

सैनामैना । सैनामैना व्यापार संघ, रुपन्देहीले आगामी पुस २५ गतेदेखि माघ ६ गतेसम्म आयोजना गर्न लागिएको सातौं राष्ट्रिय सैनामैना व्यापार महोत्सव–२०८२ को सन्दर्भमा तयारी तीव्र बनाएको छ । महोत्सवको सफल आयोजना लक्ष्यसहित संघले २४ वटा उपसमितिहरु गठन गरि जिम्मेवारी तोकेको छ । संघले दुई दिने कार्यशाला गोष्ठिको आयोजना गरि महोत्सवका उपसमितिहरु र जिम्मेवारी बाँडफाँड गरि तयारी सुरु गरिएको संघका अध्यक्ष सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।
कार्यशाला गोष्ठि असार ३ र ४ गते रमणीय स्थल पाल्पा जिल्लाको रिब्दिकोट गाउँपालिका–४, भैरवस्थानस्थित समृद्धि रिसोर्टमा आयोजना भएको थियो । कार्यशालामा संघका संरक्षक, सल्लाहकार, जनप्रतिनिधि, लेखा समिति, पदाधिकारी, सचिवालय सदस्य, पत्रकार, उद्यमी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
महोत्सवको नाम ‘सैनामैना व्यापार महोत्सव २०८२’
यसअघि ‘कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव’ को नामबाट परिचित महोत्सव यस वर्षदेखि ‘सैनामैना व्यापार महोत्सव २०८२’ को नयाँ नामबाट आयोजना गरिने संघले जनाएको छ । संघका अध्यक्ष सुरेन्द्र प्रसाद शर्मा उपाध्यायले नेतृत्व गरिरहेको यो महोत्सव, स्थानीय व्यवसाय प्रवद्र्धनसँगै लुम्बिनी क्षेत्रको सांस्कृतिक, ऐतिहासिक र आर्थिक सम्भावनालाई उजागर गर्न केन्द्रित रहने दाबी गरिएको छ । खासगरी स्थानीय उत्पादन र तिनको प्रबद्र्धनलाई यसले प्राथमिकतामा राखेको छ ।

इतिहास र महत्व
भगवान बुद्धको पावन जन्मभूमि लुम्बिनीको काखमा अवस्थित सैनामैना नगरपालिका ऐतिहासिक, धार्मिक, पर्यटकीय र व्यावसायिक दृष्टिले अत्यन्त सम्भावनायुक्त क्षेत्र हो । यहा अवस्थित बोलबम धाम, कालमोचन मन्दिर, थारु होमस्टे, कालीगण्डकी करिडोर, सालझण्डी–ढोरपाटन मार्ग जस्ता परियोजनाहरूले यस क्षेत्रलाई ‘आर्थिक केन्द्र’को रुपमा विकास गर्न सघाएका छन् । विसं।२०५७ सालमा पर्रोहा शाखाको रुपमा प्रारम्भ भएको सैनामैना व्यापार संघ २०७१ सालमा विधिवत दर्ता भई आजसम्म विविध चुनौतिका बाबजुद सक्रिय रुपमा अगाडि बढिरहेको छ । आलोपालो महोत्सव सञ्चालन गर्ने सहमति अनुसार यसपालिको आयोजनाको जिम्मेवारी व्यापार संघले लिएको हो ।
महोत्सवको व्यवस्थापन: २४ उपसमिति गठन
कार्यक्रमलाई व्यवस्थित र भव्य बनाउन सुरेन्द्र पौडेल संयोजक रहेको मूल आयोजक समिति गठन गरिएको छ । संघले विभिन्न विषयगत २४ वटा उपसमिति गठन गरी जिम्मेवारी तोकेको छ । जसमा मूल समारोह समिति, स्टल व्यवस्थापन, सांस्कृतिक कार्यक्रम, गेट–टिकट, आर्थिक व्यवस्थापन, प्रचारप्रसार, सुरक्षादेखि लिएर प्राथमिक उपचार, सरसफाइ, पर्यटन प्रवद्र्धन, कृषि प्रविधि, महिला उद्यमशीलता, शैक्षिक संस्था समन्वय सम्मका उपसमिति र तिनका संयोजक एवम् सहसंयोजक र सदस्यहरु समेत तोकिएका छन् । आवश्यकता आधारमा उपसमितिहरु समेत विस्तार गर्न सकिनेगरि योजना बनाइएको संघका महासचिव भिमलाल सुवेदीले जानकारी दिनुभयो ।
साझा जिम्मेवारी र प्रेरणा
कार्यशाला गोष्ठिमा नेकपा एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरे, सैनामैना नगरपालिकाका निवर्तमान नगर प्रमुख तथा संघका संरक्षक चित्रबहादुर कार्की र संघका संरक्षकहरु मिनप्रसाद पौडेल, खुशीराम चौधरी, सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण पोखरेललगायतको उपस्थिति रहेको थियो ।
संघका पूर्वअध्यक्षहरु जीवनाथ पाण्डे, दुर्गा गौतम, सल्लाहकारहरु रणबहादुर खनाल, चेतनारायण न्यौपाने, कृष्ण प्रसाद पौडेल, टोपलाल भट्टराई, पिताम्बर न्यौपानेलगायतले बोल्दै महोत्सव सफलताका लागि शुभेच्छा र सहकार्यको प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

संघका अध्यक्ष पौडेलले सबै सरोकारवाला, राजनीतिक दल, बुद्धिजीवी, शिक्षक, समाजसेवी, उद्यमी, व्यापारी र नागरिकहरुलाई महोत्सवलाई ‘आफ्नै पर्व’को रुपमा लिएर सहभागी हुन आग्रह गर्नुभएको छ । ‘हामी विगतबाट सिक्दै, केही फरक गर्दै, व्यावसायिक एकता र सामाजिक हितलाई जोड दिँदै यो महोत्सवलाई सफल बनाउनेछौं’ अध्यक्ष पौडेलको भनाइ थियो । कार्यशालाबाट महोत्सवप्रति थप उर्जा मिल्ने कार्यक्रम संयोजक तथा संघका उपाध्यक्ष दिपेन्द्र ढकालले विश्वास व्यक्त गर्नुभयो । संघले ढकाललाई कार्यशाला गोष्ठिको संयोजकत्वको जिम्मेवारी प्रदान गरेको थियो । कार्यक्रम सञ्चालन महासचिव भीम सुवेदी, स्वागत वरिष्ठ उपाध्यक्ष देवीदत्त सुवेदीले गर्नुभएको थियो ।