

मधु खनाल
तनाव भनेको मानिसको जीवनमा आउने परिवर्तन, घटना र परिस्थितिहरूले शारीरिक तथा मानसिक रूपमा दिने प्रतिक्रिया हो, तनावको प्रमुख असर मानसिक स्वास्थ्यमा पार्दछ । मानसिक स्वास्थ्य भनेको व्यक्तिको मनोवैज्ञानिक अवस्था हो, जसमा भावना, सोच, व्यवहार र सामाजिक पक्षहरू समेटिएका हुन्छन् । तनावलाई कठिन परिस्थितिका कारण उत्पन्न हुने चिन्ता वा मानसिक दबाबको अवस्था पनि भन्न सकिन्छ । मानसिक स्वास्थ्यले हाम्रो भावनात्मक, मनोवैज्ञानिक र सामाजिक पक्षको समग्र अवस्था जनाउँछ, र कमजोर मानसिक स्वास्थ्यले प्राय तनाव निम्त्याउँछ ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा प्रत्येक चारमध्ये एक जना व्यक्ति कुनै न कुनै समयमा मानसिक वा स्नायु सम्बन्धी समस्याबाट प्रभावित भएका छन् । हाल करिब ४५ करोड मानिस यस्ता मानसिक समस्याबाट पीडित छन्, जसले मानसिक रोगलाई विश्वभर स्वास्थ्य समस्याको प्रमुख कारणमध्ये एक बनाएको छ ।
तनावले हाम्रो सोच, भावना र व्यवहारलाई असर गर्छ । यो कुनै एक उमेर समूहमा सीमित नरही सबै उमेरका मानिसमा देखापर्छ, तर पछिल्लो समय तनावको सर्बाधिक प्रभाव युवाहरूमा देखिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार युवावस्थालाई १५ देखि २४ वर्षसम्मको उमेर समूहको संक्रमणकालीन समय मानिन्छ, यद्यपि विभिन्न संस्था र देशहरूले यसको परिभाषा केही फरक तरीकाले गरेका छन् । नेपालमा राष्ट्रिय युवा नीति, २०७२ अनुसार १६ देखि ४० वर्ष उमेर समूहलाई युवा मानिन्छ । हालको राष्ट्रिय तथ्यांकअनुसार यो उमेर समूहले नेपाल जनसंख्याको लगभग ४२ देखी ४३ प्रतिशत हिस्सा ओगटेको छ । तनावले युवाको मनस्थिति, एकाग्रता, निद्रा र समग्र मानसिक स्वास्थ्यमा प्रत्यक्ष असर पार्दछ। जब तनाव अत्यधिक हुन्छ, तब यसले सामाजिक एकान्तता, आक्रोश, शारीरिक रोग वा लागूपदार्थको प्रयोगजस्ता गम्भीर समस्याहरू निम्त्याउन सक्छ। विगतका पुस्ताहरूको तुलनामा आजका युवाहरूमा तनावको स्तर उल्लेखनीय रूपमा वृद्धि भएको विभिन्न अध्ययनहरूले देखाएका छ ।
सन् २०२० मा गरिएको नेपाल राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षणअनुसार करिब ५.२ प्रतिशत जनसंख्या वयस्क मानसिक समस्याबाट पीडित छन्, र तीमध्ये धेरैजसोको सुरुआत युवावस्थाबाटै हुने गरेको देखिएको छ । नेपाल प्रहरीको २०२२–२०२३ को तथ्याङ्क अनुसार आत्महत्यामा सबैभन्दा बढी प्रभावित समूहहरूमा विद्यार्थीहरू दोस्रो स्थानमा छन्, जुन तथ्यले नेपाली युवाबीच मानसिक असन्तुलन र तनावको अवस्था गम्भीर बन्दै गएको संकेत गर्छ ।
तनाव जीवनको नछुट्न यथार्थ हो । शिक्षा, करियर, आर्थिक अवस्था, समय व्यवस्थापन र सम्बन्धजस्ता चुनौतीहरू युवाहरूले दैनिक जीवनमा भोगिरहेका छन् । तनाव सबैको जीवनमा हुन्छ, तर यसलाई सही तरिकाले व्यवस्थापन गर्न सकिएमा यसको असर कम गर्न सकिन्छ । कतिपय युवाहरू तनावलाई सजिलै सामना गर्छन् भने धेरैजना तनावका कारण नकारात्मक असर भोगिरहेका हुन्छन् ।
रोजगारीको प्रतिस्पर्धा, करियरको दबाब, आर्थिक अनिश्चितता र अध्ययन वा रोजगारीका लागि विदेश जाने प्रवृत्ति नेपाली युवाबीच तीव्र गतिमा बढ्दो छ। यी सबै कारणले उनीहरूको मानसिक स्वास्थ्यमा नकारात्मक असर पारिरहेको छ। साथै, मोबाइल र सामाजिक सञ्जालमा बित्ने अत्यधिक समयले उपलब्धि देखाउने र अरूको जीवनसँग तुलना गर्ने अस्वस्थ प्रतिस्पर्धा जन्माएको छ। यस्तो प्रवृत्तिले युवामा निराशा, आत्म सन्देह र तनावको अनुभव झनै बढाइरहेको छ ।
तनाव विभिन्न तरिकाले आउँछ मानसिक, भावनात्मक, शारीरिक र अन्य रूपहरूमा। धेरैपटक तनावको सुरुआत अस्वस्थ वातावरणबाट हुन्छ र यो जीवनभर टिक्न सक्छ। विभिन्न अध्ययनहरूले देखाएका छन् कि नेपालका युवाहरूमा तनावको स्तर दिनप्रतिदिन बढ्दै गएको छ, जुन हाम्रो समाजका लागि चिन्ताजनक विषय हो ।
व्यस्त र छिटो गतिमा चल्ने जीवनशैलीमा मानिसहरूले प्राय वर्तमानमा बाँच्न भुल्छन् र विगतका कुरामा डुब्छ वा भविष्यको चिन्तामा फस्छन्, तनावसँग सामना गर्ने सबैभन्दा प्रभावकारी तरिका बुद्ध धर्मले सिकाउँछ, जुन युवाहरूले आफ्नो व्यस्त जीवनशैलीमा समेत सजिलै अपनाउन सक्छन् । धेरै अध्ययनहरूले देखाएका छन् कि नियमित रूपमा ध्यान र सचेतन अभ्यास गर्दा स्वास्थ्य सकारात्मक प्रभाव पर्छ । बुद्ध धर्ममा आधारित सचेतना अभ्यासले रक्तचाप कम गर्न, निद्रा सुधार्न, पीडा व्यवस्थापन गर्न र स्वस्थ जीवनशैली अपनाउन मद्दत गर्छ । बुद्धका शिक्षाहरूले मानिसलाई वर्तमान क्षणमा ध्यान केन्द्रित गर्न र मनको शान्ति खोज्न प्रोत्साहित गर्छ, जसले मानसिक तनाव कम गर्न र जीवनलाई सन्तुलित बनाउन सहयोग पुर्या्उँछ ।
आजको तीव्र प्रतिस्पर्धात्मक र प्रविधिमैत्री समाजमा, मानसिक तनाव युवाहरूको जीवनमा सामान्य चुनौती बनेको छ । यस्ता अवस्थामा बौद्ध धर्मका शिक्षाले आत्म चिन्तन, करुणा र सचेत जीवनशैलीको अभ्यासमार्फत युवाहरूलाई सन्तुलित र सकारात्मक मार्गतर्फ लाग्छ । ध्यान जस्ता अभ्यासहरूले कुनै धर्म विशेषमा सीमित नभई सबैका लागि उपयोगी हुन सक्छन् । यदि हामीले शिक्षण संस्थामा, परिवारमा र सामाजिक वृत्तमा यस्ता अभ्यासलाई प्रवद्र्धन गर्न सके, भविष्यको पुस्ताले तनावमुक्त र मानसिक रूपमा सशक्त जीवन बाँच्न सक्छ ।
धेरै आधुनिक अनुसन्धानहरूले देखाएका छन् कि ध्यानले तनाव, डिप्रेसन र बेचैनी कम गर्न महत्वपूर्ण भूमिका खेल्दछ । एक अध्ययन अनुसार, दैनिक १० देखि २० मिनेट ध्यानले मानिसको दिमागमा सकारात्मक परिवर्तन ल्याउँछ, जसले भावनात्मक नियन्त्रण र मनोबल बढाउँछ । यस्तो अभ्यासले न्यूरोबायोलोजिकल स्तरमा समेत फाइदा पुर्याउने देखिएको छ, जसले तनावपूर्ण परिस्थितिमा पनि दिमागलाई शान्त राख्न सक्षम बनाउँछ ।
बौद्ध धर्मका महत्वपूर्ण आधारहरूमा चार आर्य सत्य, पाँच शील, आठआर्य अष्टाङ्गिक मार्ग पर्दछन् । यी शिक्षाहरूले मानिसलाई दुखको कारण बुझ्न र त्यसबाट मुक्त हुने मार्ग देखाउँछन् । विशेषगरी, चार आर्य सत्यले दुःखको सत्य र त्यसको अन्त्य कसरी सम्भव छ भन्ने आधार प्रदान गर्छ भने, आठआर्य अष्टाङ्गिक मार्गले सही दृष्टिकोण र आचरणमार्फत मानसिक शान्ति र सन्तुलनको अभ्यास सिकाउँछ। पाँच शीलले युवामा नैतिकता र सदाचार विकास गर्छ, जसले मानसिक अस्थिरता कम गर्दै मनलाई शान्त र सजग बनाउँछ। हिंसा, चोरी, झूट, अनुचित यौन व्यवहार र मादक पदार्थबाट टाढा रहन सिकाउनुले युवालाई मानसिक तनावबाट टाढा लग्छ ।
बौद्ध धर्म केवल ध्यान र शान्तिको अभ्यासमा सीमित छैन, यसले जीवनको गहिरो उद्देश्य बुझ्न र दुःखबाट मुक्ति पाउन स्पष्ट मार्गदर्शन दिन्छ। यसको शिक्षाले युवाहरूलाई नैतिक जीवन बिताउने, आफ्नो सोचलाई सकारात्मक बनाउने र आध्यात्मिक रूपमा विकसित हुने आधार दिन्छ। आजको दौडधुप र मानसिक चुनौतीले भरिएको समयमा बौद्ध दर्शनले युवाहरूलाई आन्तरिक शान्ति, आत्मबोध र जीवनप्रतिको गहिरो समझ दिलाउन सक्छ। यस्तो सोच र अभ्यासले न केवल मानसिक स्वास्थ्य बलियो बनाउँछ, जीवनलाई नै नयाँ दिशा दिन सक्छ ।
आजकल धेरै युवा तनाव, डिप्रेसन, चिन्ताजस्ता मानसिक समस्याबाट पीडित छन् । यस्तो अवस्थामा बौद्ध दर्शन निकै उपयोगी हुन सक्छ । ध्यान र आफ्नै मनलाई बुझ्ने अभ्यासमार्फत बौद्ध दर्शनले युवाहरूलाई मानसिक समस्याबाट बाहिर निस्कन सहयोग पुर्यायउँछ। ध्यानले आफ्नो भावना र सोचलाई नकारात्मक मूल्यांकन बिना हेर्न सिकाउँछ, जसले मनलाई शान्त राख्न मद्दत गर्छ । यसले आत्मविश्वास बढाउँछ, आत्मसम्बन्ध बलियो बनाउँछ र मानसिक समस्यासँग जोडिएको लाज हटाउन सहयोग पुर्याछउँछ । बौद्ध अभ्यासहरू दैनिक जीवनमा अपनाउँदा मनको शान्ति, सकारात्मक सोच र जीवनमा गहिरो परिवर्तन सम्भव हुन्छ ।
निष्कर्षमा, बौद्ध दर्शनले युवाहरूलाई केवल शान्त महसुस गराउने मात्र होइन, जीवनमा अर्थ र दिशा खोज्न मद्दत गर्छ। आजको समयमा जब धेरै युवा अन्योल, तनाव र निराशाको स्थितिमा छन्, बौद्ध अभ्यासले उनीहरूलाई आफ्नै भित्र शान्ति र उत्तर खोज्न प्रेरणा दिन सक्छ । आत्मअनुशासन, ध्यान र दयाको अभ्यासले सोचाइमा स्पष्टता ल्याउँछ र आत्मबल बढाउँछ । यस्तो सोचले युवालाई नकारात्मक अवस्थाबाट बाहिर निकालेर सकारात्मक र उद्देश्यपूर्ण जीवनतर्फ अगाडि बढाउन सक्छ । भवतु सब्ब मङ्गलम् !! (लेखक लुम्बिनी बौद्ध विद्यालयमा बि.ए.एल.एल.बि चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थी हुन् ।)