कृष्णनगरको बेरुजु र पुँजीगत खर्चमा उल्लेख्य सुधार

मेचीकाली संवाददाता

५ असार २०८२, बिहीबार
75 shares

सुनिल आचार्य

कपिलवस्तु। कपिलवस्तुको कृष्णनगर नगरपालिकाले बेरुजु रकम र पुँजीगत खर्चमा उल्लेख्य सुधार गरेको छ । विगतका वर्षहरुमा महालेखा परीक्षकको कार्यालयले धेरै बेरुजु औँल्याउने तथा कम पुँजीगत खर्च गर्ने पालिकामा पर्ने कृष्णनगर पछिल्ला आर्थिक वर्षहरुमामा बेरुजु रकम सुधार साथै पुँजीगत खर्चमा उल्लेख्य बृद्धि गरेको छ । गत आर्थिक बर्षमा पुँजीगत खर्चमा उल्लेख्य बृद्धि भई ६७ प्रतिशत खर्च भएको थियो । तुलनात्मक रुपले अन्य पालिकालाई हेर्दा उक्त पुँजीगत खर्चलाई धेरै राम्रो प्रगति मान्न सकिन्छ ।

आ.ब. २०८०/८१ को बेरुजु २ करोड १५ लाख १२ हजार रहेको छ । आ.ब. २०७४/७५ मा १२ करोड ३३ लाख, त्यस्तै आ.ब.०७६÷७७ मा २० करोड ३३ लाख बेरुजु औल्याएको र बिगत २ बर्ष भन्दा अघिका बर्षहरुमा हरेक बर्ष ५ करोड माथी नै बेरुजु आउने गरेकोमा आ.ब. ७९/८० र ८०/८१ मा क्रमिक रुपमा बेरुजु घटाउन सफल भएको तथ्यांकले देखाँउछ । नगरपालिकाका लेखा अधिकृत मनिष पाण्डेका अनुसार पालिकाले विद्युतीय भुक्तानी प्रणालीबाट छिटो छरितो भुक्तानी, अनलाईन जिन्सी ब्यबस्थापन, अनलाईन राजस्व प्रणालीको पुर्ण प्रयोग, अनलाईन योजना प्रणालीको प्रयोग, अनलाइन घटनादर्ता प्रणाली, बिधुतिय बोलपत्र प्रणालीको प्रयोग, सामाजिक सुरक्षा भत्ता बिधुतिय भुक्तानी प्रणाली मार्फत लाभग्राहिको बैंक खातामा जाने ब्यबस्था लगायतका अनलाइन प्रणालीको प्रयोगले आर्थिक तथा प्रशासनिक सुशासन कायम भएको छ । साथै पालिकाका सबै जनप्रतिनिधि, कर्मचारी, नागरिक र समुदायको सकारात्मक प्रयासबाट बेरुजु र पुँजीगत खर्चमा सुधार लगायत विकास निर्माणका क्षेत्रमा पनि बिभिन्न काम गर्न सफल भएको उनले बताए ।

पालिकाले स्थानीय तह संस्थागत क्षमता स्व. मुल्यांकन(लिजा)मा समेत व्यापक रुपमा सुधार गरेको छ । आर्थिक बर्ष ०७६/७७ मा २५.६७ प्रतिशत मात्रै अंक प्राप्त गरेको पालिकाले आर्थिक बर्ष २०८०/०८१ मा ८५ प्रतिशत उपलब्धी हासिल गर्न सफल भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले बताए । यस्तै स्थानीय तह वित्तीय जोखिम मुल्यांयानमा समेत पालिकाले सुधार गरेको छ । स्थानीय तह वित्तीय शुसासन जेखिम मुल्यांकन(आईआरएम) पनि गत आर्थिक बर्षहरुमा भन्दा सुधार गरी आर्थिक बर्ष २०८०/०८१ मा ७६.५ प्रतिशत उपलब्धी हासिल गरेको उनले बताए ।

यस्तै यातायात पुर्बाधर, सार्बजनिक भबन, विध्यालय भबन, स्वास्थ चौकी, अस्पताल, खानेपानी, सिचाँई संरचना लगायत भौतिक पुर्वाधार निर्माण, साथै शिक्षा, स्वास्थ, कृषि, पशु, जनशक्ति बिकास र जनचेतना अभिवृद्धिका कार्य समेत अगाडी बढाएको छ । पालिकाले आर्थिक वर्ष २०८१÷०८२ को जेठ ३१ गते सम्म चालू खर्च ६२ प्रतिशत र पूँजीगत खर्च ५२ प्रतिशत गरेको छ भने समग्र प्रगति ५७ प्रतिशत रहेको प्रमुख प्रशासकीय अधिकृत देवकोटाले बताए । नगरपालिकाको आन्तरिक आम्दानी पनि तुलनात्मक रुपमा राम्रो रहेको उनको भनाई छ । गत आवमा ६७ प्रतिशत प्रगति भएकोमा चालु आर्थिक बर्षमा ७० प्रतिशत भन्दा धेरै प्रगति हुने अनुमान गरीएको छ । नियामक निकाय अख्तियार, सर्तकता केन्द्र लगायतका निकायमा असन्तुष्ट पक्षबाट हुने उजुरी पनि घटेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत देवकोटाले वित्तीय र प्रशासकीय सु–शासन कायम गर्न नियमित रुपमा सार्वजनिक सुनुवाई गर्दै आएको बताए । ‘पूर्ण खोप सुनिश्चितता, कुपोषण, सून्य होम डेलिभरी, निःशुल्क औषधी उपलब्ध, ल्याब सञ्चालन, एक्सरे, भिडियो एक्सरे सञ्चालन, स्वास्थ्य संस्थामा आवश्यक पूर्वाधार विकास, उपकरण खरिद जस्ता कामहरु भएका छन् ।’, प्रमुख प्रशासकीय अधिकृत देवकोटाले भने, ‘शिक्षाको क्षेत्रमा पनि धेरै काम भएका छन् । पाठ्यपुस्तको व्यवस्थापन गर्ने, दरबन्दी मिलानमा देखिएको समस्यालाई समाधान गर्न नगरपालिकाले स्वमसेवक शिक्षक राखेरै भएपनि बालवालिकाको पढ्न पाउने अधिकारलाई सुनिश्चित गरेको अवस्था छ ।’ शैक्षिक संस्था, शौचालयहरु मर्मत, स्वच्छ पिउनेपानीको व्यवस्था, ल्याब, कम्प्यूटर, लाईब्रेरी, दिवाखाजाको व्यवस्था गर्ने जस्ता कामहरु पनि भइरहेको उनले बताए ।