

अमृत गिरी
बुटवल । परासी–भूमही सडक खण्ड अब केवल यातायातको मार्ग मात्र होइन, लुम्बिनी प्रदेशको सम्भावित औद्योगिक राजधानीको मेरुदण्डका रूपमा उदाउँदैछ । एक दशकको हाराहारीमा मात्रै यो सडकखण्डमा अर्बौंको लगानीमा दुई सयभन्दा धेरै उद्योग स्थापना भइसकेका छन् ।
यो क्षेत्र उद्योग स्थापनाका लागि निर्विकल्पजस्तै बनेको छ । बुद्ध जन्मस्थल लुम्बिनी आसपासका क्षेत्रमा बन्देज लाग्नु, भैरहवा–बुटवल क्षेत्रमा घना बस्ती र छोइनसक्नुको जग्गा, दक्षिणमा भारत पर्ने भएकाले उद्योग स्थापनाको उपयुक्त र निर्विकल्प क्षेत्र यहीँ हुलाकी राजमार्ग आसपास बनिरहेको छ । उद्योगमैत्री र निर्यातमुखी नीति, प्रयाप्त ऊर्जासहितको पूर्वाधार, प्रभावकारी वातावरणीय व्यवस्थापन र दक्षतासहितको स्थानीय जनशक्तिको विकास भयो भने हुलाकी रोडको यो खण्ड मुलुककै प्रमुख औद्योगिक हब बन्ने सम्भावना रहेको उद्योगीहरु बताउँछन् ।
‘उद्योगमैत्री नीति, स्थानीयको अपनत्वसहितको व्यापक रोजगारी, स्थानीय कृषिमा आधारित कच्चा पदार्थका उद्योग, स्थानीय स्तरमा उत्पादित दक्ष जनशक्तिको खपत, प्रयाप्त ऊर्जाको प्रबन्ध गर्ने हो भने यो क्षेत्रले आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान दिने निश्चित छ,’लामो समयदेखि यसक्षेत्रमा उद्योग सञ्चालनको अनुभव राखेका उद्योगी राजेशकुमार अग्रवालको भनाइ छ ।
भैरहवा–परासी–भूमही खण्डमा पर्ने हुलाकी राजमार्ग आसपास दुई सयभन्दा धेरै साना, मझौला, ठूला बहुराष्ट्रिय उद्योगहरू स्थापना भइसकेका छन् । मुलुककै ठूलोमध्येको श्री स्टील उद्योग र बहुराष्ट्रिय कम्पनीका हुण्डाई, होण्डाका गाडीका उद्योग देखि पेय पदार्थ पेस्पीका ठूला उद्योग यहीँ क्षेत्रमा छन् ।
श्री स्टील उद्योग मुलुककै ठूलोमध्येको उद्योग हो जसमा दुई अर्ब भन्दा धेरै लगानी छ भने विद्युत् खपत ३० हजार केभीएभन्दा धेरै छ । तर, उद्योगले सहज रुपमा विद्युत् आपूर्ती पाइरहेको छैन । भैरहवाको सिद्धार्थ ग्रुपले साझेदारीमा हुलाकी सडक परिसरमा खुलेको उद्योगको दैनिक ९ सय मेट्रिकटन उत्पादन क्षमता रहेको उद्योगी अग्रवालको भनाइ छ ।
लक्ष्मी ग्रुपले पनि २ अर्ब लगानी गरेर भैरहवामै सिद्धिलक्ष्मी स्टिल उद्योग सञ्चालनमा ल्याएको छ । हुलाकी रोडको यो खण्ड औद्योगिक हबका रुपमा विकसित हुँदै गएको भैरहवा–परासी कोरिडोरमा लगानीकर्ताहरु आकर्षित भएको नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य एवं सिद्धार्थ ग्रुपका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालको भनाइ छ । हुलाकी राजमार्गले नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्लाको आर्थिक गतिविधिलाई तीव्र बनाएको मात्रै होइन, यसक्षेत्रको आर्थिक, सामाजिक रुपान्तरणमै योगदान दिइरहेको अग्रवालले बताए ।
मुलुकको मौलिकता सुहाउँदो उपयुक्त नीति, स्थानीय कच्चा पदार्थमा आधारित पूर्वाधारको विकास, स्थानीयलाई प्राथमिकतामा राखिएको व्यापक रोजगारी, प्रतिकूल असर नपारिएको वातावरण र स्थानीय अपनत्वबिच सन्तुलन मिलाउँदै अघि बढ्ने हो भने यो क्षेत्रमा आर्थिक केन्द्र बन्ने निश्चित रहेको रोहिणीका बासिन्दा समेत रहेका यसक्षेत्रका अगुवा सञ्जय गुप्ताको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व प्रदेश अध्यक्ष तथा उद्योगी गुणनिधि तिवारीले हुलाकी सडकले सस्तो लजिस्टिक, भारत निकटताको फाइदा र व्यापारिक सहजता दिएकाले यसक्षेत्रमा उद्योग स्थापनाको लहर चलेको बताउँछन् । कतिपय नीतिगत व्यवस्था र खुला सीमानाको फाइदा उठाउँदै हुने अवैध गतिविधिलाई नियन्त्रण गर्दै उद्योगमैत्री वातावरणको भने विकास गर्न जरुरी रहेको तिवारीको भनाइ छ ।
सानाठुला सयभन्दा धेरै उद्योग, अर्बौंको लगानी
भैरहवा–परासी–भूमही र आसपासमा समृृद्धि गोयल स्पाथ, श्रीस्टील, सिद्धि लक्ष्मी, पेप्सी, हुण्डाई, मनकामना, बालाजी एग्रो, मारुति, विजय डिस्टिलरीजस्ता उद्योगहरूले करोडौंदेखि अर्बौंको लगानी गरिसकेका छन् । स्टिल, खाद्यान्न, प्लास्टिक, अटो पाट्र्स, निर्माण सामग्रीलगायत क्षेत्रका उत्पादन गर्दै आएका छन् ।
यसक्षेत्रमा चामल उद्योग सञ्चालन गर्दै आएका उद्योगी वीरेन्द्र अग्रहरी भनाइमा ऊर्जा संकट, ऋणको चर्को ब्याजदर र उद्योगमैत्री नीतिको अभावले उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको र समस्यामा रहेको गुनासो गर्छन् । उनले बैंकको ब्याजदर ७ प्रतिशतमा लिएको अहिले १४ भन्दा माथि पुगिसकेको र उद्योगमा समस्या भने बढिरहेको गुनासो गरे ।
अटोमेटिक उद्योग, कम जनशक्तिले थेग्ने प्रविधि
यसक्षेत्रमा रहेका अधिकांश उद्योगहरु अटोमेटिक प्लान्टका छन् । ‘मेनुअल विधिका भए धेरै भन्दा धेरै जनशक्ति आवश्यक पर्ने हुन्थ्यो तर, अटोमेटिक हुँदा एकाद्य दक्ष जनशक्तिले पनि चल्न सक्ने अवस्था छ,’उद्योगी तिवारी भन्छन्,‘धेरै उद्योग अटोमेटिक प्लान्टमा आधारित भएकाले रोजगारीमा अपेक्षाकृत विस्तार हुन सकेको छैन ।’
पूर्वाधार, नीति र वातावरणीय सन्तुलनको चुनौती
औद्योगिक विस्तार गतिशील देखिए पनि, पूर्वाधारको कमजोरी, विद्युत् र इन्धन आपूर्तिमा अस्थिरता, वातावरणीय मूल्याङ्कनको कमजोरी, उद्योग वर्गीकरणको अभाव र कर नीतिको अस्पष्टता उद्योग विस्तारमा चुनौती बनेका छन् । उद्योगी टंक पराजुली भन्छन्,‘लुम्बिनी क्षेत्रमा सहरीकरण र जमिनको अभावका कारण लगानीकर्ता परासी झरेका हुन् तर यहाँ पनि चुनौती उस्तै छन् र विद्युत्मा मात्रै भएपनि केही सहुलियतको अपेक्षामा धेरै उद्योगीहरु छन् ।’