त्रिवि प्राध्यापक संघ बुटवल क्याम्पसको अध्यक्षमा डा.देवकोटा

मेचीकाली संवाददाता

३१ असार २०८२, मंगलवार
88 shares

बुटवल । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ, बुटवल बहुमुखी क्याम्पस इकाइमा नयाँ कार्यसमिति चयन गरिएको छ । मंगलबार सम्पन्न अधिवेशनमा निर्वाचित सदस्यहरुमध्येबाट संघको विधानअनुसार निर्वाचन समितिको रोहबरमा बसेको भेलाले सर्वसम्मत निर्णय गर्दै पदाधिकारीहरुको जिम्मेवारी बाँडफाँड गरेको हो ।

निर्वाचन समितिका संयोजक जीवन अधिकारीका अनुसार डा. चिरञ्जीवी देवकोटा संघको अध्यक्षमा चयन भएका छन् । त्यस्तै, उपाध्यक्षमा प्रेमप्रसाद पौडेल, सचिवमा होमनाथ चालिसे, सहसचिवमा बलवन्त कुर्मी र कोषाध्यक्षमा डा.तारानाथ भट्टराई निर्विरोध निर्वाचित भएका छन् । यस्तैगरी सदस्यहरुमा सुभाषचन्द्र चौधरी, कुमारीलक्ष्मी शर्मा, कृष्णप्रसाद पाण्डे (भूगोल), राजेशचन्द पौडेल र प्रभा पौडेल चयन भएका छन् ।

नयाँ कार्यसमितिलाई बुटवल बहुमुखी क्याम्पस इकाइमा प्राध्यापकहरुको हित, अधिकार र पेशागत सशक्तिकरणका लागि क्रियाशील हुने अपेक्षा गरिएको छ । निर्वाचन समितिले सम्पूर्ण प्रक्रिया निष्पक्ष, पारदर्शी र विधिसम्मत रूपमा सम्पन्न भएको जनाएको छ ।