प्रेस सेन्टरद्वारा समावेशी पत्रकारिता तालिम सुरू

मेचीकाली संवाददाता

२६ जेष्ठ २०८२, आईतवार
41 shares

बुटवल, जेठ २५ (मेसस) । प्रेस सेन्टर नेपाल रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा समावेशी पत्रकारिता क्षमता विकास तालिम आइतबारदेखि बुटवलमा सुरु भएको छ । प्रेस सेन्टर नेपाल रुपन्देहीका अध्यक्ष विष्णुप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेयले पत्रकार समाजको ऐना भएकाले सत्यतथ्य समाचार र विचारलाई प्रभावकारी ढंगले प्रस्तुत गर्नुपर्ने बताए । पाण्डेयले आफू निर्वाचित भएर आएपछि बुटवलबासीको हितका लागि भौतिक पूर्वाधार तथा विकास निर्माणका कामहरुलाई अगाडि बढाएको बताए । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले बोल्दै पत्रकारले बुटवल उपमहानगरपालिकाका राम्रा कामको मात्रै प्रशंसा नगरी नकारात्मक भएमा त्यसको पनि सुझाव दिन आग्रह गरिन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेल, महासंघ लुम्बिनी प्रदेश उपाध्यक्षद्वय रामप्रसाद आचार्य, मिना ढकाल, महासंघ रुपन्देही अध्यक्ष दिनेश पाण्डे, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य तथा फोनिजका केन्द्रीय उपाध्यक्ष सरु राना, अग्रज पत्रकार मदनलाल पौडेललगायतले मन्तव्य राखेका थिए ।
तालिमको पहिलो दिनको सेशनमा समाजवादी प्रेस संगठन रुपन्देहीका अध्यक्ष तथा पत्रकार विनोद परियारले मिडियामा दलितहरुको सवालका विषयमा सहजीकरण गरेका थिए । जेठ २५ गतेदेखि सुरु भएको तालिम २७ गतेसम्म सञ्चालन हुनेछ । प्रेस सेन्टर रुपन्देहीका उपाध्यक्ष माया केसीको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन सचिव सोनु थापाले गरेका थिए ।