स्वास्थ्य अधिकारको अवस्था र सरोकारवालाको भूमिका बिषयक अन्तरक्रिया

मेचीकाली संवाददाता

२५ भाद्र २०७८, शुक्रबार
699 shares

सुनिल आचार्य
कपिलवस्तु । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कपिलवस्तुको आयोजना तथा मानवअधिकार समुह वाणगंगाको समन्वयमा स्वास्थ्यको अधिकारको अवस्था र सरोकारवालाहरु बिच अन्तरक्रिया कार्यक्रम वाणगंगा नगरपालिका ४ ठाकुरापुरमा सम्पन्न भएको छ ।

कार्यक्रममा स्वस्थ्यको अधिकारको बिषयमा भएको संबैधानिक ब्यवस्था, स्वास्थ्य तथा प्रजनन स्वास्थ्य अधिकार, कसुर र सजाय सम्बन्धी ब्यवस्था, वाणगंगा नपाकोे स्वास्थ्यको अवस्था तथा कोभिड–१९ ले पारेको असर लगायतका विषयमा वाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले आधारपत्र प्रस्तुत गरेका थिए । स्वास्थ्यका समस्या तथा समाधानका उपाएका वारेमा समेत आधारपत्रमा उल्लेख गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी तथा नगर उपप्रमुख चक्रपाणी अर्यालले इन्सेक मानव अधिकार समुहले नगरपालिकाको वडाहरुका बिभिन्न टोलहरुमा गएर देखिएका समस्याहरुबारे स्थानिय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउँदै आएको भन्दै आयोजकलाई धन्यवाद दिए । सरकारले देशभरीका अस्पतालमा ७० प्रकारका औषधीहरु उपलब्ध गराउने भने तापनि देशका कुनै अस्पतालमा पनि सरकारले निर्धारण गरे अनुसारको औषधी उपलबधता नभएको दावी गरे ।

उपप्रमुख अर्यालले बाढीले अहिले विभिन्न स्वास्थ्य चौकीहरुमा क्षती पुर्याएको र त्यसको नगरलेकेही क्षतीपूर्ती गरिसकेको र केहीको लागि पहल गरिएको बताए । यस स्थानियतह भित्रका स्वास्थ्य चौकीहरुमा निःशुल्क औषधीको अभाव नभएको बताउँदै आवधिक योजना बनाई नगर अघि बढेको जनाए । नगरका वडाको स्वास्थ्य चौकीहरुमा ल्याव संचालनमा ल्याएको छ, तर संचालन भएका स्वास्थ्य चौकीहरुका ल्यावमा शुल्क तोकिएको छ । नगरपालिकाले हरेक कार्यहरुलाई सुशासन र सेवा प्रवाहको गतिमा अगाडी बढाइएको उपप्रमुख अर्यालले बताए । अन्तरक्रियामा आएका बिषयहरुलाई नगरपालिकाको बैठकमा छलफल गरी अगाडी बढाउने बताउँदै नगरका सम्पुर्ण वडाका नागरिकहरु स्वास्थ्य चौकीको पौंचमा रहेको बताए ।

यस्तै वाणगंगा ४ गजेहडा स्वास्थ्य चौकीका ईन्चार्ज द्रोण प्रसाद बेल्वासेले कोभिड–१९ ले स्वास्थ्य क्षेत्र, शिक्षा क्षेत्र लगाएत बिभिन्न क्षेत्रलाई प्रभाव पारेको बताए । कोभिडको आक्रान्तको बेलामा स्वास्थ्य क्षेत्रमा कुनै कसर नराखी स्वास्थ्यकर्मीहरु सक्रिय भएर बिरामीहरुलाई सेवा दिईएको बताए । उनले जनसंख्याको बृद्धिहुँदै जाँदा पनि महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई कामगर्न कठिनाई भएको बताए । रातदिन अहोरात्र खटिएर काम गर्दै आएका स्वयमसेवीकाहरुलाई पारिश्रमिक नतोकिएको भएपनि नगर तथा वडाले प्रोत्साहन गर्दै आएको जानकारी दिए ।

यस्तै मोतीपुर स्वास्थ्य चौकीका इन्चार्ज हेमराज घिमिरेले स्वास्थ्यकर्मीहरु जोखिमका साथै दवाब मोलेर काम गर्नुपर्ने भएको बताए । कोभिड १९ को खोप लक्षित समुहलाई तोकेर आएको खोप लक्षितलाई लगाउन नपाई बाहिरीलाई लगाउनु पर्दा दुख लाएर आउने बताए । गर्भवति परिक्षण, बर्थिगं सेन्टरमा सुत्केरी गराउन बाध्य रहे पनि सुरक्षाका लागी आवश्यक सामाग्री पुर्णरुपमा नभएको र जनशक्ति अपुग रहेका कारण समस्या भएको बताए । प्रत्येक बर्ष ८ सय जना महिलाहरुले सुरक्षित गर्भपतन सेवा लिईरहेको बताए । अन्य स्वास्थ्य सम्बन्धि सेवाहरु निरन्तर चलिरहेको बताउँदै स्वास्थ्य संस्था अपाङ् मैत्री रहेको बताए । यस्तै प्रत्येक वर्ष बालबालिकाहरुका लागि आउने गरेको बालबिटा जमेको पाइएकोले वितरण गर्न छोडीएको उनको भनाई छ ।

यसैगरी पटना स्वास्थ्य चौकीका इन्चार्ज पर्सुराम थारुले इन्सेक मानव अधिकार समुहलाई धन्यवाल दिंदै आगामी दिनहरुमा गाउँगाउँमा पुगेर अभियान संचालन गरे त्याहाका नागरिहरुले पनि अधिकारको बारेमा जान्न पाउने बताए । स्वास्थ्यचौकी अपाङ्गमैत्री भएपनि शौचालय अपाङ्मैत्री नभएको साथै डिपो , कुष्ठ रोग लगाएतका आवश्यक औषधी समयमा उपलब्ध हुन नसक्दा सेवाग्राहीहरुलाई सेवादिन समस्या भएकोे गुनासो गरेका छन् । पटना स्वास्थ्य चौकीमा एकवटा एम्बुलेन्सको आबश्यकता भएको हुँदा बिरामीहरुले सहजरुपमा उपचार सेवा लिनबट बञ्चित भएको बताए ।

यस्तै भलवाड स्वास्थ्य चौकीका इन्चार्ज जित बहादुर रायमाझीले कोभिडको महामारीका बेला स्वास्थ्यकर्मीहरुले आफ्नो ज्यानको पर्वा नराखी सेवा दिएको बताए । अन्य क्षेत्रका कर्मचारीहरुले घरमा बसेर तलव खाए तर स्वास्थ्यकर्मीहरु अहोरात्र खटिएर काम गर्नु परेको बताए । स्वास्थ्य चौकीका लागि आवश्यक जनशक्तिको अभाव रहेकोले सोचे अनुसार सेवा दिन नसकिएको गुनासो गरे । उनले स्थानीय सरकारले स्वास्थ्य चौकीका लागि दरबन्दी कायम गर्नुपर्नेमा जोड दिए ।

सो कार्यक्रममा नागरिक समाज कपिलवस्तुका अध्यक्ष तथा मानव अधिकार रक्षक संजालका जिल्ला संयोजक दोलख बहादुर पछाईले सबै संस्थाले सेवाग्राहीहरुलाई चुस्त दुरुस्त रुपमा सेवा दिन सकेमा मात्र नगरको सपना साकार हुने बताए । उनले बिगतका कमजोरीलाई केलाउँदै अवको नगर कस्तो बनाउने भन्नेतर्फ ध्यान दिन स्थानीय सरकारलाई अनुरोध गरे ।

कार्यक्रममा सामान्य ल्याव परिक्षण गराउनु परे निजि मेडिकलहरुमा जान बाध्य रहेकाले ल्याव संचालन गरिएको हो । स्वास्थ्य चौकिहरुमा गरिने एएनसी जाँचकालागि शुल्क तोकिएको हुँदा नगरले निती बनाएर एएनसी जाँच निशुल्क हुनुपर्नेमा सहभागिहरुले जोड दिएका थिए । साथै कोरोनाको खोपमा पहुँचवालालाई मात्र हेरिएकोले कोभिडको खोपमा अनियमितता भएको गुनासो गरे । स्वयंसेविका संख्या बढाउनुपर्ने, पोषण कार्यक्रममा लक्षित वर्गलाई समेट्न नसकिएको, नगरको नीति र योजना राम्रो नभएको भन्दै सेवाग्राहीहरुले गुनासो गरेका थिए ।

अपाङ् उत्थान समाजका अध्यक्ष कमल प्रसाद ढुंगाना, सामुदायिक अपाङ्ग बचत तथा ऋण सहकारीका रोमलाल घिमिरे, मानव अधिकार समुहका सल्लाहकार चेतना अधिकारी, सामाजिक अभियन्ता देवकला सुवेदी (कमाल), महिला बहुउद्देश्यी सहकारी संस्थाका अध्यक्ष नुमी शर्मा महिला स्वास्थ्य स्वयम्सेविका सरिता पौडेल, शान्ता शाही, लगाएतले कार्यपत्र माथी टिप्पणी तथा नगरपालिकामा रहेका समस्याकाबारे जानकारी गराएका थिए ।

मानवअधिकार समुहका अध्यक्ष इन्दिरा भट्टराईको अध्यक्षता, संघका उपाध्यक्ष इन्दिरा पन्तको स्वागत मन्तव्य रहेको कार्यक्रममा इन्सेक सहजकर्ता पार्बती आचार्यले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुको साथै कार्यक्रमको सहजीकरण गरेकी थिईन् । कार्यक्रममा स्थानीय सरोकारवाला निकाय, नागरिक समाज, मानव अधिकार समुहका कोषाध्यक्ष थानेश्वर अधिकारी, सदस्य रुपादेबी राई, रुपा पालुङ्े मगर, आमा समुह, पत्रकार महासंघका कोषाध्यक्ष मोहन बेल्बासे, पत्रकार सरिता थारु, राधा पाण्डे लगायतको उपस्थिति रहेको थियो ।