

भनिन्छ, सामाजिक जीवन आफैमा आनन्दित जीवन हो । कसैलाई प्रत्यक्ष वा अप्रत्यक्ष सेवा गर्न पाउनु सबैभन्दा ठुलो धर्मका रुपमा लिइन्छ । अहिले महिलाहरु व्यक्तिगत स्वार्थलाई टाढा राख्दै समाजसेवामा कन्द्रित भएको देख्न सकिन्छ । महिलालाई कुनै बेला घरधन्दाबाट बाहिर निस्किनसमेत समस्या हुन्थ्यो । अहिले महिलाहरु समाजसेवासँगै सामाजिक र राजनीतिक संघसंस्थाको नेतृत्व तहमा पुगेका छन् । तिनैै महिला मध्येकी एक हुन्, तिलोत्तमा–४ निवासी रमिला शर्मा ।
कलकलाउँदो उमेर, मनमा आँट । जहाँ पुगेपनि जुनसुकै काम गर्न सकिन्छ भन्ने दृढ विश्वास थियो उनमा । शर्मा यही सोचका साथकेही बर्ष पहिला वैदेशिक रोजगारीका लागि क्यानडा पुगिन् । घरपरिवार बिनाको बसाइ उनलाई अन्यन्तै नरमाइलो लाग्यो । उनी नेपाल फर्किइन् । घरपरिवारको साथमा बिजनेश, परिवार सम्हाल्दै समाजिक सेवा गर्ने हुटहुटी लिएर २०१७ बाट रोटरी क्लब अफ तिनाउमा आवद्ध भइन् । समाजसेवा गर्ने भावना उनको सानैदेखि थियो । उनी श्रीमान्, २ छोरी, १ छोरा र सासूससुराको साथमा बस्दै आएकी छन् । उनै रमिला विभिन्न सामाजिक संघसंस्थामा आबद्ध हुँदै अहिले रोटरी क्लब अफ तिनाउको वर्ष २०२४ २५ को अध्यक्षको नेतृत्वमा छन् । शर्मासँग पारिवारिक संघर्ष र सामाजिक जीवनका सवालमा अस्मिना पाण्डेले गर्नुभएको कुराकानीको संक्षिप्त अंश यहाँ प्रस्तुत गरिएको छ ।
सामाजिक क्षेत्रमा आउने प्रेरणा कसरी मिल्यो ?
सानैदेखि सहयोगी भावना थियो । म जन्मिएको परिवार पनि सहयोगी भावनामा प्रेरित हुने । आमावुवा, परिवारका सदस्यमा माया ममता सानैदेखि आफूलाई मात्रै भएर हँुदैन । सहयोगी भावना, बाढेर खाने बानी भए सधाँै शान्ति मिल्छ भन्ने सिकाइ पनि भयो । पारिवारिक माहोल पनि त्यस्तै । जति जति ठुलो हुँदै गएँ समाज बुझ्दै गएँ, समाजमा केही गर्नुपर्दछ भन्ने लाग्यो । सामाजिक हुनुपर्दछ, अभाव भएको ठाउँमा, आवश्यकता भएको ठाँउमा सहयोग गरेर कसैको मुहारमा मुस्कान देख्दा सानैदेखि आनन्द लाग्थ्यो ।
समाजका विकृति र विसंगतीलाई हटाउने क्रममा एक्लैभन्दा समूहको माध्यमबाट आवाजहरू बुलन्द गर्दा त्यसबाट पर्ने प्रभाव निकै सकारात्मक हुन्थ्यो । समूहगत कदमले पीडित वर्गको अनुहारमा आउने खुशीले आफूमा शान्तिको अनुभूति हुन्थ्यो । आफ्नो सानो भूमिकाबाट आम मानिसले पाउने सुविधा र सहयोगले ज्यादै आत्मसन्तुष्टि हुन्थ्यो । बिहे भएर गएको घर पनि सामाजिक सेवामा समर्पित परिवार प¥यो । मेरो व्यक्तिगत चाहना र परिवारको साथले होला थोरै भएपनि सामाजिक सेवामा लाग्ने प्रेरणा प्राप्त भएको छ ।
रोटरी तिनाउ कस्तो खालको संस्था हो ?
अहिले म रोटरी क्लब अफ तिनाउ बुटवलको नेतृत्वमा छु । रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ को इतिहासमा शतप्रतिशत महिला मात्र भएको एकमात्र गौरवशाली क्लब हो । २०१७ मा स्थापना भएको यो क्लबमा हाल ३५ जना सदस्य छौँ । यसमा विभिन्न पेशा व्यवसाय, गृहणी, समाजसेवि, धेरै क्षेत्रका अनुभवी महिलाहरु छौँ । क्लबमा महिलाहरुको लागि प्रसस्तै अवसर एवं चुनौती पनि छन् । समाजका विभिन्न क्षेत्रमा छरिएर आ–आफ्नो पेशा व्यवसायसँग आबद्ध महिलाहरुलाई समेट्दै परिवार र कार्यक्षेत्रलाई व्यवस्थित गर्दै समाजसेवामा लागेका छौं । क्लबको वार्षिक कार्ययोजना र रोटरी अन्तर्राष्ट्रियको लक्ष्यलाई पूरा गर्ने गरी अगाडि बढिरहेका छौं । साथै स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रिय सरकारले ल्याएका सकारात्मक कदमहरूलाई साथ दिनु सामाजिक संस्थाको मूल मर्म र धर्म हो । सोहीअनुरुप हामी र हाम्रो क्लब अघि बढिरहेको छ । अझै भन्नुपर्दा लोकतन्त्रलाई आत्मसाथ गर्दै राज्यका सकारात्मक व्यवस्थालाई पछ्याउँदै हरेक तहसँग समन्वय र सहकार्य गर्दै महिलाको व्यक्तित्व र नेतृत्व विकासका लागि महिला स्वास्थ्य, सशक्तिकरण र सक्षमता विकासका लागि विभिन्न गतिविधिहरु सञ्चालन गर्दै क्लब अगाडि बढिरहेको छ ।
खासगरी क्लबहरुको एकवर्षे कार्यकाल हुन्छ , अझै भनौँ न नेतृत्व गर्ने अवधि छोटो छ । तरपनि कस्ता कस्ता कामहरु गर्न सफल हुनुभयो ?
हो, नेतृत्वका हिसाबले छोटो अवधि भएपनि काम जिम्मेवारीका हिसाबले यो सिस्टम ठिकै हो जस्तो लाग्छ । पालैपालो नेतृत्व लिने अवसर प्राप्त हुने क्लबहरुले थुप्रै राम्रा कामहरु गरेको हामीले देखेका छौँ । अब हाम्रो क्बलकै कुरा गर्दा पनि हामीले शिक्षा, स्वास्थ्य, वातावरणका क्षेत्रमा थुप्रै कामहरु गरेका छौँ । शिक्षासम्बन्धी ३ जनाछात्रालाई छात्रवृत्ति वितरण गरेका छौँ, वृक्षरोपण, स्वास्थ्यसम्बन्धी मानसिक स्वास्थ्य सचेतना कार्यक्रम, विभिन्न क्याम्पहरु, १७५ जना बच्चाहरुको आँखा जाँच, किशोरी आमाहरुका लागि सिपमूलक सिलाइकटाई तालिम, ५ वर्षसम्म हामीले बुटवल माविमा रहेका छात्राहरुका लागि सेनेटरी प्याड वितरण गर्ने कार्यक्रम सम्झौता गरेका छौँ । अपांगता भएका ३ जनालाई ह्विल चेयर वितरण ग¥यौँ, रक्तदान कार्यक्रम, मानवसेवा आश्रममा सहयोगलगायत सामाजिक क्षेत्रमा आवश्यकताका आधारमा मानवीय दृष्टिकोणलाई आत्मसात् गर्दै एउटा नागरिकको समाजमा बसेपछि असल भूमिका के के हुन सक्छन् त्यहीअनुसार काम गरेका छौँ ।
तपाई आबद्ध सामाजिक संस्थाले समाजमा कस्तो प्रभाव पारेको छ ?
म रोटरीमा आवद्ध छु । सेवाको भावलाई विस्तार गर्न, व्यवसायलाई मर्यादित बनाउन, विश्वमित्रता भावनाको कदर गर्दै आफ्ना सामाजिक गतिविधिलाई विश्वसामु पुर्याउन सामाजिक संस्थाहरुले सहयोग गर्छन् । आपसी सदभाव र मेलमिलापको अभिवृद्धिमा सहयोग पु¥याउन साथै हरेक व्यक्तिको नेतृत्व, व्यक्तित्व र बोल्ने क्षमताको विकास गर्न रोटरीले सहयोग गर्छ । आदर्श समाजको स्थापना गर्न, नैतिक सुधार र सामाजिक सुधारको पक्षमा रही शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, सुरक्षित मातृत्व, महिला अधिकार, महिला नेतृत्व र बालबालिकाको संरक्षण एवं वातावरणको क्षेत्रमा हामी सामाजिक संघसंस्थामार्फत काम गर्छौं ।
घरायसी काम अनि सामाजिक जीवन, समयको व्यवस्थापन कसरी गर्नुहुन्छ ?
आफू तयारी अवस्थामा नरहँदा पनि साथीहरुले विश्वास गरेर दिएको जिम्मेवारी र उहाँहरुबाट प्राप्त हौसला, परिवारले दिएको साथ र पेशागत क्षेत्रबाट पाएको भरपूर सहयोगले यो सबै सम्भव भएको होला जस्तो लाग्छ । सबै पक्षको योजना र संघर्षलाई सहज अवतरण गराउँदै सामाजिक कामलाई पनि साथै लगेको छु । सोचेजस्तो सहज पनि छैन, असहज पनि छैन । समय व्यवस्थापनको सवालमा इच्छाशक्ति पनि मुख्य विषय हो । सबै क्षेत्रको आवद्धताले मलाई जहिल्यै ऊर्जा, हौसला र संघर्ष गर्ने हिम्मत बढाउँछ ।
वर्तमान समाजमा महिलाको अवस्था कस्तो देख्नुहुन्छ ?
अझै पनि पूर्ण महिला अधिकार सम्पन्न भएको छैन । आएका राज्यले व्यवस्था गरेका अझै संविधानमै तोकिएका अधिकार पनि कार्यानवयन हुन सकिरहेको छैन जस्तो लाग्छ । विभिन्न दुःख कष्ट सहँदै, संघर्ष गर्दै जीवन गुजारा चलाउने महिलाहरुको संख्या धेरै नै छ । पारिवारिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक कारणले पलपलमा महिलाहरुले पीडा भोग्नुपरेको छ । आज पनि समाजको कथित शिक्षित वर्गबाट महिलाहरु प्रताडीत छन्। पीडित छन्, शोषित छन्। महिलाको आर्थिक, सामाजिक र राजनीतिक विकासको लागि अहिलेसम्म ल्याइएका योजना तथा कार्यक्रमहरु कर्मकाण्डीमात्र छन् । दुर्गम क्षेत्रमा रहेकी, अशिक्षित महिला मात्र होइन, सुगम क्षेत्रमा रहेर शिक्षित भनिएकी महिला पनि पीडामा छन् । अत्यन्तै जटिल छ परिवर्तनको यात्रा । तर, हामी पछि हट्नु हुँदैन । सामाजिक संरचना, सामाजिक सोच र सामाजिक रुपान्तरणका लागि महिलाहरुले फरक शैलीको विद्रोह गर्नु अनिवार्य भएको छ ।
महिलाहरुलाई नेतृत्वमा ल्याउन जरुरी छ ? नेतृत्वमा सहभागिता बढाउन के गर्नुपर्ला ?
छ नि एकदम जरुरी छ । एकजना महिला नेतृतवमा जाँदा बढी महलिाहरुकै आवाज लिएर जान्छिन् । जति धेरै महिला नेतृत्वमा हुन्छन् । त्यति विभेदपनि कम हुन्छ, जस्तो लाग्छ । महिलाहरुको क्षमता, नेतृत्व पनि विकास हँुदै जान्छ । एउटी महिला शिक्षित हुँदा घरपरिवार, समाज शिक्षित हुन्छ भने नेतृत्व पनि त्यस्तै हो । महिला नेतृत्वले अवसर सिर्जना आत्मबल बढ्न सक्छ ।
नेतृत्व आफैंमा चुनौतीपूर्ण विषय हो । त्यसमा पनि महिलाका लागि झनै चुनौती । किनभने हाम्रा पारिवारिक उत्तरदायित्व, दोहोरोतेहरो भूमिकामा छन् । शारीरिक तथा स्वास्थ्य संवेदनशीलता, सामाजिक दृष्टिकोणले हेर्दा सबैसँग तालमेल मिलाएर हिँड्न सजिलो पक्कै छैन । यसैका बाबजुत समयसँगै आउने बिभिन्न जिम्मेवारीलाई पूरा गराउँदै, आत्मनिर्भर बनाउँदै महिलाहरुलाई अघि बढाउन आवश्यक छ ।
सिपसँग महिलालाई जोड्नु अनिवार्य छ । आर्थिकरुपमा सक्षम बनाउन अनिवार्य छ । महिलाको शैक्षिक विकासमा राज्यले विशेष कार्यक्रम ल्याउन आवश्यक छ । आत्मबल विकास गराउने सवालमा सबैपक्ष लाग्नुपर्छ । त्यसले मात्र महिलाको विकास र उत्थानमा सहयोग पु¥याउँछ । त्यसपछि समाज पनि सभ्य बन्छ । शिक्षित बन्छ ।