२९ जिल्लामा बाढीको जोखिम, सावधानी अपनाउन आग्रह

मेचीकाली संवाददाता

१५ असार २०८२, आईतवार
16 shares
फोइल फोटो

काठमाडौं । काठमाडौं उपत्यकासहित २९ जिल्लामा बाढीमको मध्यम जोखिम रहेको भन्दै सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाका अनुसार आज कैलाली, कञ्चनपुर, बर्दिया, सुर्खेत, डोटी, बैतडी, दार्चुला, काठमाण्डौ, ललितपुर, भक्तपुर र आसपासका जिल्ला भई बहने नदी खोलाहरुमा आकश्मिक बाढीको मध्यम जोखिम छ ।

यस्तै पर्वत, बागलुङ, रोल्पा, म्याग्दी, प्युठान, गुल्मी, दाङ, बाँके, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, अर्घाखाँची, रुकुमपश्चिम, सल्यान, जाजरकोट, कालिकोट, दैलेख, अछाम, डडेलधुरा, बझाङ र आसपासका जिल्ला भई बहने केही स–साना नदीको पनि बहाब बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

महाशाखाका अनुसार आज कोशी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने तर बढ्ने पनि सम्भावना रहेकाले ती नदीका तटीय क्षेत्रमा सतर्कता अपनाउन जरुरी छ ।

बाढीको जोखिम रहेका ठाउँहरुका पहाडी तथा चुरे क्षेत्रका भिरालो र पहिरोग्रस्त क्षेत्रका बस्तीहरू, नदी किनार तथा खोला आसपासका बस्तीहरू, मुख्य तथा सहायक सडकको यातायात, जलविद्युत् आयोजना तथा नदी क्षेत्रमा निर्माणाधीन संरचना र कृषि क्षेत्र तथा सिँचाइ प्रणालीमा सावधानी अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।