देशमै काम, देशमै सम्मानः आले परिवारको प्रेरणादायी यात्रा

मेचीकाली संवाददाता

२ श्रावण २०८२, बिहीबार
256 shares

मिलन गाहा

बुटवल । ‘देशमै केही सम्भव छैन, विदेशै जानुपर्ला’ भन्ने हतोत्साही र निराशावादी सोचलाई चुनौती दिंदै पाल्पाका कुलबहादुर आलेको परिवारले देशमै पनि सम्भावना छ भन्ने भनाइलाई यथार्थमा उतारेका छन् ।

विसं.२०५८ सालमा पाल्पाबाट बुटवलमा झरेर सुरु गरेको सानो डेन्टल क्लिनिक, आज यसक्षेत्रको एक आधुनिक प्राविधिक अस्पतालमा रुपान्तरित भएको छ ।
केवल ४ लाख रुपैयाँको प्रारम्भिक लगानीबाट सुरु भएको आले डेन्टल क्लिनिक अहिले ४ करोड रुपैयाँको लगानीमा विस्तारित भइसकेको छ भने करिब पाँच दर्जन जतिलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ । यो केवल एउटा क्लिनिकको कथा होइन, यो हो स्वदेशमै काम, सेवा, समर्पण र सफलताको उज्यालो यात्राको जीवित उदाहरण पनि हो ।

अवसर सधैं बाहिरै खोज्नुपर्छ भन्ने होइन
क्लिनिकको प्रारम्भ अस्पताल लाइनस्थित सानो सटरबाट भएको थियो । हाल यो अस्पतालमा अत्याधुनिक उपकरण, दक्ष जनशक्ति र सुविधासम्पन्न सेवा उपलब्ध छ । संस्थापक कुलबहादुर आलेले मिसन अस्पतालको अनुभवलाई आधार बनाउँदै सुरु गरेको यो सेवा आज दैनिक सयौं सेवाग्राहीको विश्वासिलो केन्द्र पनि बनेको छ । उनी भन्छन्, ‘हामीले शुरुवातमा पैसाको सोचभन्दा पनि सेवाको भावना राख्यौं । मेहनत ग¥यौं, निरन्तर ग¥यौं र सस्तोमा भरपर्दो सेवा दिएर विश्वास जित्यौं ।’

परम्परा तोड्दै स्वदेशमै उद्यम
मगर बाहुल्य गाउँमा जन्मिएको मगरको सन्तान हुर्केपछि लाहुरे नै हुन जाने चलन थियो र अहिले पनि छ । त्यसबेला कुलबहादुरलाई परिवारले पनि लाहुरे बन्न जा भन्दै थिए । तर, उनले यहीँ केही उद्यम गर्ने सोंच राखे र स्वास्थ्य प्राविधिक विषय अध्ययन गरे । जसले प्रतिफल अहिले उनी यसक्षेत्रका सफल डेण्टल क्लिनिक सञ्चालकका रुपमा स्थापित भएका छन् । आले परिवारको अर्को महत्वपूर्ण पक्ष भनेको ‘लाहुरे परम्परा’ तोड्नु हो । उनका दुई छोराहरू मनोज र सुशील आले विदेश जाने सोच त्यागेर स्वदेशमै डेन्टल शिक्षा लिई पारिवारिक व्यवसायमा सहभागी भए ।

मनोज भन्छन्, ‘हामीले विदेश जाने बाटो रोजेनौं, आफ्नो देशमै अवसर खोज्यौं । काम गर्न सजिलो थिएन, तर गाह्रो पनि होइन । निरन्तरता, प्रतिबद्धता र धैर्य भयो भने देशमै धेरै सम्भावना छन् ।’
हाल अस्पतालमा ५५ जना नेपालीले रोजगारी पाएका छन् । मासिक ७ लाख रूपैयाँसम्मको खर्च धान्न सक्ने स्थिति यस संस्थाले बनाएको छ । यसले युवाहरूका लागि देशमै रहँदै पनि सफलता प्राप्त गर्न सकिने ठोस सन्देश दिन्छ ।

सेवा र करप्रणालीमा अनुकरणीय अभ्यास
आले डेन्टलले व्यवसाय र सेवा दुबैलाई सन्तुलनमा राखेको छ । यो संस्था पश्चिमाञ्चलमै सरकारबाट मान्यता प्राप्त पहिलो निजी डेन्टल क्लिनिक भएको दाबी छ । नियमित कर तिर्दै र सेवाग्राहीमैत्री आचरण निभाउँदै आएको सञ्चालकको दाबी छ । ब्रिटिश आर्मी, सिंगापुर पुलिस, भारतीय भूपू सैनिक, पेन्सनरहरू लगायतले पनि यहाँ सेवा लिने गरेका छन् । यसले कर तिर्ने संस्कार र व्यवसायीको उत्तरदायित्वबोधको अनुपम दृष्टान्त पनि प्रस्तुत गरेको छ ।

देशमै काम, देशमै सम्मान
आज देशका हजारौं युवाहरू खाडी मुलुकतिर, युरोप, जापान, अमेरिका पुग्ने लालसा पालिरहेका छन् । कक्षा १२ पछि नै थुप्रै परिवारहरूले सन्तानलाई लाखौं लाख रकम खर्चेर विदेश पठाउने लहड चलिरहेका बेलामा आले परिवारले भने देशमै लगानी, सेवा र स्वाभिमानको बाटो रोजेर सन्देश दिइरहेको छ । मनोज आले भन्छन्, ‘राज्यले सुरक्षाको प्रत्याभूति दिनुपर्छ, बजारको ग्यारेन्टी दिनुपर्छ, नागरिकले काम गर्न पछि पर्दैनन् । देशमै सम्भावना छ, केवल नेतृत्व र सहजीकरण चाहिन्छ ।’

आले डेन्टल क्लिनिकको कथा केवल एउटा व्यवसायिक यात्रा होइन, यो स्वदेशमा सम्भावना खोज्ने दृढ इच्छाशक्ति, परिश्रम, निष्ठा र दूरदृष्टिको सशक्त सन्देश हो । यसले भन्छ–देशमै काम गरौं, स्वाभिमानका साथ बाँचौं, र समृद्धिको मेरुदण्ड आफैं बन्न सकौं । विदेशमा होइन, नेपालमै अवसर खोजौं–देशले पर्खिरहेको छ, यस्ता जिम्मेवार नागरिकहरू जसले काम गरेर मात्र होइन, उदाहरण बनेर देखाउँछन् ।