

बुटवल । नेपाली मूलका रेडियो कार्यक्रम निर्माता तथा सञ्चालक प्रदीप तिमल्सिना अष्ट्रेलियामा ‘कम्युनिटी इम्प्याक्ट अवार्ड २०२५’ बाट सम्मानित भएका छन् । अष्ट्रेलियाको बहुभाषिक तथा बहुसांस्कृतिक समुदायको प्रवद्र्धनमा क्रियाशील नेशनल इथ्निक एण्ड मल्टीकल्चरल काउन्सिल अफ अष्ट्रेलियाले उनलाई यो सम्मान प्रदान गरेको हो ।
एफएम ९१.१ क्यान्बेराबाट प्रसारण हुने नेपाली भाषाको रेडियो कार्यक्रम ‘मल्टीकल्चरल भ्वाइस’ का निर्माता तिमल्सिना यस वर्ष ‘इनोभेटिभ मल्टीकल्चरल प्रोग्राम’, ‘बेष्ट इथ्निक प्रोग्राम अफ द एयर’ र ‘कम्युनिटी इम्प्याक्ट’ गरी तीन विधामा मनोनयनमा परेका थिए । सम्पूर्ण अष्ट्रेलियाभरबाट आठ विधामा ५१ जना उम्मेदवार मनोनित भएका थिए ।
मेलबर्नमा शनिबार आयोजित एक विशेष कार्यक्रममा प्रदीप तिमल्सिनालाई सो पुरस्कार प्रदान गरिएको हो । अष्ट्रेलियाली सञ्चार विज्ञहरूले उनका कार्यक्रमहरूको गुणस्तर, सामग्रीको प्रभावकारिता र समुदायमा परेको सकारात्मक प्रभावको मूल्यांकन गर्दै उनीलाई विजेता घोषित गरेका थिए ।
पुरस्कार ग्रहणपछि तिमल्सिनाले भने, ‘यो सम्मानले मलाई थप जिम्मेवारी बोध गराएको छ । म समुदायप्रति अझ समर्पित र कर्तव्यनिष्ठ भएर लाग्नेछु ।’ सन् २००८ मा अष्ट्रेलिया पुगेका तिमल्सिना सुरुदेखि नै सामुदायिक रेडियो संलग्नतामा क्रियाशील छन् । उनले सिड्नीस्थित नर्थ शोअर रेडीयोमा ६ वर्ष तथा पछिल्ला ११ वर्षदेखि क्यान्बेरामा नेपाली रेडीयो कार्यक्रम सञ्चालन गर्दै आएका छन् । उनले टेलिभिजन सिड्नीमा पनि नेपाली कार्यक्रम सञ्चालन गरेका थिए ।
रेडीयो तथा टेलिभिजन कार्यक्रम निर्माण र सञ्चालनबाहेक तिमल्सिना सामुदायिक गतिविधिमा समेत सक्रिय छन् । उनी नेशनल इथ्निक एण्ड मल्टीकल्चरल काउन्सिल अफ अष्ट्रेलिया र कम्युनिटी मिडिया ट्रेनिङ अर्गनाइजेशन अष्ट्रेलियाका कार्यकारी निर्देशक हुन् । साथै, अष्ट्रेलियाली संचार मन्त्रालयअन्तर्गत कम्युनिटी ब्रोडकास्टिङ फाउन्डेशनको आर्थिक अनुदान मूल्यांकनकर्ताको भूमिकामा समेत उनी क्रियाशील छन् । उनका सबै सामाजिक योगदान निस्वार्थ र स्वेच्छिक छन् ।
अर्को पेशाका रुपमा रजिष्टर नर्ससमेत रहेका तिमल्सिना हाल क्यान्बेरा अस्पतालको मानसिक स्वास्थ्य विभागमा क्लिनिकल म्यानेजरका रूपमा कार्यरत छन् । तिमल्सिनाको यो सफलता अष्ट्रेलियामा नेपाली समुदायको पहिचान, क्षमता र योगदानको सशक्त प्रतीक बनेको छ ।