लुम्बिनी प्रदेशभर बिभिन्न कार्यक्रम गरी मनाइयो स्थापना दिवस

मेचीकाली संवाददाता

९ असार २०८२, सोमबार
133 shares

बुटवल । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ४६औँ स्थापना दिवसको अवसरमा प्रदेशभर विभिन्न सामाजिक, स्वास्थ्य तथा सरसफाई अभियानमार्फत् जनउत्तरदायी र सेवामूलक ढंगले मनाइएको छ ।

स्थापना दिवसलाई साप्ताहिक उत्सवको रूपमा मनाउने क्रममा असार ७ गते संगठनको लुम्बिनी प्रदेश कार्यालय परिसरमा सरसफाई कार्यक्रम सञ्चालन गरिएको थियो । असार ८ गते बुटवलमा आयोजना गरीएको रक्तदान कार्यक्रममा ७३ युनिट रगत संकलन गरी रक्त सञ्चार शाखालाई हस्तान्तरण गरिएको छ । जसले आपतकालीन अवस्थाहरूमा थुप्रै नागरिकलाई जीवनदान दिने अपेक्षा गरिएको छ ।

यस्ते दाङ जिल्ला समितिले मानव आश्रममा फलफूल वितरण, तुलसीपुर बसपार्कमा ११२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण, दीप प्रज्वलन तथा चालक–सहचालकहरूलाई सम्मानलगायतका कार्यक्रमहरू सम्पन्न गरेको छ । यसले समाजप्रति संगठनको संवेदनशीलता र जिम्मेवारी उजागर गरेको संगठनले जनाएको छ ।
घोराही उपमहानगर समितिले कार्यालय रहेको डुमरा गाउँ टोल र कार्यालय परिसरमा सरसफाई अभियान सञ्चालन गर्नुका साथै तरौटेस्थित वृद्धाश्रममा फलफूल वितरण गरी ज्येष्ठ नागरिकप्रति सम्मान प्रकट गरेको छ । दीप प्रज्वलन र शुभकामना आदानप्रदान कार्यक्रमले संगठनको एकताको भाव झल्काएको छ ।

यस्तै, असार ९ गते लमही नगर समितिले लमही बसपार्क सरसफाई कार्यमा जुट्नुका साथै ओम ट्रेड्स एण्ड सप्लायर्सका प्रोपाइटर प्रदीप राज भुसालको सहयोगमा संगठनको लोगो अंकित टि–शर्ट वितरण गरेको छ । सो अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम समेत सम्पन्न गरिएको थियो ।

बाँकेको राँझा इकाइ र गुल्मी जिल्ला समितिले समेत दीप प्रज्वलन, सरसफाई तथा शुभकामना आदानप्रदान कार्यक्रमहरू मार्फत ४६औँ स्थापना दिवस मनाएका छन् । यस्ता कार्यक्रमहरूले संगठनको सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता, एकता र सेवा भावलाई थप सुदृढ बनाएको संगठनका प्रदेश अध्यक्ष हुमबहादुर क्षेत्रिले बताए । स्थापना दिवसमा गरिएका सकारात्मक कामहरूलाई आगामी दिनमा पनि निरन्तरता दिइने उनले बताए ।