सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट र लाइनिङ’को काम तीब्र

–भौतिक प्रगति ५४ र वित्तीय प्रगति ४८ प्रतिशत

मेचीकाली संवाददाता

२७ जेष्ठ २०८२, सोमबार
98 shares

रमेश पराजुली

बुटवल। गएको माघमा ‘ब्रेक थु्र’ पछि निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको कामले गति लिएको छ । ‘टर्नेल’ मा अहिले ‘इन्भर्ट र लाइनिङ’ को काम धमाधम अघि बढेको छ । मुख्य टर्नेलको कुल एक हजार ८९ मिटरमध्ये इन्भर्टको काम ९९० मिटर र लाइनिङको एक हजार १२६ मिटरमध्ये ६६० मिटर काम सकिएको आयोजनाकी इन्जिनियर सविता ज्ञवालीले बताइन् । मुख्य सुरुङको इन्भर्टको काम उत्तरतर्फ ४८० मिटर र दक्षिणतर्फ ५१० मिटर काम भएको छ । यस्तै मुख्य सुरुङमा लाइनिङको काम भने उत्तरतर्फ ३२० मिटर र दक्षिणतर्फ ३४० मिटर सकिएको छ ।

बाइपास–१ मा ‘इन्भर्ट र लाइनिङ’ को काम भइरहेको जनाउँदै बाइपास–३ मा ‘इन्भर्ट’ को काम सुरु भएको इन्जिनियर ज्ञवालीले बताइन् । यस्तै बाइपास–१ मा १५१ मिटर रहेकामा इन्भर्टको १४५ मिटर र लाइनिङको ११८ मिटर काम भइसकेको छ । बाइपास–२ मा १६१ मिटर छ । यहाँ अहिलेसम्म इन्भर्ट र लाइनिङको काम सुरु भएको छैन् । बाइपास–३ मा १३० मिटर छ । जसमा इन्र्भटको ३६ मिटर काम भइसकेको छ । लाइनिङको काम भने सुरु भएको छैन ।

यस्तैगरी स्लोप प्रोटेक्सनको दक्षिणतर्फ २ हजार ३०० मध्ये एक हजार ४९५, उत्तरतर्फ एक हजार १०० मध्ये ४९५, एमआरवान माउन्टेन साइड ९ हजार ६२० मध्ये ४८१, एमआरटु माउन्टेन साइट ७ हजार ४४० मध्ये १४१४ स्वायर मिटर काम भएको आयोजनाले जनाएको छ । यस्तै एमआरवान रिभर साइड र एमआरटु रिभर साइडतर्फ काम सुरु भएको छैन । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–तानसेन खण्डको सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको अहिलेसम्मको समग्र भौतिक प्रगति ५३.४१ प्रतिशत पुगेको छ । त्यस्तै, वित्तीय प्रगति ४७.८ प्रतिशत रहेको छ ।
अब भित्तामा कङ्क्रेटिङ गर्ने, सडक निर्माण, सुरुङभित्र ढलान, भेन्टिलेसन, लाइनिङ, विद्युत् जडान, अक्सिजन वारपार, सुरक्षाका उपाय, आगो निभाउने यन्त्र जडानलगायत काम गरिने इन्जिनियर ज्ञवालीले जानकारी दिइन् । त्यसपछि सुरुङमार्गको उत्तर र दक्षिणपट्टि हेलिप्याड निर्माणको काम सुरु हुने उनको भनाइ छ ।

कुल एक हजार १२६ मिटर लामो सुरुङमार्ग विसं. २०७९ देखि निर्माण सुरु भएको हो । यो आयोजनअन्तर्गत मुख्य सुरुङको ‘ब्रेक थ्रु’ गएको माघमै भइसकेको छ । यो आयोजना निर्माणको काम चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सीएससीइसी) ले गरिरहेको छ । यो आयोजनाको विसं २०७८ साल फागुनमा सीएससीइसीसँग ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । ठेक्का सर्तअनुसार निर्माण सुरु भएको ५ वर्षभित्र अर्थात् विसं २०८३ चैतमा निर्माण सम्पन्न गर्नुपर्ने हुन्छ । यसको निर्माणपछि समेत सोही कम्पनीले पाँच वर्षसम्म मर्मतको काम गरिदिनुपर्ने सर्त छ ।

सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरबाट पाल्पाको दोभानसम्म पहिरोको जोखिमयुक्त क्षेत्र मानिन्छ । सुक्खायाममा पनि धुले पहिरो खस्ने गरेकाले राजमार्गको यस खण्डलाई सुरक्षित बनाउन सुरुङमार्ग निर्माण गरिएको इन्जिनियर ज्ञवालीले बताइन् । यसअघि पहिरोका कारण क्षति ब्यहोर्नाका साथै त्रासदीमा यात्रा गर्नुपर्ने बाध्यतामा रहेका यात्री सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएपछि खुसी भएका छन् । यहाँ हरेक वर्ष जाने पहिरोले जनधनको क्षति हुने गरेपछि सुरुङमार्ग निर्माण थालिएको हो । छिचोलिएको सुरुङमार्गमा एक वर्षपछि नियमित रूपमा सवारी आवागमन हुने आयोजनाले जनाएको छ । बजेट सुनिश्चित भएपछि काम तीव्र गतिमा भइरहेको इन्जिनियर ज्ञवालीले उल्लेख गरिन् । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा यस खण्डका लागि रकम विनियोजना गरेपछि समयमा काम सम्पन्न हुने उनले विश्वास व्यक्त गरिन् ।

सरकारले पाल्पा–सिद्धबाबा खण्डमा निर्माणाधीन सुरुङमार्ग र नागढुङ्गा सुरुङमार्गका लागि रु दुई अर्ब ६० करोड बजेट विनियोजन गरेको छ । यो सडकलाई तराई र पहाड जोड्ने लाइफलाइन सडक मानिन्छ । यो सडक खण्ड प्रयोग गरी गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बागलुङ तथा म्याग्दीसम्म सवारीसाधान आवतजावत गर्छन् ।