कालीगण्डकी उत्तरवाहिनी महामेलाको तयारी

–नेपालका लागि धार्मिक पर्यटनको अद्वितीय सम्भावना

मेचीकाली संवाददाता

२१ असार २०८२, शनिबार
28 shares

बुटवल । कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानको आयोजनामा स्याङ्जा र पाल्पाको सीमावर्ती क्षेत्र कालीगण्डकी उत्तरवाहिनी तटमा आयोजना हुने ‘उत्तरगण्डकी महामेला ९दामोदर महोत्सव०’ को तयारी तीव्र हुँदैछ ।
आगामी असोज २१ गतेदेखि कार्तिक १९ गतेसम्म सञ्चालन हुने यो महोत्सवले नेपालको धार्मिक पर्यटन, संस्कृतिको संरक्षण र आन्तरिक तथा बाह्य धार्मिक तिर्थयात्रालाई नयाँ उचाइ दिन सक्ने धार्मिक गुरुहरुको विश्वास छ । धार्मिक पर्यटनको विकासका लागि यसप्रकारका महोत्सव उपयुक्त माध्यम हुने उनीहरुको दाबी छ ।

कालीगण्डकी उत्तरवाहिनीको अद्वितीयता
स्याङ्जाको गल्याङ नगरपालिका–१ र पाल्पाको रम्भा गाउँपालिका–१ बीच कालीगण्डकी नदी उत्तरवाहिनी भएर बग्ने दुर्लभ भूगोल रहेको क्षेत्र हो । साढे ३ किलोमिटर दूरीमा उत्तरतर्फ बग्ने कालीगण्डकी नदी नै नेपालमै सबैभन्दा लामो उत्तरवाहिनी नदी क्षेत्रका रुपमा रहेको छ । प्रा।डा।जगन्नाथ रेग्मीका अनुसार स्कन्दपुराणलगायत धार्मिक ग्रन्थहरूमा उल्लेख भएको यो स्थल ‘गया’ वा ‘प्रयाग’भन्दा पनि बढी पुण्यदायी मानिएको छ । कालीगण्डकीलाई आफैमा पवित्र नदी मानिन्छ । यहीँ दुर्लभ भुगोल र नदीमा आधारित धार्मिक पर्यटनको महामेला लगाउने अगुवाहरुको तयारी छ ।

धार्मिक महत्व र ऐतिहासिक प्रसङ्गहरू
उत्तरवाहिनी क्षेत्रमा स्नान, तर्पण, श्राद्ध, दान आदिले अक्षय पुण्य प्राप्त हुने धार्मिक मान्यता छ । स्कन्दपुराण अनुसार ‘गया’मा सयपटक स्नान गरे बराबरको फल कालीगण्डकी उत्तरवाहिनीमा एकपटक स्नान गर्दा मिल्छ । यहाँको शालग्राम शिला–भगवान विष्णुको प्रतीक–विश्वमै दुर्लभ छ, जुन यसै कालीगण्डकीको जलधाराबाट प्राप्त हुने आचार्य चैतन्यकृष्णको भनाइ छ ।

साधना भूमि र आध्यात्मिक ऊर्जा
स्याङ्जा जिल्ला गल्याङ नगरपालिका १ मालुङ्गा र पाल्पा जिल्ला रम्भा गाउँपालिका वडा न १ असेर्दिको संगम स्थल रमणीय कालीगण्डकी उत्तरबाहिनी क्षेत्र धार्मिक सांस्कृतिक,पर्यटकीय गन्तव्य स्थलको रूपका पछिल्लो समय निकै विकास हुदै आएको छ । धार्मिक तथा बैज्ञानिक हिसाबले निकै महत्त्व मानिने उक्त क्षेत्र यसअघि खासै प्रचारप्रसारमा आउन सकेको थिएन ।
प्रचारप्रसारका कारण ओझेलमा परेको उक्त ठाउँलाई धार्मिक सांस्कृतिक,पर्यटकीय गन्तव्य स्थलकारुपमा विकास गर्ने उदेश्य अनुरुप २०७२ सालबाट कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानले औपचारिक सुरुवात गरेको थियो । प्रतिष्ठानले सुरु गरे लगत्तै यस क्षेत्र धार्मिक तथा पर्यटकीय हिसाबले धेरैको रोजाइमा पर्दै आएको छ ।

लीगण्डकी क्षेत्र प्राचीनकालदेखि ऋषि, मुनिहरूको तपोभूमि रहँदै आएको छ । मार्कण्डेय, अत्रि, जैमिनी, पुलस्त्य, भृगु, वाल्मीकिलगायतका ऋषिहरूले यही क्षेत्रलाई साधनाको थलो बनाएका थिए । महालिङ्गधाम मालुङ्गा, रुरुक्षेत्र हृषिकेशधाम, रामपुरको वशिष्ठ आश्रमजस्ता पवित्र स्थल यसै भूभागमा पर्दछन् ।

धार्मिक पर्यटनको सम्भावना
प्रतिष्ठानका अध्यक्ष आचार्य चैतन्यकृष्णका अनुसार यसपटकको महोत्सवमा भारतका शंकराचार्यज्यूहरू सहित ठूलो संख्यामा भारतीय तिर्थालुहरूको आगमनको अपेक्षा गरिएको छ । अहिले नै नेपालको एक मात्र आधुनिक गुरुकुल, योग तथा प्राकृतिक अस्पताल र रेडियोसमेत सञ्चालनमा रहेको यस क्षेत्रमा ‘मिनी मुक्तिनाथ’ परियोजनाको अन्तिम चरणको निर्माण भइरहेको छ । जसमा १०८ धाराबाट स्नान गर्न मिल्ने संरचना बनाइँदैछ ।

धार्मिक पर्यटनले नेपालको स्थानीय आर्थिक विकास, रोजगारी र अन्तर्राष्ट्रिय पहिचान विस्तारमा अत्यन्त ठूलो सम्भावना बोकेको छ । भारतको प्रयागराजमा सन् २०२५ मा सम्पन्न महाकुम्भ मेलाले ६६ करोडभन्दा बढी श्रद्धालु आकर्षित गर्दै ६ लाख अस्थायी रोजगारी र २–३ लाख करोड भारतीय रुपैयाँ बराबरको आर्थिक गतिविधि सिर्जना गरेको थियो ।

नेपालको उत्तरवाहिनी क्षेत्रले पनि यस्तो स्तरको धार्मिक पर्यटक भित्राउन सक्ने क्षमता बोकेको भए तापनि आवश्यक सरकारी ध्यान, पूर्वाधार निर्माण र प्रचारप्रसार अभाव देखिन्छ । कालीगण्डकी उत्तरवाहिनी जस्ता तीर्थस्थललाई राष्ट्रिय पर्वसरह मान्यता दिई पूर्वतयारी र स्रोत परिचालन गरिए धार्मिक पर्यटनको विशाल सम्भावनालाई मूर्तरूप दिन सकिने विज्ञहरुको दाबी छ ।
कालीगण्डकी उत्तरवाहिनी केवल एक धार्मिक स्थल नभई नेपालको आध्यात्मिक सम्पदा, सांस्कृतिक गौरव र आर्थिक समृद्धिको एक सम्भावनाशील आधार हो । यो अवसरलाई समयमै चिने भने नेपालले आफ्नै भूमि भित्रै ‘पवित्र तीर्थको यात्रा’ को अनुभव दिन सक्ने धार्मिक अगुवा गुरु आचार्य चैतन्यकृष्णको विश्वास छ ।

पूर्वाधार सुदृढीकरण गर्दै सडक, शौचालय, आवास, स्नानस्थलको स्तरीय व्यवस्थापन गर्न जरुरी रहेको यहाँका अगुवाहरुको सुझाव छ । साथै सुरक्षा व्यवस्थालाई विशेष ध्यान दिनुपर्नेछ । ठूलो जनसङ्ख्याको आवागमनलाई ध्यानमा राखेर पर्याप्त सुरक्षा बल र एम्बुलेन्स सेवाको प्रबन्ध मिलाउने र अनुसाशित स्वयम्‌सेवक दस्ता तयार पार्नुपर्ने सुझाव छ ।

गण्डकी र लुम्बिनी प्रदेशका सरकारले संयुक्तरूपमा देश–विदेशमा अभियान मार्फत प्रचार प्रसारका काम गर्न सकिने वरिष्ठ पत्रकार डीआर घिमिरेको सुझाव छ । स्थानीय समुदाय, धार्मिक संस्था, पर्यटन व्यवसायी र स्वयंसेवकको संलग्नता बढाउने तर्फ आजैदेखि योजना बनाउन जरुरी रहेको वरिष्ठ पत्रकार घिमिरे बताउँछन् । ‘हरेक वर्ष स्वतःस्फूर्त रूपमा सञ्चालन हुने स्थायी संरचना, ब्राण्डिङ र नीति निर्माणको खाँचो छ’ घिमिरेको भनाइ छ ।