कालीगण्डकीको उत्तरवाहिनी क्षेत्रमा हुँदैछ एक महिने कुम्भ मेला

मेचीकाली संवाददाता

२२ असार २०८२, आईतवार
11 shares

डी.आर.घिमिरे

कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानको अगुवाइमा आगामी असोज २१ गतेदेखि कार्तिक १९ गतेसम्म स्याङजा जिल्लाको गल्याङ नगरपालिका वडा नं १ र पाल्पा जिल्लाको रम्भा गाउँपालिका १ असर्दीका बिचमा उत्तरगण्डकी महामेला (दामोदर महोत्सव) कार्यक्रमको तयारी भएको छ । कालीतटको सेन्दुम्की भोबरबाट छर्तीघाटसम्म साढे ३ किलोमिटरमा कालीगण्डकी उत्तरवाहिनी भएर बगेका कारण यसको विशेष महत्व रहेको बताइन्छ । प्रा.डा. जगन्नाथ रेग्मीका अनुसार सबैभन्दा लामो क्षेत्रमा वग्ने उत्तरवाहिनी नदी यही ठाउँमा पर्छ ।

हाल उक्त ठाउँमा नेपालको एक मात्र आधुनिक गुरुकुल, योग तथा प्राकृतिक अस्पताल, रेडियो जनकल्याण (१०६.६मेगाहर्ज) सञ्चालनमा आउनुका साथै विभिन्न अवसरमा महोत्सवहरुको आयोजना गर्ने प्रचलन रहेको प्रतिष्ठानका अध्यक्ष आचार्य चैतन्यकृष्ण बताउनुहुन्छ । उत्तरवाहिनी क्षेत्रको महिमालाई विश्वब्यापी गराउने र नेपालमा धार्मिक पर्यटक आउने वातावरण बनाउनका लागि यो महोत्सव प्रेरक रहने बिश्वास चैतन्यकृष्णको छ । उहाँका अनुसार मिनि मुक्तिनाथ अन्तिम चरणमा पुगेको छ । यो वनेपछि वर्षामा पनि सफा र पिउनयोग्य पानीका १०८ धाराबाटै स्नान गर्न सकिनेछ । यस ठाउँमा जानेहरु प्राकृतिक रुपलेनै ॐ लेखिएको अद्भूत शिलाको दर्शन गर्न पाउँछन् ।

केही वर्ष अघिसम्म मध्य रातको समयमा शंखको ध्वनी आउने पिपलको वोट पनि यसै ठाउँमा रहेको छ ।
डा.रेग्मी स्कन्दपुराणमा उल्लेखित प्रसंग कोट्याउँदै “तीर्थराज प्रयाग, कुरुक्षेत्र, नैमिषारण्यमा सय पटक स्नान गर्दाको फल र कृष्णगण्डकीमा एकैपटक गरिएको स्नानको फल बराबर हुने र कृष्णगण्डकीमा आएर पितृश्राद्ध गर्दा सबै पितृहरूको उद्धार हुने बताउँछन् । यसको कारण गयामा गरिने श्राद्धका अपेक्षा गण्डकीमा गरिएको श्राद्धको सय गुणा बढी फल मिल्दछ, रेग्मीको भनाई छ ।

हुन पनि आम नेपालीहरु पितृश्राद्ध गर्न भारतको विहारमा अवस्थित पितृतीर्थ गयामा गएर पितृमुक्तिका लागि श्राद्ध तर्पण गर्ने परम्परा छ । जवकि उत्तरगया गोकर्ण वा गण्डकीको उत्तरवाहिनीमा आएर गरिने पुण्यकर्मको फल गयाको भन्दा बढी हुन्छ भन्ने पौराणिक मान्यता भेटिन्छ । इतिहासकार तथा धार्मिक गुरुहरु प्रयागराजजस्तै वा सो भन्दा वढी महत्वका तीर्थस्थलहरु यहाँ रहे पनि त्यस्ता तीर्थलाई महत्व दिइएको छैन ।

प्रतिष्ठानका अध्यक्ष चैतन्यकृष्णका अनुसार महामेलामा भारतबाट जगत्गुरु शंकराचार्यजीहरु आउँदै हुनुहुन्छ । गण्डकी महास्नानको परम्परालाई कायम गर्न र यसलाई विश्वव्यापी प्रचार गरी सम्पूर्ण हिन्दुहरुको लागि मोक्ष प्राप्तिको माध्यम बनाउनका लागि यो पटक ठूलो संख्यामा धार्मिक तिर्थालुहरु आउने वातावरण वन्दै गइरहेको छ । चिन्ता आउनेको भन्दा पनि आउनेलाई व्यवस्थापन गर्न सकिन्छ कि सकिदैन भन्ने छ, चैतन्यकृष्णको चिन्ता छ । करिव तीन महिना अघि भारतमा भएको महाकुम्भ मेलाले विश्वकै ध्यान खिचे पनि नेपालले आफ्नो सामथर््य चिन्न नसकेर धेरै कुरा गुमाउँदै गएकोमा धार्मिक अभियान्ताहरु चिन्तित छन् ।

भारतको प्रयागराजमा सम्पन्न महाकुम्भ मेला विश्वकै लागि एक अद्भूत धार्मिक मेला थियो । सो मेलाले ६ लाखभन्दा बढी अस्थायी रोजगारी सिर्जना गर्दा २–३ लाख करोड आर्थिक गतिविधि भयो । जसले उत्तर प्रदेशको जीएसडीपीमा १ प्रतिशतले प्रभाव पा¥यो । हुन पनि भारत सरकारले यसलाई यति महत्व दिएको थियो कि ७० अर्ब भारतीय रुपैयाँ खर्च गर्ने घोषणा गर्दै मेलाबाट उत्तर प्रदेश राज्य सरकारले २५० अर्ब भारतीय रुपैयाँजति राजस्व सङ्कलन गर्ने अनुमान गरिएको थियो ।
सन् २०२५ को प्रारम्भ १३ जनवरीदेखि २६ फेब्रुअरी अर्थात् ४५ दिनसम्म भएको सो मेलामा ४० करोड मानिसको आगमन हुने भनिए पनि ६६ करोड २१ लाखभन्दा बढी व्यक्तिले गंगा नदीमा स्नान गरेर आफ्नो आस्था र भक्तिको प्रदर्शन गरेका थिए । यसलाई संसारकै ठूलो मानव जमघट भनेर नाशाले प्रमाणित गर्यो र यूनेस्कोले विश्व सम्पदामा सूचीकृत गर्यो । औसतमा दैनिक डेढ करोड मानिसको आगमन हुनु चानेचुने कुरा थिएन । नेपालमा हुने यो महोत्सवलाई पनि लुम्विनी र गण्डकी प्रदेश सरकारले आवश्यक महत्व दिए पनि श्रोत व्यवस्थापनका दृष्टिले कमजोर अवस्था देखिन्छ ।

उत्तरवाहिनी क्षेत्रको महत्वः गण्डकीमहात्म्यमा भनिएको छ– तीर्थहरूमा मुक्तिक्षेत्र, पर्वतहरूमा हिमालय र नदीहरूमा गण्डकीलाई उत्तम मानिएको छ । कालीगण्डकीमा पनि उत्तरवाहिनी भएर बग्ने ठाउँलाई अति उत्तम मानिन्छ । उत्तरबाट आएर फेरि उत्तर बग्नुलाई दुर्लभ मानिन्छ । धार्मिक दृष्टिले उत्तर दिशा शुभकारक मानिन्छ । पूजा, अनुष्ठान गर्दा पूर्व वा उत्तर भएर गरिनु यही विश्वासमा रहेर हो । प्रायः देवताहरु उत्तरमै रहने र सिद्ध मुनिहरूको साधना भूमि पनि उत्तरनै रहनुलाई पनि यसै आधारमा हेर्नेे गरिन्छ । उत्तरतर्फ आध्यात्मिक उर्जा हुने भएकोले पनि साधना र विभिन्न सस्कारहरु उत्तर फर्केरै गर्ने चलन रहेको हो ।

कालीगण्डकी र उत्तरवाहिनी क्षेत्र नामक कार्यपत्रमा प्रा.डा.रेग्मी लेख्छन्– गया होस्, उत्तरगया होस् अथवा उत्तरवाहिनी यस्ता ठाउँमा गएर गरिने स्नान, दान आदि कर्मको अक्षय फल मिल्दछ भन्ने पौराणिक अभिमत र गहिरो धार्मिक विश्वास चलिआएको छ । उत्तरवाहिनी क्षेत्र यही परम्पराको उत्तमतीर्थ हो । नेपालमा यस्ता प्रसिद्ध तीर्थहरू हुँदाहुँदै नेपालीहरू उही उद्देश्यका निम्ति देश बाहिर जानु अज्ञान हो अथवा यस्ता तीर्थहरूको प्रचारप्रसारको अभाव हो ।

कालीगण्डकी शालग्रामको श्रोतः शालग्राम विश्वकै दुर्लभ र नेपालको कालीगण्डकीमा मात्र पाइन्छ । भारतीयहरु यसलाई अत्यन्तै पवित्र मान्छन् । शालग्राम एक प्रकारको शिला र भगवान विष्णुको प्रतीक अर्थात् स्वयं भगवान विष्णुको वासस्थान हो । गरुड़ पुराण, स्कन्द पुराण, पद्म पुराण आदिमा शालग्रामको महिमा वर्णन गरेको पाइन्छ । प्रायः हिन्दुहरु शालग्रामलाई घरमा राखेर पूजा गर्छन् । भारतको राम मन्दिर, अयोध्या लगायत केही प्रमुख मन्दिरहरूमा शालग्राम शिला प्रतिस्थापन गरिएका छन् । परम्परागत रूपमा शालग्राम शिला भारतमा लैजाँदा अनुमति लिएर लैजाने गर्दथे ।

यी शिलाको अनुमानित आयु ६०–१४० मिलियन वर्ष अर्थात् करिब ६ करोड वर्ष भएको मानिन्छ । शालग्रामहरू गोलाकार जीवाश्मित अमोनाइट (ायककष्ष्शिभम बmmयलष्तभक) हुन्, जसलाई विष्णुको प्रतीक र उत्तर–पूर्व–प्राचीन कालका समुद्री जीवहरूको निशानी मानिन्छ । शालग्राममा अमोनाइट फोसिल हुनुको अर्थ क्याल्सियम, फस्फोरस र अन्य कैयौं खनिज तथा मिनरल्सहरु पाइने भएकोले शालग्रामलाई पानीमा डुवाएर सो पानी खाने हो भने धेरै खाले रोगको उपचार हुन सक्ने अड्कल आधुनिक विज्ञानलेसमेत गरेको पाइन्छ । यो रहस्यवारे अष्ट्रेलियामा प्राध्यापनरत अनुसन्धानकर्ता दयाराम सिम्खडाले गत वर्ष मात्र यो पंक्तिकारसंग आफ्नो धारणा सार्वजनिक गरेका थिए । उनले नेपालको पानीलाई यस तरिकाले ब्राण्डिङ् गर्ने हो भने धेरै मुलुकमा पानी वेचेर नेपालले राम्रो आम्दानी गर्न सक्छ ।

साधना भूमि उत्तरवाहिनीः गण्डकी क्षेत्र वैदिक कालदेखिनै साधना भूमि मानिन्छ । सन्त, महात्मा, विद्वान्, विदुषी, योगी, साधक, सिद्धहरू यहाँ रहेको पाइन्छ । मृकण्डुका पुत्र मार्कण्डेय ऋषिले तपस्या र साधनाद्वारा मृत्युलाई पनि जितेका थिए । जो शिवभक्तका रूपमा प्रसिद्ध छन् । डा. रेग्मीका अनुसार भगवान् विष्णुले मुक्तिक्षेत्रको मुक्ति पर्वतमा, अत्रि ऋषिले सोमकूट पर्वतमा, कुमारले हंस तीर्थ कागबेनीमा, ऋषभदेव, राजर्षि भरत, जडभरत अनि पुलस्त्य र पुलह ऋषिले म्याग्दीको पुलहाश्रममा, पूर्वमीमांसाका प्रणेता जैमिनी ऋषिले बाग्लुङको जैमिनीघाटमा, एकादश रुद्रले रुद्रावती र कालीको दोभान रुद्रवेणीमा, भृगु ऋषिले भृगुतुङ्ग पर्वतमा, रुरुकन्याले रुरुक्षेत्रमा, मार्कण्डेय ऋषिले महालिङ्गधाम मालुङ्गामा, वशिष्ठ ऋषिले पाल्पाको रामपुरमा, संस्कृत साहित्यका आदिकवि वाल्मीकिले त्रिवेणी क्षेत्रमा अध्यात्मसाधना गरेर लोकमा ज्ञानको उज्यालो आलोक छरेको पाइन्छ । भगवान राम यसै ठाउँमा ७ दिन वस्नु भएको पौराणिक कथाहरुमा उल्लेख छन् ।

यही कालीगण्डकी क्षेत्रमा कैयौं पौराणिक मान्यता र सांस्कृतिक गौरव बोकेका त्यस्ता तीर्थहरू रहेका छन् । रामदीघाट, दरपुङघाट, मनराङघाट, डोलातुङघाट, कोलबगरघाट, रानीघाट, छेलुङ्गाट, घोरपुछारघाट र रुरुक्षेत्र हृषीषिकेशधाम मुख्य तीर्थस्थल हुन् भने उत्तरवाहिनी मालुङ्गाधामदेखि दक्षिण पूर्वतिर जिम्माघाट, हुँगीघाट, गेजाघाट, हेमलाङ्धाट, नीलघाट, खोरियाघाट, तिलपुरघाट, गौरीघाट, रामघाट, केलादीघाट, अत्रौलीघाट आदि पनि महत्वपूर्ण स्थान् हुन्, जसलाई पर्यटनका हिसावले अघि बढाउन सकिन्छ ।

तयारीको समय घर्कदै
वर्षाको अन्त्य पछि तुरुन्तै यो मेला शुरु हुने भएकोले तयारीको समय भने घर्केदै गएको छ । हामीले भारतको मेलामा सुरक्षा, आवास, शौचालय, सडक, स्नान गर्ने ठाउँसमेत धेरै कुरालाई हेर्दा पनि राम्रो व्यवस्थापन गरिएको थियो । नेपालको अहिलेसम्मको तयारी हेर्दा सरकारले पूर्ण रुपले सहयोग नगर्ने हो भने तमासा देखिने अवस्था पनि छ । धार्मिक क्षेत्रको प्रचार गरी ब्राण्डिङ हुने कुराले दीर्घकालिन रुपले अत्यन्तै महत्वको रहेको देखिन्छ । आयोजकहरुले आशा गरे अनुरुप भारतीयहरु मात्र आए भने पनि उनीहरुलाई सुरक्षित तवरले फिर्ता गर्नु चानेचुने विषय हैन । यसवाहेक सडकको अवस्था पनि वर्षाका कारण जीर्ण हुने देखिन्छ । जसको व्यवस्थापन साधु, सन्त, धार्मिक सस्था र तीनै तहका सरकार सवैले गर्नु जरुरी छ । यसलाई राष्ट्रिय पर्वकै रुपमा लैजान सक्दा आगामी वर्षदेखि स्वःस्फूर्त रुपले मेला चल्न सक्छ ।