

बुटवल । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल, (प्याब्सन) बुटवलको आयोजनामा शुक्रबार अन्तर विद्यालय नगरस्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा गार्गी एकेडेमीले प्रथम स्थान हासिल गरेको छ ।
त्यस्तैगरी तिनाउ इङ्लिस बोर्डिङ स्कुल द्वितीय, बेबिस्टार मन्टेश्वरी तृतीय र देवसिद्ध इङलिस बोर्डिङ स्कुल सान्त्वना भएका छन् । विजेता विद्यालयले क्रमशः १० हजार, ७ हजार ५००, ५ हजार र ३ हजार नगद र प्रमाणपत्र प्राप्त गरेका छन् । उक्त लोक नृत्य प्रतियोगिताको निर्णायक मण्डलको संयोजक बिक्रम राना रहेका थिए । प्याब्सन बुटवलले प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई प्रमाणपत्रसमेत प्रदान गरेको छ । उक्त प्रतियोगितामा प्याब्सन बुटवलमा आबद्ध २६ वटा विद्यालयको सहभागिता रहेको थियो ।
प्याब्सन बुटवलका अध्यक्ष मित्रहरि आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयको प्रमुख आतिथ्यता रहेको थियो । नगर प्रमुख पाण्डेयले बोल्दै शिक्षा क्षेत्रमा प्याब्सनले महत्वपूर्ण कार्य गर्दै अगाडि बढेको बताए । उनले बुटवल शैक्षिक हवको रुपमा विकास हुँदै गएको भन्दै कला र संस्कृतिमा विशेष चासोका साथ महत्व दिएको बताए । उनले शिक्षालाई परिमार्जन गर्दै नैतिक शिक्षालाई जोड दिन आग्रह गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेलले प्याब्सनले हरेक वर्ष रचनात्मक कार्य गर्दै आएको बताए । उनले विद्यार्थीहरुलाई सीप र संस्कारसहितको शिक्षामा जोड दिन आग्रह गरे । त्यस्तैगरी अभिभावक संघ रुपन्देहीका अध्यक्ष तथा केन्द्रीय सदस्य लोकनाथ ज्ञवालीले विद्यार्थीको शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा प्याब्सनमा आबद्ध विद्यालयले राम्रा कार्य गर्दै अगाडि बढेको बताए ।
कार्यक्रममा प्याब्सन नेपालका केन्द्रीय सल्लाहकार तथा न्यू होराइजन माविका प्राचार्य लोकनाथ उपाध्याय, हिसान रुपन्देहीका पूर्व अध्यक्ष तथा अक्सफोर्ड माविका प्राचार्य दिनेश भुसाललगायतको सहभागिता रहेको थियो । कार्यक्रममा प्याब्सन बुटवलका अध्यक्ष मित्रहरि आचार्यले बोल्दै संस्थाले विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको बताए । उनले यस अघि संस्थाको स्थापना दिवसमा बुटवलको नन्दीनी गौशालामा १ लाख सहयोग गरिएको बताउँदै सामाजिक कार्यमा समेत संस्था निरन्तर लागेको बताए ।
कार्यक्रम संस्थाका सचिव भुवन अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।