

अमृत गिरी
बुटवल । भारततिरबाट सीमा काटेर, भन्सार छलेर चन्द्रौटासम्म साइकलमा यात्रा गर्दै नेपाल आइरहेका एकजनालाई गस्तीमा रहेको प्रहरीले रोकेर सामान्य केराकार गर्न खोज्यो । प्रहरीले रोकपछि नै आत्तिएपछि साथमा रहेको झोला खोल्न लगाइयो । झोला खोल्दा लाख–लाखका बिटामा रहेका नेपाली नोट र नोट गन्ने मेसिन भेटियो । साइकलमा एउटा फाटेको बोराको पुरानो झोला भिरेर भारतबाट सीमा र भन्सार कटेर कैयौं किलोमिटर यता आइरहेको व्यक्तिको साथबाट करिब ४३ लाख रुपैयाँ नेपाली नोट र पैसा गन्ने मेसिन फेला प¥यो ।
यस्ता दृष्टान्त अरु पनि छन् । नेपाल भारत सीमावर्ती तराईका विभिन्न क्षेत्रबाट यस्ता प्रकृत्तिका घटना एकपछि अर्को भइरहेका छन् । जहाँ भारियामार्फत् लाखौं रुपैयाँ नेपाली र उत्तिकै परिणममा विदेशी मुद्राहरु यसैगरी बरामद भएका छन् ।
केही महिना अघिको यो घटनामा पक्राउ परेकालाई प्रहरीले राजस्व अनुसन्धान कार्यालय बुटवलमा पठायो । राजस्व अनुसन्धान कार्यालयले संवैधानिक परिधिभित्र रहेर अनुसन्धान अगाडि बढायो ।

स्रोत नखुलेका यस्ता रकमसहित सीमावर्ती क्षेत्रबाट प्राय भारतीय नागरिक समातिने गरेका छन् । उनीहरु भरियाका रुपमा रहेको र त्यसको जरोसम्म पुग्न नसकेको प्रहरी तथा अनुसन्धानमा खटिएकाहरुको भनाइ छ । बुटवल आसपासबाट मात्रै ३ करोड ४६ लाखभन्दा धेरै अवैध रकम बरामद भएको छ । चालु आवमा भएको बरामदको विवरण हो यो ।
भारतीयहरुले भारततिरैबाट लाखौं लाखका नेपाली रुपैयाँ कसरी ल्याइरहेका छन् ? के हो यसको स्रोत ? अनुसन्धानमा खटिएकाहरुका अनेकौं अड्कालबाजी भएपनि यसको तथ्य कुरा अहिलेसम्म बाहिरिएको छैन ।
एक वर्षमा ढेड करोड भारु र एक करोड ९१ लाख भन्दा धेरै स्रोत नखुलेको नेपाली मुद्रा बरामद
राजस्व अनुसन्धान कार्यालय बुटवलले चालु आर्थिक वर्ष २०८१/८२ को जेठ महिनासम्ममा अवैध रूपमा अर्थात् स्रोत नभएको ओसारपसार गरिएका विभिन्न मुद्रासहित ३ करोड ४६ लाख ५५ हजार ८ सय ८० रुपैयाँ जफत गरेको छ । यसमध्ये भारु मात्रै एक करोड ५५ लाख भन्दा धेरै छ भने नेपाली रकम एक करोड ९१ लाखभन्दा धेरै रहेको राजस्व अनुसन्धान कार्यालय बुटवलले उपलव्ध गराएको विवरणमा छ ।
भारु, अमेरिकी डलर, युएई दिराम तथा नेपाली रुपैयाँजस्ता मुद्राहरूको हवाला कारोबार, सीमा पार ओसारपसार र बिना वैधानिक स्रोत सञ्चालित वित्तीय गतिविधिमा संलग्न समूहहरूमाथि निगरानी कडा बनाउँदै उक्त रकम जफत गरिएको अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेले जानकारी दिए ।

स्रोत नखुल्ने रकमसहित प्राय भरिया मात्रै पक्राउ
राजस्व अनुसन्धान टोली र नेपाल प्रहरीको संयुक्त प्रयासमा विभिन्न गाडी, यात्रु र झोलाबाट सो रकम जफत गरिएको अनुसन्धान कार्यालयले जनाएको छ । विशेषगरी बुटवल, मर्चवारी, बेलहिया, रैनादेवी, चम्पानगर तथा कपिलवस्तुको कृष्णनगरलगायतका सीमावर्ती क्षेत्रहरूमा निगरानी कडा पारिएको छ । सोही क्रममा यस्ता अवैद्य रकमसहित भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरुसंगको सोधपुछ अनुसन्धान जति नै लम्बाएपनि असली मालिकसम्म पुग्नै नसकिएको एकजना अनुसन्धान अधिकृतको भनाइ छ ।
१४ फरक घटनामार्फत जफत
यो अवधिमा कार्यालयले १४ वटा फरक–फरक मुद्दा र घटनाहरू मार्फत अवैध रकम नियन्त्रणमा लिएको हो । तीमध्ये सबैभन्दा ठूलो कारबाही २०७२ साल वैशाख २५ गते गरिएको थियो, जसमा एक व्यक्तिसँग ५० लाख नेपाली रुपैयाँ र ८ लाख रुपैयाँ बराबरको भारतीय रुपैयाँ बरामद गरिएको थियो । त्यस्तै, माघ १० गते ४९ लाख, पुस २ गते २८ लाख र मंसिर ७ गते ६३ लाख रुपैयाँ बराबरका रकमहरू पनि बरामद भएका थिए । चालु आवमा तेस्रो मुलुकको रकम अन्तर्गत एक हजार यूएस डलर र ९६० रुपैयाँ दिरामको स्रोत नखुलेको अवस्थामा जफत गरिएको छ ।

हवाला, मनी लन्डरिङ र अवैध सञ्जाल सक्रिय
राजस्व अनुसन्धान कार्यालयका अनुसार हाल सञ्चालनमा रहेका अवैध कारोबारका ढाँचाहरूमा हवाला कारोबार, विदेशी मुद्रा सँगै यात्रा, सीमा पार ओसारपसार तथा वैधानिक स्रोतबिना बैंकिङ प्रणालीबाहिरको कारोबार प्रमुख हुन् । राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत घिमिरे भन्छन्, ‘सीमामा निगरानी थप कडाइका साथ अगाडि बढाइएको छ । अवैध कारोबारमा संलग्न जो कोहीलाई कानुनको कठघरामा ल्याइनेछ ।’
सीमा क्षेत्रमा विशेष निगरानी
राजस्व अनुसन्धान टोलीले नेपाल प्रहरी, सशस्त्र प्रहरी, सिआइबी लगायत निकायसँगको सहकार्यमा बुटवल, बेलहिया, मर्चवारी, रैनादेवी, चम्पानगर र कृष्णनगर क्षेत्रका सीमावर्ती नाकामा निगरानी कडा पारेको छ । प्रायः रकम विभिन्न यात्रु, सवारीसाधन तथा झोलाबाट लुकाइछिपाइ भारत–नेपाल सीमा पार गर्न खोजिएको पाइएको छ । अधिकांश घटनामा भारतीय नागरिकहरू समेत संलग्न भेटिएका छन् ।
कहाँबाट चलेको छ अवैध नेपाली नोट, भारु र डलरको सञ्जाल ?
अनुसन्धानमा खटिएका अधिकारीहरुले तस्करीको सुनलगायतका व्यापारीले सीमापारी पुगेर लेनदेन गर्ने गरेको रकम अलीअली गर्दै ल्याइएको हुनसक्ने आँकलन गर्छन् । तरपनि त्यसको पुष्टि हुनेगरी केही विवरण र मालिक भने पत्ता लागेको भन्दै अहिलेसम्म सार्वजनिक भएको छैन । यसपटक जफत गरिएका मुद्रामध्ये सबैभन्दा ठूलो मात्रामा नेपाली नोट, भारतीय रुपैयाँ र केही अमेरिकी डलर रहेको अनुसन्धान कार्यालयको विवरणमा उल्लेख छ । यसले हवाला कारोबार तथा सुन तस्करीको मुख्य माध्यम भएको हुनसक्ने बताइन्छ ।
तर, भरियामात्रै पक्राउ पर्ने तर असली मालिकसम्म पुग्नै नसकेकाले यसको जरो के हो भन्ने खुल्न सकेको छैन । प्रमुख अनुसन्धान अधिकृत घिमिरेले आपराधिक गतिविधिमाथि सुदृढ अनुगमन, प्रविधिको प्रयोग तथा अन्तरनिकाय समन्वयमार्फत थप कडाइका साथ नियन्त्रणका अभियान सञ्चालन गरिएको दाबी गरेका छन् ।