको नेतृत्व रमेशले गरे । गोदगाद गर्न सहयोग गर्नेहरुलाई अहिले पनि उनले सम्झन्छन् । उनीहरु थिए–चित्रलाल विक, डम्वर खड्का, शैलेन्द्र शेरचन, कृष्ण सुवेदीलगायत पचास साठी जना ।

उनी रेलिमाई सांस्कृतिक मण्डलका उपाध्यक्ष पनि थिए । जसको अध्यक्ष बुद्धिबहादुर थकाली थिए । रमेशको सम्झनामा पहिला उपप्रधानपञ्च भएका थकाली टाठा थिए । तल्कालीन जनता हालको कान्ति माविका अध्यक्ष पनि थिए थकाली । सानातिना आन्दोलनहरु विद्यार्थी कालदेखि गर्दै आएका रमेशले कुराकै सिलसिलामा हाई स्कुल पढ्दाको एउटा रोचक प्रसंग यसरी सम्झिए–हामीलाई पढाउने शिक्षकले तलव पाएका रहेनछन् । एकदिन एकजना शिक्षकले गुनासो गर्दै भनेछन्–हमको तलब नही मिला, जाओ तुमलोग अध्यक्षसे वात करो । हामी अध्यक्ष बुद्धिबहादुर थकालीको घरमा गयौं र तुरुन्त तलब उपलब्ध गराउन भन्यौं । उनले हामीलाई हप्काई दप्काई गरे । हामीहरु फर्कियौं । डा. रमेशका अनुसार तिनै थकालीलाई पछि मोदनाथले पार्टी प्रवेश गराए । पछि उनको घर कम्युनिष्ट कार्यकर्ताका लागि आश्रयस्थल बन्यो ।

जनतालाई प्रभावमा पार्नका लागि विभिन्न रचनात्मक काम हुने गरेको तत्कालीन समयका दुईवटा प्रकरणलाई उनले घरिघरि सम्झिरहन्छन् । ती हुन्– ५० रुपैयाँको तमसुक र चित्रकला प्रदर्शनी ।
सांस्कृतिक मण्डलको तर्फबाट उनी पनि त्यतिबेलाको चर्चित नाटक ५० रुपैयाँको तमसुकमा खेलेका थिए । रामप्रसाद ‘प्रदीप’ को लेखन र नेतृत्वमा सो नाटक प्रदर्शन गरिएको थियो र त्यसले पञ्चायती शासकका विरुद्धमा धावा बोलेको थियो । नाटकको दोस्रो भाग लाहुर जाने धोको तयारी हुँदै थियो । अत्यन्तै मार्मिक थियो त्यो नाटक तर मण्डलेहरुले आक्रमण गरेर छिन्नभिन्न पारे । उनले रामप्रसाद ‘प्रदीप’लाई एकजना राम्रो गीत लेख्न सक्ने प्रतिभाशाली व्यक्तिको रुपमा स्मरण गरे ।

मानव महाकाव्यका सर्जक असाध्यै प्रतिभाशाली व्यक्ति मोदनाथ प्रश्रितले आफैले बनाएका चित्रहरुको प्रदर्शनी गरे । त्यसमा एउटा चित्र आज बुद्ध जन्मेको भए भनेर गौतबुद्धलाई मेसिनगन समाएको देखाइएको थियो । सो तस्वीरले खासगरी बौद्यमार्गीहरुमा असन्तुष्ठ वनायो । आपत्तिजनक चित्र प्रदर्शन गरेको भनेर ज्यादै विरोध भएपछि हटाउन वाध्य हुनुपरेको थियो ।
मोदनाथबारे उनले भने–थोरै समयमा उनले धेरै योगदान गरे । उनी हाम्रो लागि ठूलै सम्पत्ति बने । विसं.२०२५ सालतिर प्यूठानबाट वामदेव गौतम रुपन्देहीमा आए । आउँदा पार्टीको चिठी लिएर आएका थिए । ‘सो चिठी मैलेनै बुझें । किनकि म नै सम्पर्कसूत्र थिएँ ।’

गोदगाद कमिटीको प्रसंगमा उनले २०२७ सालको एउटा रोचक स्मरण गरे । लुम्विनी अञ्चल अस्पतालमा कार्यरत धेरै व्यक्ति पार्टीमा गोलबद्ध गरिएको थियो । गोविन्द सिंह थापा, सूर्या श्रेष्ठ, हरि शर्मालगायत ७ जनाको सेल कमिटी थियो । थापा पछि नेकपा मसालका शीर्ष नेता बने । भारतस्थित अखिल भारतीय नेपाली एकता समाजका अध्यक्ष भए । तिनै गोविन्दसिंह थापा अस्पतालमा सुब्बा थिए । नर्स सूर्या थापा (थापाकी श्रीमती), कृष्ण मल्ल, खेमबहादुर, रामबहादुर तथा चेतनारायण थिए । हरि अहेव र कृष्ण मल्ल कार्यालय सहयोगी थिए । एक दिन अस्पतालको भान्छामा बैठक बस्दै थियो । अस्पतालका प्रमुख डा.वैद्यानन्द वैद्यले फेला पारे । माइन्युट खोसे । रातीनै खबर आयो । उनी तत्काल चार पाँच जना साथीहरु लिएर हतियारसहित गए ।

हतियारको रुपमा खुकुरीहरु बनाउने काम बुटवल टेक्निकल इन्स्टिच्यूट (बीटीआई) मा अध्यनरत हरि पाण्डेले बनाउँदा रहेछन् । डा.वैद्य त्यही थिए । घरमा औषधी पसल भएकोले दुवैका बिच परिचय थियो । सरासर गएर रमेशले वैद्यको कोठामा ढकढकाए । शायद डाक्टरले थाहा पाएनन् । उनले जोडसँग लात्तले ढोका हानेपछि मात्र ढोका खुल्यो । उनले माइन्यूट मागे । डाक्टरले नदिए के गर्छौ भनेर सोधेछन् । उनले हामीले जसरी पनि लिनु पर्छ भनेछन् । हामी शब्द प्रयोग गरेपछि अरु पनि छन् कि भन्ने लागे होला । डाक्टरले अरु को भनेर सोधका के मात्र थिए उनले अन्य साथीहरुलाई देखाए ।

त्यसपछि डाक्टरले माइन्यूट दिँदै भनेछन्,‘मैले ख्यालठट्टा गरेको हो । म पनि बामपन्थी विचारधारा बोकेको मान्छे हुँ, मेरो घरमा चार टाउको माक्र्स, एंगेल्स, लेनिन र स्तालिनको फोटो राखेको छ । तिमीहरु लापरवाही नगर्नू, आयनदा ख्याल गर्नु ।’
दीपक बोहरा, निरञ्जन थापा र ओम मास्केहरुको चकचकी रहेको सो समयमा अञ्चलाधीस टेकवहादुर रायमाझीले वनाएको संगठन ‘मुडुला पार्टी’ को चहलपहल थियो । एकपटक शालिकराम गौतम र हाल क्यानडा रहेका लक्ष्मण केसीलाई तिनै मुडुला पार्टीका कार्यकर्ताले अस्पतालको अगाडि तत्कालीन नगर पञ्चायको ‘ब्यारियर’ निर एकजना धितालको घरमा (हाल रामप्रसाद खरेलको) कुटेछन् । गौतमको नाक पछिसम्मनै बाझिएको थियो । कुटाई खाएको लगत्तै दौडेर उनीहरु रमेशसंग गए । चित्रबहादुर विक, नगेन्द्र शेरचन, बीटीआईमा अध्यनरत हरि पाण्डेसहित पचासौं जनालाई लिएर उनी घटनास्थलमा गए । संख्या धेरैनै रहेकोले उनीहरुलाई धुलोपिठो पारे । भागाभाग भयो । गौतमको उपचार रमशेका बुवाले गर्नुभयो । बुवालाई त्यतिबेला कम्पाउण्डर भनिन्थ्यो ।

आलोचना आत्मालोचना
त्यतिबेला हरेक वैठकमा यो विषयले प्रवेश पाउँथ्यो । उनी शहरीया धनीमानी भएकोले कसैलाई चित्त बुझेन भने निम्न पुँजीवादी चरित्र भएको भनेर ओरोप लगाइहाल्थे । उनी आफैँ पनि यो विषयलाई स्वीकार्दैै भन्छन्–म राम्रा कपडा लगाउने र अत्तर छर्केर हिँड्नेमात्र हैन खुकुरी लिएर पनि हिँड्थेँ । अर्थात् म अलि मूर्ख नै थिएँ । रमेशलाई घरपरिवारले पनि कतै हुलदंगा भयो भने फसिहाल्छ कि भनेर डराउँथे । पार्टी राजनीतिमा लाग्नुअघि एकपटक पुरानो बुटवल र खस्यौलीको विवाद भएछ । पुरानो बुटवलका मान्छे खस्यौली जाँदा साथ पिट्ने अवस्था सृजना भएछ । खस्यौलीमा लाहुरेको वस्ती थियो । उनै लाहुरेहरु बन्दुक बोकेर हिँडेछन् । पुरानो बुटवलका बासिन्दा रमेश काठमाडौं गएको मौका परेछ । त्यसपछि घरपरिवार र नातासम्बन्ध पर्नेहरु यसकारण खुशी भएछन् कि कम्तीमा यसपटक ऊ बँच्यो । उनी आफैँले भनछन्– पार्टी राजनीतिमा आएपछि म धेरै सुध्रिएँ । जीवराजका भाइ हरि न्यापानेले मलाई पटकपटक सम्झाउँदै भन्थे– पार्टीमा लागेपछि कसैलाई कुटपटि गर्नु हुँदैन ।

रमेशका भिनाजु नगेन्द्रबहादुर श्रेष्ठ दरबारको राम्रै ओहोदामा कार्यरत थिए । यता अञ्चलाधिसको रुपमा सुरेन्द्रवहादुर श्रेष्ठ थिए । सुरेन्द्रले रमेशलाई सम्झाइबुझाई गर्न पटक पटक नगेन्द्रलाई भन्ने गर्थे । दरवारीया व्यक्तिको साला हुनुका कारण उनलाई सितिमिति केही गरिहाल्न पनि सक्दैनथे ।

एचएको पढाइले उनको जीवनमा रुपान्तरण भयो
रमेशको जीवनचर्या यसैगरी बितेको थियो । आइएस्सी पढ्न काठमाडौं गएका उनी पढाइ पूरा नगरी फर्के । फेरि वनारस आइए पढ्न गए । कम्युनिष्ट बनेर आए । परिवार सदस्य खुशी थिएनन् । धन सम्पत्तिको समस्या थिएन । बाबुले औषधीपसल सञ्चालन गरेकोले छोरो डाक्टर बने हुन्थ्यो भन्ने अपेक्षा थियो । रमेशको ताल आन्दोलन, क्रान्ति, परिवर्तनका कुरा गर्ने, कुटपिटमा सक्रिय हुन थालेपछि परिवारको चिन्ता बढ्ने नै भयो । यसैवबि काठमाण्डौमा हेल्थ असिष्टेन्ट (एचए) को पढाइ सुरु भयो । वि.सं. २०१९ मा नेपाल सरकारले पहिलोपटक टेकुस्थित कम्पाउण्डर टेनिङ स्कुल स्थापना गरेको थियो जुन स्कुल वि.सं. २०३२ मा त्रिभुवन विश्वविद्यालयअन्तर्गतको ३ वर्षे इन्स्टिच्युट अफ मेडिसिन (IOM) का रुपमा रूपान्तरण भएको थियो ।

एसएलसीबाट लिइने यो व्यवस्था पहिलोपटक भएको थियो । उनलाई केही साथीहरुले जान सुझाव दिए । उनी पूर्णतया राजनीतिप्रति समर्पित भइसकेका थिए । त्यसैले जीवराज आश्रितलाई सोधेर मात्र निर्णयमा पुग्ने विचार गरे । अन्ततः आश्रितले नै जान सल्लाह दिएपछि काठमाडौं गएर प्रवेश परीक्षा दिए ।

प्रवेश परीक्षा त दिए तर उनी फेल भए । भिनाजुको त्यतिविधि पहुँच हुँदा पनि अनुत्तीर्ण भएपछि रमेशका दिदीसहित परिवारका सदस्यहरु नगेन्द्रसंग असन्तुष्ठ भए । राजनीतिमा लागेर बिग्रियो भन्ने लागेको थियो परिवारलाई र कम्तीमा पढ्न थाल्यो भने सुध्रिन्छ भन्ने बिश्वास पनि थियो । अन्ततः नगेन्द्रले डिनलाई बोलाएर पाल्पातिरको एउटा केटोको के भएको हो ? त्यसलाई पढ्ने व्यवस्था मिलाउन सकिँदैन भनेर सोधे । नगेन्द्र दरबारका सदस्य भएकोले सरकारविरोधी व्यक्तिलाई आफ्नो नातापात भनेर भन्नपनि शायद उनलाई संकोच लागे होला ? अंग्रेजी, विज्ञानसहित प्रायः सबै विषयमा फेल भएकोले पढ्न सक्दैन कि भनेर भनेछन् । तथापि उनको जोडबल भएकोेले एक महिना पछि बोलाएर भर्ना भए । बुटवलमै हालसम्म सक्रिय डा.कृष्णबहादुर श्रेष्ठ र डा. प्रायश्चित श्रेष्ठ, काठमाण्डौमा कार्यरत डा.चोपलाल भुषालहरु सोही ब्याजका विद्यार्थी हुन् ।

कमजोर हुनुको कारण प्रवेश परीक्षामै अनुत्तीर्ण, त्यसमा पनि एक महिना पछि पढ्न थालेका रमेशलाई भर्ना प्रक्रियामा बेहोर्नुपरेको कठिनाइले पेचिलो बनायो । मेहनतपूर्वक अध्ययन गर्न थाले । जसको परिणाम उनी पाँचवटै सेमेष्टरमा उत्कृष्ट भए । एक अर्थमा उनले छलाङ मारे । त्यति गर्दा पनि उनलाई राजनीतिको नशाले छोडेको थिएन । तर पार्टी राजनीति हैन विद्यार्थी राजनीतिले । चोपलाल भुषालले नेविसंघ र रमेशले अखिलको नेतृत्व गर्दथे । जे होस् अन्ततः उनी उत्कृष्ठ नम्बरका साथ हेल्थ असिष्टेन्ट भए । परिवारका सदस्यको इच्छा पूरा भयो । उनको पढाइ यतिमै रोकिएन । ठिक त्यही बेला रसियाले छात्रवृत्ति दिने गर्दथ्यो । पहिलो पटक हेल्थ असिष्टेन्टमा एकजनालाई मात्र एमबीबीएसको कोटा थियो । पञ्चायत विरोधी राजनीति गर्नेभएकोले उनको नाम सिफारिस हुने सम्भावना त थिएन तर रसियालेनै उत्कृष्टलाई दिने भनेपछि उनी स्वतः छानिए ।

अब उनलाई पासपोर्ट चाहिन्थ्यो । त्यतिवेला पुलिस रिपोर्ट बुझ्ने चलन थियो । शायद रिपोर्ट गए होला, उनको पासपोर्ट धेरै कोशिस गर्दा पनि बनेन । अन्ततः यो कुरा फेरि भिनाजु नगेन्द्र श्रेष्ठकहाँ पुग्यो । पाल्पाका चुडावहादुर हमाल परराष्ट्रमा थिए । नगेन्द्रले हमाललाई सोधेछन्–किन बनेन ? हमालले भनेछन्– पुलिस रिपोर्टनै बिग्रेर आएको छ, कसरी दिने ? बुटवलको पुलिसले कसरी सिफारिस गरोस् ? खासमा उनी रुपन्देहीको कम्युनिष्ट पार्टीका संस्थापक नै त थिए ।
अन्ततः नगेन्द्रले शिक्षा मन्त्रालयको सिफारिस भएपछि रिपोर्ट चाहिँदैन, पासपोर्ट दिनु भनेपछि बल्ल पासपोर्ट बन्यो र उनको डाक्टर बन्ने यात्रा सुरु भयो । संयोग रसियामा पनि उनले उत्कृष्ट नम्वर ल्याएर अनर्समा उत्तीर्ण गरे ।

नेपाल फर्केपछि सुर्खेत पहिलो पोस्टिङ भयो । करिब साढे ६ वर्ष सुर्खेतमा बसेपछि नेपाल सरकारले नाककान घाँटी (इएनटी) अध्ययनका लागि अवसर प्रदान ग¥यो । । त्यस यता उनी व्यावसायिक रुपले चिकित्सकको भूमिकामा छन् । बेलाबखत नेताहरुसंग भेटघाट हुन्छ । कम्युनिष्ट पार्टी टुटफुट हुँदै जाँदा उनीसँग कुनैबेला मोहनविक्रम सिंह पनि भेट गर्न आएको बताउँछन् । सिंहले पुष्पलाललाई गद्वार भनेको चित्त बुझेको थिएन । पुराना कतिपय दस्तावेजका बारेमा उनी फटाफट बोल्छन् । पुष्पलालको नयाँ जनवादी क्रान्ति, मोहनविक्रमको गद्वार पुष्पलाल र अरु धेरै कुरा उनलाई ताजै छ । एकपटक मोहन विक्रमले पुष्पलाललाई वीपीसंग पैसा खाएको भनेर आफूतिर तान्न खोजेका रहेछन् । तर उनले वडो स्पष्टसँग भनेछन्– मैले कैयौंलाई संगठित गरेको छु, म तँपाईको हुन सक्दिनँ । तर पनि यो सुनेपछि यसबारे कुरा के हो भनेर उनले पुष्पलाललाई सोध्दा उनले इमान्दारिपूर्वक भनेछन्– महाधिवेशनको समयमा सहभागीलाई खाना खुवाउने प्रयोजनका लागि दुईचार हजार रुपैयाँ लिएको सत्य हो । पुष्पलालको कोठामा बेलाबखत बस्ने खाने गरेका रमेश भन्छन्–पुष्पलाल अत्यन्तै दुःख गरेर बसेका हुन्थे । म त असाध्यै प्रभावित भएको हुँ ।