मृत्युदेखि मोक्षसम्म

मेचीकाली संवाददाता

२६ जेष्ठ २०८२, आईतवार
170 shares

कमल पन्थी

जातस्य हि ध्रुवो मृत्यु अर्थात् जन्मेपछि अवश्य मर्नु पर्छ । सबैले बुझेको कसैले पनि अनुभूति नगरेको रहस्य हो मृत्यु । आयु, भाग्य, सम्पत्ति, विद्या र मृत्यु यी पाँच कुरा मानिसले आमाको गर्भबाट जन्मदै लिएर आएको हुन्छ भन्ने मान्यता छ । मृत्यु अवश्यम्भावी र पीडादायी हुन्छ, चाहे त्यो स्वाभाविक होस वा अस्वभाविक । मृत्यु अन्तिम सत्य हो । साश्वत सत्य हो । मृत्यु भनेको चेतनासून्य, हृदय सुन्यअनि अनुभुति सून्य हुनु हो । शरीर, मन, आत्मा र इन्द्रियहरुको संयोग आयु हो । यसको वियोग मृत्यु । मृत्यु भारी बिसाउने चौतारो हो । सम्वन्धलाई हवन गर्ने कुण्ड हो तसर्थ जन्मले भन्दा मृत्युले वढी महत्व राख्छ । श्वास गएपछि भौतिक शरीरको नाम रहँदैन लास (शव) बन्छ । लासमा श्वास र आश दुवै हुदैन । लासको जतिसक्दो छिटो व्यवस्थापन गर्न मानिस हतारिन्छ । श्वास छउन्जेलको माया ममताको शरिर अव छुन पनि निश्चित व्यक्तिलाई मात्र अनुमती मिल्छ । शरीरबाट चेतना गएपछि शरीर लासमा परिणत हुने न हो ।

मलामीः मृतकका परिवार र आफन्तलाई शान्त्वना दिदै पीडामा मलम लगाउँदै लाश बोकेर घाट पु¥याउने मानिस मलामी हुन् । शोकाकुल परिवारजनलाई तिमीहरु शोक र दुःखमा प¥यौ, यस कठिन, संवेदनशील घडीमा हामीहरु तिम्रो साथमा छौँ, सबै प्रकारका सहयोगका लागि पनि तयार छौँ नि भन्ने पनि सामाजिक सन्देश प्रवाह गरिरहेको हुन्छ । शवलाई अन्तरयामी शिवमा अर्पण गरिने हुँदा शवयात्रा वा शिवयात्रा भनिएको हो । शिव ध्यान अवस्थामा रहने हुँदा शवयात्राका मलामी अनावश्यक बोल्न वर्जित हुन्छ । जीवात्माले त्यागेको लाश ल्याउँदैछाँै मुक्त गराई दिनुहोस् भन्दै महादेवलाई मलामीहरुले एकोहोरो शङ्ख बजाउदै प्रार्थना गर्छन् । कुनै माङ्गलिक कार्य वा पूजामा दोहोरो बजाईने शङ्ख मलामीले एकोहोरो बजाँउदा शोकको संकेत गरिरहेको हुन्छ । अघि युद्धमा शत्रुपक्षलाई हाँक र स्वपक्षलाई उत्साह दिन शङ्ख बजाइने गरिन्थ्यो । महाभारत युद्ध पनि दुवै पक्षवाट शङ्ख बजाएर शूरु गरिएको थियो । शङ्खध्वनिले साइरनको काम गर्छ । शङ्खको चर्को आवाजले पूर्णमृत्यु नभएको भए शवलाई जगाउँछ, ब्यूताउन पनि सक्छ भन्ने परम्परागत मान्यता पनि हो ।

बन्धुबान्धवहरु (वंशज÷दाजुभाइ)ः पहिले मलामीको सबै जिम्मेवारी बन्धुबान्धवहरुवाट निर्वाह गर्ने प्रचलन र परम्परा थियो । अहिले सूचना, प्रविधि, बसाइसराइ, चेतना र सामाजिक संजालले नेपाली समाजमा क्रमशः धेरै परिवर्तन ल्याएको छ । खासगरी बढ्दो बसाईसराईले मलामीमा बन्धुबान्धव भन्दा छिमेकी, इष्टमित्र, आफन्त र नातागोता जाने गरेको पाईन्छ । हामीहरुले आफ्ना बन्धुबान्धव(वंशज÷दाजुभाइ)को यसरी पहिचान गर्न सक्छौँ । सात पुस्ता भित्रको दाजुभाइ सपिण्ड, आठ पुस्तादेखि चौध पुस्तासम्मको दाजुभाइ सोदक वा समानोदक, पन्ध्र पुस्तादेखि एक्काइस पुस्तासम्मको दाजुभाइ सगोत्र, एक्काइस पुस्तादेखि माथिको दाजुभाइ साधारण गोत्र हो । यो पहिचान हुनु निकै जरुरी भइसकेको छ तसर्थ यस विषयलाई छुट्टै बहसको विषय बनाउँला ।

मशानघाटः गर्भाशयको कुण्डवाट शुरु भएको मानव जीवन मशानघाटमा टुगिन्छ । जीवित अवस्थामा मानिस घरमा वस्छ भने मृत्युपछि घाटमा । यता न उताको कतै न कतैको अवस्थालाई घरको न घाटको पनि भन्ने गरिन्छ । जहाँ लाशहरु सुत्छन् त्यो मशानघाट हो । आत्मा र परमात्माको संयोजन गर्ने स्थल नै मशानघाट हो । मसानघाट पाञ्चभौतिक शरीरलाई विसर्जन गर्ने तीर्थस्थल, भौतिक जीवनको यात्रा समाप्त हुने देवस्थल र इच्छाआकांक्षाहरुले समाधि लिने पुण्यस्थल पनि हो । सामान्य मानिसको शरीरदाह गर्दा नेपालमा प्रचलित पद्धती, ग्रन्थहरुमा विद्वान्हरुको मतअनुसार दक्षिणतर्फ शवको शिर फर्काउनु पर्ने उल्लेख गरिएको छ । अधिकांश स्थानमा यही नै प्रचलन रहेको छ । शवलाई अन्तरयामी शिवमा अर्पण गरिने र शिवजी हिमालयमा रहने हुनाले शिव दर्शनार्थ पनि उत्तम देखिन्छ ।

कर्मको बन्धनले बाँधेर पुनः पृथ्वीमा आउन नपरोस भन्दै मृतकले लगाएका कपडा, गहना फुकालिन्छ । जन्मदा जस्तो आएको उस्तै बनाई शवलाई शिवमा अर्पण गरिन्छ । यहाँ कुनै वरवुझारथ हुँदैन । जान्छ त केवल पुण्य र छाड्छन त केवल सुकर्मको किर्ति।जसलाई जन्माउँछ, पाल्छ, हुर्काउँछ, बढाउँछ, प्राण सम्झन्छ त्यही सन्तानले मशानघाटमा अग्निदानम (दागवत्ती) बाट विदाई गर्छन् । रुदै आगो लगाउँछन् । त्यही पनि मुखैमा कपोतावशेषम (दाहसंस्कार गर्दा परेवाको आकारमा बाँकी रहेको शवको अंश) बाहेक केही समयमा लास खरानीमा परिणत हुन्छ । हरेक वस्तुको अन्तिम अवस्था खरानी हो । खरानी भएपछि मूलरुपमा फर्काउन सकिँदैन । खरानी अन्तिम सत्यहो । मशानघाटमा लाश चीतामा जलिरहदा संसार झुटा देखिन्छ । घर पुगेपछि त फेरी सांसारिक मायाजालमा परिन्छ । मशानघाटको क्षेणिक वैराग्य मशाने वैराग्य हो ।

मृत्यु संस्कारः शवको अन्तिम संस्कार नै मृत संस्कार हो । मृत्यु संस्कारआफ्नो धर्म, संस्कार, परम्परा र रीतिरिवाजअनुसार विधिवत गरिनु पर्छ । अन्यथा मृतकको आत्माले सताइ रहन्छ भनिन्छ । मृत्यु विज्ञानका अनुसार शव जलाएपछि ५० प्रतिशत, तेह्र दिनको विधिवत काज किरियापछि ८० प्रतिशत र एक वर्षसम्म विधिवत पिण्ड दिँदै गएपछि १०० प्रतिशत परिवारमा शोक कम हुन्छ अनि मृत्यु भएको मानिस पितृमा परिणत भएको मानिन्छ । यसको अर्थ अन्त्येष्टी तुरुन्तै गरिनु पर्छ भन्ने हो । राजा दशरथको मृत्यु हुँदा राम र लक्ष्मण वनवास थिए भने भरत मामाघरबाट आउन ढिला भएकाले शवलाई तेलमा राखिएको थियो भनिन्छ । अहिले पनि मृतकका सन्तान विदेश भएको अवस्थामा आइपुग्ने समयसम्म शवगृहमा व्यवस्थित तरिकाले राख्ने गरिन्छ । यी र यस्तै वाध्यात्मक परिस्थितिका कुराहरु न भए । मृतकको बर्ष दिन नपुग्दासम्म हरेक साँझ तुलसीको मठ वा पवित्रस्थलमा बत्ती वालेर मृतकलाई मुक्त गराइन्छ । तमसोमा ज्योतिर्गमय अर्थात् अध्यारोबाट उज्यालोतर्फ लम्कने हाम्रो संस्कृति र पुर्खाको सन्देश पनि छ । वर्षदिनको पुण्य तिथिपछि प्रेतहरु पितृ हुन्छन् । पीतृहरु दक्षिणतर्फ वस्ने भएकाले तर्पण दिदा बत्ती बाल्दा दक्षिण फर्किन्छ ।

श्राद्धः श्राद्धका प्रकार
पितृको आदर, सम्मान र स्मरण नै श्राद्ध हो । श्राद्धको अर्थ श्रद्धा हो।आफना पितृहरु प्रतिको श्रद्धा हो । हिन्दू सनातनी संस्कारमा धेरै सुन्दर पक्षहरु छन् । जीवित सबै आफन्तका लागि सम्मान व्यक्त गर्न विभिन्न पर्वहरु भए जस्तै मृत्युवरण गरेका पितृहरूलाई सम्झनका लागि पनि विशेष समय छुट्याइएको छ, त्यो हो श्राद्ध अनि सोह्रश्राद्ध । दिवंगत मातापिता, पितामह, परपितालगायतका सकल पितृजनहरुलाई निष्ठा, भक्तिपूर्वक श्रद्धा व्यक्त गरी विधिपूर्वक श्रद्धान्जली व्यक्त गर्नु नै सच्चा श्राद्ध गर्नु हो ।
सोह्र श्राद्धको कथा महाभारतका एक प्रमुख पात्र दानवीर कर्णसँग सम्बन्धित छ । कर्र्णको मृत्युपश्चात उनको आत्मा स्वर्गमा पुग्छ । स्वर्गमा ठुलो सम्मान हुन्छ । तर खाना खानेबेलामा भोकाएका कर्णलाइ सुनको थालमा राखेर सुन नै खानका लागि दिइन्छ । सुन खाने कुरा भएन, अति भोक लागेपछि कर्णले स्वर्गका राजा इन्द्रसँग आफूलाई खानाको साटो किन सुन दिइयो भनेर सोध्छन् । कर्णले सधै सुन मात्रै दान गरेकाले खानाको रूपमा सुन पाएको जवाफ पाउँछन् । दानी भनेर कहलिएका कर्णले कहिल्यै कसैलाई खाना, बस्त्र जस्ता कुरा दान गरेका हुँदैनन् । अब के गर्ने ? इन्द्रसँगको सल्लाहमा कर्ण स्वर्गबाट १६ दिनका लागि पृथ्वीमा आएर भोजन र जल दान गर्छन् ।

धर्मशास्त्रमा वर्णित श्राद्धका प्रकार
–सपिण्डन श्राद्धः मरेको बाह्राँै दिनमा मृतकलाई पिण्डदान दिदा पिण्डलाई तीन पुस्ताका सपिण्डिसंग मिलाउने वा जोड्ने श्राद्ध कर्म ।
–नैमित्तिक श्राद्ध माता पिता आदि मध्ये कसैको मृत्यु तिथिमा गरिने एकोदिष्ट श्राद्धलाई नैमित्तिकश्रद्ध भनिन्छ ।
–पार्वण श्राद्धः अमावश्यमा गरिने अथवा पर्वहरुमा गरिने श्राद्ध हो।मृतकको रोकिएको तिथि अमावश्य तिथि र सोह्र श्राद्धमा गरिने श्राद्ध पार्वण श्राद्ध हो ।
–नान्दीमुख श्राद्धः शुभकार्यको प्रारम्भमा गरिने मांगलिक श्राद्ध । यो श्राद्ध गरेपछि आयोजना गरेको विवाह व्रतवन्धलगायतका धार्मिक अनुष्ठानहरु जति अवधिका भएपनि विचमा जुठो (आशौच), सूतक परे पनि नलाग्ने भन्ने सामाजिक प्रचलन रहेको छ ।
–गोष्ठी श्राद्धः सामाजिकरुपमा अनेक विद्वान्हरुले एकसाथ मिलेर सुख सम्पती र पितृहरुको तृप्तीका लागी सामूहिक रुपमा गरिने श्राद्ध हो । तर यसको आधिकारिक निकायवाट विरोध भै रहेको छ । यसरी श्राद्ध गर्दा पितृहरुको उद्धार नहुने भनिन्छ ।
–यात्रा श्राद्धः यात्राको सुरु र अन्त्यमा घ्यूद्वारा गरिने श्राद्ध ।
–नित्य श्राद्धः दिनदिनै गरिने श्राद्ध नित्य श्राद्ध हो । यसको सम्भावना निकै कम रहेकाले जलद्वारा भए पनि नित्यश्राद्ध गर्नुपर्छ ।
–काम्य श्राद्धः अभीष्ट (इच्छा वा अभिलाषा) सिद्धिका लागी गरिने श्राद्ध हो ।
–वृद्धि श्राद्धः अभ्युदय वा वृद्धी हुदा गरिने श्राद्ध हो ।
–शुद्धीश्राद्धः शुद्धिका निमित्त ब्राम्हण भोजन गराई सम्पन्न गरिने श्राद्ध ।
–पुष्टी श्राद्धः शरीर र अर्थवृद्धिका लागि गरिने श्राद्ध ।

यदि कसैले अरुको घरमा आफ्ना पितृहरुलाई तृप्ती गराउन श्राद्धादी कर्म गर्छ भने त्यो कर्म त्यस घरका मालिकका पितृहरुले हठपूर्वक हरण गर्ने भएकाले आफ्नो स्वामित्व भएको घरमा गर्नुपर्छ । अन्यथा पवित्र नदीको किनारमा दक्षिण तर्फ ओरालो जमिन पारेर गर्नुपर्छ । तर उचित काल, देश,पात्र एवं स्थानअनुसार उचित विधिद्वारा पितृहरुलाई लक्षित गरी गरिने कर्म श्राद्ध भएकाले वाधा अडचन फुकाउने विधि पनि रहेको पाइन्छ ।

यसरी जीवित रहँदा अन्न पानीको शरिर भनिएझै पितृहरुलाई पनि भोजन र जल चढाउने गरिन्छ ।
‘देवताले दिए पनि पितृहरुले हर्छन्’ भन्ने जस्ता उक्तिले पनि श्राद्धको महत्वलाइ थप बल मिलेको देखिन्छ । जीवित रहँदा व्यक्तिका अवगुण र कमजोरी भए पनि सबै बिर्सेर गुणमात्रै सम्झने जुन नेपाली समाजको चरित्र छ त्यो श्राद्धको प्रभावसँग सम्वन्धित हो जस्तो देखिन्छ । विधिपूर्वक र आफ्नो शक्तिअनुसार श्राद्धद्वारा प्रसन्न तुल्याइएका पितृहरुले आफ्ना सन्ततीहरुलाई आयु, सन्तान, धन, विद्या, राज्य, सुख, स्वर्ग र मोक्ष प्रदान गर्छन भन्ने शास्त्रीय मान्याता रहेको छ । (सन्दर्भ सामग्रीः निर्णयसिन्धु र शिवलिङ्ग भित्रको विज्ञान, बुटवल)