

बुटवल । राजस्व अनुसन्धान विभागअन्तर्गतको राजस्व अनुसन्धान कार्यालय, बुटवलले पछिल्ला समयमा राजस्व छलि र भन्सार चोरी पैठारीजस्ता गैरकानुनी गतिविधिहरूविरुद्ध विशेष अभियान तीव्र बनाएको छ । विभिन्न क्षेत्रबाट हुने राजस्व छलिका घटनालाई विशेष अपरेशनमार्फत नियन्त्रणमा लिएको छ ।
यसै सिलसिलामा, बुटवल कार्यालयले नवज्योति ट्रेडर्सका प्रोप्राइटर सौरभ यादवसहित ४ जनाविरुद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरेको राजस्व अनुसन्धान विभागले बुधबार विज्ञप्ति जारी गरी जानकारी गराएको छ । राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधनसहित) को दफा २०(६) बमोजिम मुद्दा दायर गरेको विभागले जनाएको छ ।
नवलपरासी (ब.सु.प.) रामग्राम नगरपालिका–८ मा अवस्थित नवज्योति ट्रेडर्सले मू.अ. करमा दर्ता नगरी ५० लाखभन्दा बढीको करयोग्य वस्तु बिक्री गरेको अनुसन्धानबाट खुलासा भएको छ । थप अनुसन्धानका क्रममा, भारतबाट चामलको नाममा अवैध रूपमा चिनी भन्सार छली गरी नेपाल भित्र्याइएको पाइएको अनुसन्धान कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।
यस आधारमा, नवज्योती ट्रेडर्सका प्रोप्राइटर यादवमाथि राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसार तीन करोड ४७ लाख ६२ हजार ७५३ रुपैयाँ बिगो कायम गर्दै सोही ऐनको दफा २३(१) बमोजिम सो रकम असुल उपर गरी शतप्रतिशत जरिवाना तथा हदसम्मको कैद सजाय माग गरिएको छ ।
यसैगरी, उक्त कारोबारमा संलग्न आगवन स्टोर्स एण्ड अडर्र सप्लायर्सका सञ्चालक पुष्पा शर्मामाथि ११ लाख ७१ हजार ५ सय रुपैयाँको भन्सार चोरी बिगो कायम गरिएको राजस्व अनुसन्धान विभागका प्रवक्ता कृष्णकुमारी श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । शर्मासहित हिक्मतप्रसाद आचार्य र विनोद थापामाथि समेत राजस्व चुहावटमा संलग्न रहेको भन्दै सम्बन्धित कानुनी दफाबमोजिम मुद्दा चलाइएको विभागले बताएको छ ।
‘…राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२(सं.स) को दफा ३ विपरित र दफा ४ को उपदफा (क), (ख), (च) र (झ) बमोजिम कसुर गरेकोले निज प्रतिवादि सौरभ यादवको हकमा मु.अ. कर र भन्सार चोरी पैठारी तर्फको जम्मा बिगो रु. ३,४७,६२,७५३।२३ (अक्षरेपि तीन करोड सठ्चालिस लाख बैसठ्ठी हजार सात सय त्रिपन्न रुपैयाँ तेईस पैसा) कायम गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३(१) अनुसार निज प्रतिवादीबाट बिगो असुल उपरगरी शत प्रतिशत रकम जरिबाना हुन तथा सोही ऐनको दफा २३(१)(ख) बमोजिम हदैसम्मको कैद सजाय हुन र प्रतिवादी क्रेता पुष्पा शर्मालाई भन्सार चोरी पैठारीतर्फको रू.११,७१,५०० (अक्षरेपि एघार लाख एकहत्तर हजार पाँच सय) बिगो कायम गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित कार्य गरी दफा ४ को खण्ड (क), (ख), (च), (छ) र (झ) समेतको कसूरमा ऐ ऐनको दफा २३(१) बमोजिम बिगो जफत गरी शत प्रतिशत रकम जरिबाना हुन तथा सोही ऐनको दफा २३(१)(क) बमोजिम हदै सम्मको कैद सजाय हुन र प्रतिवादी हिक्मतप्रसाद आचार्यको हकमा निजले क्रेता पुष्पा शर्मालाई प्रत्यक्ष सघाएको देखिएकोले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३(३) को कसूरमा सोही दफा २३(३) बमोजिम आधा सजाय मागदावी र प्रतिवादी विनोद थापाको हकमा उक्त राजस्व चुहावटको कसूरमा संलग्नता रहेको पुष्टि भएकोले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३३(३) को कसूरमा सोही दफा ३३(३) बमोजिम नै जरिवाना हुन मागदावी लिई सम्मानित उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरिएको छ ।’ राजस्व अनुसन्धान विभागका प्रवक्ता श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
राजस्व अनुसन्धान कार्यालय, बुटवलले पछिल्लो समय कर छल्ने, अवैध कारोबार गर्ने र सरकारी राजस्वमा गम्भीर क्षति पु¥याउने प्रवृत्तिहरू नियन्त्रण गर्न सक्रिय कदम चालेको प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेले बताए । कार्यालयले विशेष जनशक्तिमार्फत राजस्व चुहावटविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्दै विभिन्न क्षेत्रमा निगरानी, अनुसन्धान तथा कारबाहीलाई प्राथमिकतामा राख्दै आएको कार्यालय प्रमुख घिमिरेको भनाइ छ ।
यस किसिमका कारबाहीहरूले बजारमा कर शुद्धता, व्यापारिक अनुशासन र पारदर्शिता कायम गर्न सकारात्मक सन्देश प्रवाह गरिरहेको उनको दाबी छ । कानुनविपरीत क्रियाकलापमा संलग्न जो–कोहीलाई नछोडिने स्पष्ट सन्देशसमेत दिइएको बताउँदै प्रमुख अनुुसन्धान अधिकृत घिमिरेले अरु धेरै क्षेत्रमा अनुसन्धान जारी रहेको उल्लेख गरे । अभियानले राजस्व सुरक्षामा थप दृढता र विश्वसनीयता बढाउने गरी काम गरिएको उनको भनाइ छ ।