सिद्धबाबा सुरूङमार्ग: १७ महिनामा ५८ प्रतिशत भौतिक प्रगति

मेचीकाली संवाददाता

२९ असार २०८२, आईतवार
62 shares

बुटवल। पहाडलाई तराईसँग जोड्ने सिद्धार्थ राजमार्गको जोखिमपूर्ण खण्ड सिद्धबाबामा निर्माणधीन चर्चित सुरूङमार्गको काम तीव्र गतिमा भइरहेको छ । बाह्रै महिना ढुंगा/पहिलो झर्ने पाल्पाको तिनाउ गाउँपालिका–३ कुहिरेभिरमा बन्दै गरेको १ हजार १२६ मिटर लामो सिद्धबाबा ‘टनेल’ को १७ महिनामा ५८ प्रतिशत भौतिक प्रगति भएको छ । २०७९ मा निर्माण ठेक्का प्रक्रिया अघि बढे पनि सुरूङमार्ग खन्न ४ माघ २०८० बाट थालिएको थियो । सिद्धबाबा सुरूङमार्ग आयोजनाका अनुसार शुक्रबारसम्म टर्नेलको भौतिक प्रगति ५७.५१ प्रतिशत र ५१.१ प्रतिशत वित्तीय प्रगति भएको छ । ३ वटा ‘बाइपास’ र मूल ‘टनेल’को गएको माघ १० गते ‘ब्रेक थु्र’ भएको थियो ।

सुरुङमार्गको मुख्य टर्नेल भुइँ भागको ढलान (इन्भर्ट) को काम सकिएको छ । मुख्य टनेलकै भित्री सुरुङको भित्री पर्खालमा गरिने संरचनात्मक लेपन (लाइनिङ) को काम ९ सय १८ मिटर सकिएको छ । यस्तै बाइपास–१ र बाइपास–३ मा पनि ‘इन्भर्ट र लाइनिङ’को काम भइरहेको छ । १५१ मिटर लम्बाइको बाइपास–१ मा इन्भर्टको १४५ मिटर र लाइनिङको १२४ मिटर काम भइसकेको छ । १६१ मिटर लम्बाइको बाइपास–२ मा अहिलेसम्म इन्भर्टको काम ४६.५ मिटर भएको भ भने लाइनिङको काम सुरु भएको छैन । १३० मिटर लम्बाइको बाइपास–३ मा इन्र्भटको १२५ मिटर र लाइनिङको ४२.९ मिटर काम भइसकेको छ ।
यस्तैगरी स्लोप प्रोटेक्सनको दक्षिणतर्फ २ हजार ३०० मध्ये एक हजार ४९५, उत्तरतर्फ एक हजार १०० मध्ये ४९५, एमआरवान माउन्टेन साइड ९ हजार ६२० मध्ये ४८१, एमआरटु माउन्टेन साइट ७ हजार ४४० मध्ये १४१४ स्वायर मिटर काम भएको आयोजनाले जनाएको छ । यस्तै एमआरवान रिभर साइड र एमआरटु रिभर साइडतर्फ काम सुरु भएको छैन ।

आयोजनाकी इन्जिनियर सविता ज्ञवालीका अनुसार अहिलेको गतिमा निर्माण भए निर्धारित मितिमै आयोजना सम्पन्न हुनेछ । ‘अहिले मुख्य टनेलमा इन्र्भट (ढलान) को काम सकिएको छ, ‘लाइटिङ’को काम भइरहको छ’ इन्जिनियर ज्ञवालीले भनिन्,‘ ‘अफ्ठ्यारो परिस्थिति आए अहिले पनि टर्नेलबाट गाडी वारपार गराउने अवस्थामा आइपुगेका छौं ।’

ज्ञवालीले थपिन्, ‘ सम्पूर्ण ध्यान केन्द्रित गरी आयोजना निर्माणमा केन्द्रित छ । ब्रेक थु्र पनि निर्धारित मितिमै भएको हो, अन्य कुनै अवरोध सिर्जना नभए अबको २ वर्षमा तराई र पहाडलाई जोड्ने सिद्धबाबा सुरुङमार्ग तयार भएर सञ्चालनमा आउनेछ ।’ वि.सं.२०७९ मा ठेक्का प्रक्रिया सकेपछि साइड क्लियर गरेको आयोजनाको भौतिक निर्माणको काम सुरू भएको डेढ वर्ष भएको छ । टनेल ७ अर्ब ३४ करोड २१ लाख रूपैयाँको लागतमा सुरुङमार्ग चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सीएससीइसी) ले निर्माण गरिरहेको छ ।

सिद्धबाबा सुरुङ मार्ग आयोजना कार्यालयका प्रमुख इन्जिनियर कृष्णराज अधिकारीका अनुसार वर्षा सकिएलगत्तै चिडियाखोला–सिद्धबाबा मन्दिर र दोभान खण्डमा यो प्रविधिको प्रयोग थालिने छ । वि.सं.२०८३ सालभित्र काम सम्पन्न गर्ने लक्ष्य लिइएको छ । सिद्धबाबा खण्डमा सुरुङबाहेकको सडकमा स्लोप स्टेबलाइजेशन र रक ब्यारिएर विधि अपनाएर जोखिम न्यूनीकरण गर्ने विधि अपनाइने छ जुन धेरै देशमा जोखिमपूर्ण स्थानमा सफल मानिएको छ ।

स्वीस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअप्रेशन (एसडिसी) ले २०७५ सालमा यो क्षेत्रको सर्वेक्षण गरी सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरेको थियो । उक्त कम्पनीले सिद्धार्थ राजमार्गको चिडियाखोला–बर्तुङ सडकखण्डको सिद्धबाबादेखि दोभान प्रहरी चौकीसम्मको दुई हजार ७०० मिटर सडकक्षेत्र उच्च जोखिमयुक्त रहेको प्रतिवेदन पेश गरेको थियो । विशाल चट्टान तथा पहिरोयुक्त क्षेत्रमा सुरुङको आवश्यकता ठहर गर्दै निर्माण सुरु गरिएको हो ।

गएको एक दशकमा सिद्धबाबा खण्डमा पहिरो खस्दा र दुर्घटना हुँदा ७० जनाभन्दा बढीको मृत्यु भएको सरकारी तथ्यांक छ । गएको मंगलबार पहिरो झरेर पाल्पाको रामपुरका जनक भण्डारीको मृत्यु भएको छ भने, उनकी पत्नी कल्पना गम्भीर घाइते छन् । बुटवल–पाल्पा सडक वि.सं.२०१८ सालदेखि खन्न सुरू भएको थियो । अब सरकारले बुटवल पोखरा सिद्धार्थ राजमार्गको सबै खण्डलाई विस्तार गर्ने काम अघि बढाएको छ ।

यो खण्डमा अहिले दैनिक २ हजार ५०० सवारीसाधन गुड्छन् । सिद्धबाबा सडक भएर पाल्पा, स्याङ्जा, गुल्मी, पोखरा, बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङ र अर्घाखाँचीसम्म पुग्ने गरिन्छ । धेरै नागरिकको पहिरोमा परेर अकालमै ज्यान जान थालेपछि सिद्धबाबामा सुरुङमार्गको आवश्यकता महशुस भएको थियो । यहाँ सुरुङमार्गको आवश्यकतालाई विश्लेषण गरेर रूपन्देही क्षेत्र नम्बर २ का सांसद तथा अर्थमन्त्री विष्णु पौडेलको पहलमा काम अगाडि बढेको हो । सुरुङ मार्ग बनेपछि सिद्धार्थ राजमार्ग सुरक्षित र भरपर्दो सडक बन्नेछ । यो आयोजना यस क्षेत्रका लागि निकै महत्वपूर्ण छ । यो आयोजना बनेपछि पाल्पाका मानिस कार्यालय भेट्टाउन बुटवल आउन र बुटवलका मानिस सरकारी कामकाजका लागि तानसेनसम्म पुग्न समस्या नहुने विश्वास छ ।