

टोपलाल अर्याल
गुल्मी । सुनचाँदी व्यवसायी थप आन्दोलित भएका छन् । नेपाल सरकारले गरहनामा २ प्रतिशत विलासिता कर र हिरा जवाहरत गहनामा १३ प्रतिशत भ्याट लगाएको विरुद्धमा व्यवसायी लामो सयमदेखि आन्दोलनमा उत्रेका छन् । उनीहरुले आन्दोलनबाहेकको विकल्प नभएकाले असार मसान्त र सिजनको बेला बाध्य भएर व्यवसाय बन्द गरिएको सुनचाँदी व्यवसायी संघ गुल्मीका अध्यक्ष झविन्द्र विश्वकर्माले बताए । सरकारको निर्णले व्यवसायसँग जोडिएका सयौँ आश्रित परिवार र उपभोक्ता मर्कामा परेकाले सरकारले निर्णय पुनर्विचार नगरेसम्म आन्दोलन जारी राख्ने बताए । नेपाली समाजमा धार्मिक, सांस्कृतिक तथा युगौदेखि प्रचलनमा आएको जन्मदेखि मृत्युसम्म पुण्य कार्यमा प्रयोग हुने सुनचाँदीलाई विलासी वस्तुमा परिभाषित गर्नु दुःखद कुरा भएको व्यवसायीले बताए ।
समाज, परिवारमा यसको महत्व र यसको प्राप्तीको प्रतिष्ठा पनि आफ्नै किसिमको भएकाले वस्तु उपयोग मात्र नभएर नगद सम्पत्ति पनि आर्जन भएको व्यवसायी संघका अध्यक्ष विश्वकर्माले बताए । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पर्न गएको आर्थिक संकटले सुनको भाऊमा अत्याधिक वृद्धि भएकोले नेपाली सुन बजारमा त्यसको असर अत्यन्तै नकरात्मक भएको सुनचाँदी व्यवसायीका संस्थापक अगुना गोपाल नेपालीले बताए । नेपाली उपभोक्ताको क्रयशक्तिभन्दा दोबर वृद्धिले व्यावासायमा ८० प्रतिशत गिरावर आएको जटिल परिस्थितिमा सरकारले व्यावसायीको सहजीकरण गर्नुको सट्टा समस्या सिर्जना गरिरहेको बताए ।
यस्तो अव्यवहारिक कर नीति अविलम्ब खारेजको माग गर्दै देशभरका व्यवसायी कालिगढ, संस्थामा आबद्ध कर्मचारीलगायत आआफ्नो पसल व्यावसाय पूर्ण रुपमा बन्द गरेर आन्दोलन गरिरहेको नेपालीले बताए । नेपाल सुनचाँदी व्यवसाय महासंघ र नेपाल रत्न तथा आभूषण महासंघले संयुक्त रुपमा विगत केही महिनादेखि विभिन्न माग राख्दै आन्दोलनका कार्यक्रम गर्दै आएका छन् । दुवै महसंघको निर्धारित आन्दोलनका कार्यक्रम देशव्यापीरुपमा सञ्चालनमा छन् ।