भैरहवा र नेपालगञ्ज भन्सारमा राजस्व बढ्यो, भेटिएन लक्ष्य

गत आर्थिक वर्षमा भैरहवा भन्सारमा लक्ष्यको ८७ प्रतिशत र नेपालगञ्ज भन्सारमा ७४ प्रतिशत राजस्व संकलन भएको छ ।

मेचीकाली संवाददाता

४ श्रावण २०८२, शनिबार
16 shares

रमेश पराजुली

बुटवल । लुम्बिनी प्रदेशमा रहेका दुई ठुला भैरहवा र नेपालगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्षमा राजस्व संकलनमा उल्लेखनीय सुधार गरेका छन् । तर, यी दुवै भन्सार कार्यालय गत आव २०८१/८२ मा लक्ष्यअनुसारको राजस्व संकलन गर्न भने असफल भएका छन् । रुपन्देहीको भैरहवा भन्सार कार्यालयबाट लक्ष्यको ८७.०७ प्रतिशत राजस्व संकलन हुँदा उता बाँकेको नेपालगञ्ज भन्सारमा ७४.६३ प्रतिशत मात्रै राजस्व संकलन भएको छ । अघिल्लो आव ०८०/०८१ को तुलनामा गत आवमा भैरहवा भन्सारमा १७.७५ प्रतिशतले राजस्व बढ्दा नेपालगञ्ज भन्सारमा ११.२९ प्रतिशत बढी राजस्व संकलन भएको छ ।

भन्सार विभागले भैरहवा भन्सार कार्यालयलाई गत आर्थिक वर्षका लागि १ खर्ब ९ अर्ब ३३ करोड २२ लाख ५२ हजार राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो । जसमा ८७.०७ प्रतिशत अर्थात् ९५ अर्ब १९ करोड ३८ लाख ९९ हजार राजस्व संकलन भएको कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार आव २०८०/८१ को तुलनामा आव २०८१/८२ मा १४ अर्ब ३५ करोड २१ लाख बढी राजस्व संकलन भएको छ । अघिल्लो आवमा ६३.२४ प्रतिशत अर्थात् ८० अर्ब ८४ करोड १७ लाख राजस्व संकलन भएको थियो । शतप्रतिशत लक्ष्य भेट्टाउन नसकेपनि गत आर्थिक वर्षमा राजस्व संकलनमा उल्लेखनीय मात्रामा वृद्धि भएको कार्यालय प्रमुख रेग्मीको भनाइ छ । ‘समग्रमा अघिल्लो आवमा भएको असुलीको तुलनामा गत आवमा राजस्व संकलनमा धेरै सुधार भएको छ ।’ उनले भने । आयात परिमाणका दृष्टिले भैरहवा मुलुकको दोस्रो ठूलो भन्सार नाका हो । भैरहवा भन्सार कार्यालयले गत आर्थिक वर्षमा असोज महिनामा मात्रै लक्ष्य पूरा गर्न सकेको कार्यालय प्रमुख रेग्मीले बताए ।

कुन महिनामा कति राजस्व संकलन ?
भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीका अनुसार साउन महिनामा ८ अर्ब ७७ करोड २२ लाख ३५ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ८३.५४ प्रतिशत अर्थात् ७ अर्ब ३२ करोड ८१ लाख ८३ हजार, भदौमा ९ अर्ब ९१ करोड ४४ लाख २१ हजार संकलन गर्ने लक्ष्य राखेकोमा ९०.०५ प्रतिशत अर्थात् ८ अर्ब ९२ करोड ७१ लाख ९१ हजार संकलन भएको थियो ।

यस्तै, भैरहवा भन्सारमा असोज महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन भएको छ । असोजमा ८ अर्ब ७८ करोड १६ लाख ८६ हजार संकलन गर्ने लक्ष्य राखेकोमा १००.३९ प्रतिशत अर्थात् ८ अर्ब ८१ करोड ५१ लाख २५ हजार, कात्तिकमा ८ अर्ब ५७ करोड २७ लाख ८१ हजार संकलन गर्ने लक्ष्य राखेकोमा ८३.१७ प्रतिशत अर्थात् ७ अर्ब १२ करोड ९७ लाख ८३ हजार, मंसिरमा ८ अर्ब ४७ करोड ६४ लाख ७१ हजार संकलन गर्ने लक्ष्य राखेकोमा ८२.१७ प्रतिशत अर्थात् ६ अर्ब ९६ करोड ४३ लाख ४४ हजार रुपैयाँ संकलन भएको सूचना अधिकारी चौधरीले जानकारी दिए ।

त्यस्तैगरी पुस महिनामा ८ अर्ब ५१ करोड ५३ लाख ८० हजार संकलन गर्ने लक्ष्य राखेकामा ८०.६४ प्रतिशत अर्थात् ६ अर्ब ८६ करोड ६१ लाख ३४ हजार, माघमा ८ अर्ब ३२ करोड ९९ लाख ४४ हजार संकलन गर्ने लक्ष्य राखेकोमा ८५.८१ प्रतिशत अर्थात् ७ अर्ब १४ करोड ७६ लाख ७ हजार, फागुनमा ९ अर्ब १३ करोड ३२ लाख २२ हजार संकलन गर्ने लक्ष्य राखेकोमा ७९.२१ प्रतिशत अर्थात् ६ अर्ब २३ करोड ४४ लाख १६ हजार रुपैयाँ संकलन भएको थियो ।

यस्तैगरी कार्यालयले गत आर्थिक वर्षको चैतमा ९ अर्ब ५७ करोड ९१ लाख ६२ हजार संकलन गर्ने लक्ष्य राखेकोमा ८५.९८ प्रतिशत अर्थात् ८ अर्ब २३ करोड ५२ लाख ७० हजार, वैशाखमा ९ अर्ब ३७ करोड ५० लाख ८७ हजार संकलन गर्ने लक्ष्य राखेकामा ९५.५९ प्रतिशत अर्थात् ८ अर्ब ९६ करोड १० लाख १९ हजार, जेठमा १० अर्ब ३८ करोड ५१ लाख ९८ हजार संकलन गर्ने लक्ष्य राखेकोमा ८७.५३ प्रतिशत अर्थात् ९ अर्ब ९ करोड २४ हजार, असारमा ९ अर्ब ४९ करोड ६६ लाख ६५ हजार संकलन गर्ने लक्ष्य राखेकामा ८९.४६ प्रतिशत अर्थात् ८ अर्ब ४९ करोड ४८ लाख राजश्व संकलन भएको सूचना अधिकारी चौधरीले बताए ।

भैरहवा भन्सारमा कुन आवमा कति राजस्व संकलन ?
भैरहवा भन्सार कार्यालयले अघिल्लो आव ०८०/०८१ मा १ खर्ब २७ अर्ब ८३ करोड ६६ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । जसमा ८० अर्ब ८३ करोड रुपैयाँ (६३.२४ प्रतिशत) राजस्व संकलन भएको थियो । आव २०७९/८० मा १ खर्ब ५५ अर्ब ६० करोड रुपैयाँको लक्ष्य राखेकोमा ७६ अर्ब ८८ करोड (४९.४१ प्रतिशत) राजस्व संकलन भएको थियो । यस्तै, आव २०७८/७९ मा १ खर्ब २७ अर्ब राजस्व उठाउने लक्ष्य थियो । जसमा १ खर्ब १५ अर्ब रुपैयाँ संकलन भएको थियो । कोभिड महामारीका बिचमा पनि आव २०७७÷७८ मा भने लक्ष्यभन्दा १३ प्रतिशत बढी राजस्व संकलन थियो । ९९ अर्ब ६५ करोड ७६ लाख राजस्व उठाउने लक्ष्य राखेकोमा उक्त आवमा १ खर्ब १२ अर्ब ५४ करोड राजस्व संकलन भएको थियो ।

त्यस्तैगरी, आर्थिक वर्ष २०७६/७७ मा ६६ प्रतिशत लक्ष्य पूरा गर्दै ७० अर्ब २९ करोड र आव २०७५/७६ मा ८८ प्रतिशत लक्ष्य पूरा गर्दै ८२ अर्ब ३० करोड ५३ लाख राजस्व संकलन भएको थियो । बेलहिया नाकाबाट सबैभन्दा बढी जिप, कार, भ्यान, मोटरसाइकल, डिजेल, पेट्रोल, शुद्ध फलाम (स्पोन्ज÷फेरेस आइरन), मार्बल, खाना पकाउने ग्यास, खाद्यान्न र अन्य व्यापारिक वस्तुको आयात हुने गरेको छ । यस्तै यहाँबाट भटमासको तेल, सेन्थेटिक ¥यान, सिमेन्ट, खयर कत्था, पिना, चाउचाउ, पास्ता, जडिबुटी, खोटो रोजिन, प्लाइउड र अन्य वनस्पतीजन्य उत्पादनहरु निर्यात हुने गर्दछन् । साना सवारी साधन, फलामे एमएस ब्लेड र पेट्रोलियम पदार्थको आयातबाट भैरहवा भन्सारको कुल राजस्व संकलनमा झन्डै २५ प्रतिशत योगदान रहने गरेको बताइन्छ । भन्सार विभागले चालू आव २०८२÷०८३ का लागि भैरहवा भन्सार कार्यालयलाई १ खर्ब १३ अर्ब भन्दा बढीको लक्ष्य तोकेको छ ।

नेपालगञ्ज भन्सारमा ७४ प्रतिशत मात्रै राजस्व संकलन
बाँकेको नेपालगञ्ज भन्सार कार्यालयले गत आव ०८१÷८२ मा लक्ष्यको ७४.६३ प्रतिशत राजस्व संकलन गर्न सफल भएको छ । २७ अर्ब १८ करोड ३५ लाख ८९ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा २० अर्ब २८ करोड ५१ लाख ८१ हजार मात्रै राजस्व संकलन भएको भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले जानकारी दिए ।

उनका अनुसार अघिल्लो आवभन्दा गत आवमा २ अर्ब भन्दा बढी राजस्व संकलन भएको छ । आव ०८०/८१ मा भन्सार लक्ष्य २८ अर्ब ६६ करोड रहेकोमा ६३.३४ प्रतिशत अर्थात् १८ अर्ब १५ करोड राजस्व संकलन भएको थियो । नेपालगञ्ज भन्सार कार्यालयले गत आवका कुनै पनि महिनामा लक्ष्य पूरा गर्न नसके पनि अघिल्लो आवको तुलनामा राजस्वमा सुधार आएको कार्यालयका प्रमुख पौडेलले बताए ।

कुन महिनामा कति राजस्व संकलन ?
नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार गत आर्थिक वर्ष ०८१÷०८२ को साउन महिनामा लक्ष्यको ७३.६७ प्रतिशत अर्थात् १ अर्ब ५० करोड ३८ लाख ३४ हजार, भदौमा लक्ष्यको ६६.६२ प्रतिशत अर्थात् १ अर्ब ४९ करोड ५ लाख २० हजार, असोजमा लक्ष्यको ६६.९१ प्रतिशत अर्थात् १ अर्ब ४१ करोड २९ लाख ४२ हजार, कात्तिकमा लक्ष्यको ७६.४४ प्रतिशत अर्थात् १ अर्ब ६६ करोड ८७ लाख ७ हजार राजस्व संकलन भएको छ ।

त्यस्तैगरी, मंसिर महिनामा लक्ष्यको ७६.२७ प्रतिशत अर्थात् १ अर्ब ६४ करोड ५८ लाख ३१ हजार, पुसमा लक्ष्यको ७१.१५ प्रतिशत अर्थात् १ अर्ब ५९ करोड ४७ लाख ३३ हजार, माघमा लक्ष्यको ७५.१३ प्रतिशत अर्थात् १ अर्ब ६३ करोड ८० लाख १७ हजार, फागुनमा लक्ष्यको ७३.६८ प्रतिशत अर्थात् १ अर्ब ७० करोड ५४ लाख ५४ हजार, चैतमा लक्ष्यको ८२.५४ प्रतिशत अर्थात् १ अर्ब ९८ करोड ८८ लाख ५ हजार राजस्व संकलन भएको छ ।

त्यस्तैगरी गत आवको वैशाख महिनामा लक्ष्यको ७७.७२ प्रतिशत अर्थात् १ अर्ब ८१ करोड ३९ लाख ५७ हजार, जेठमा लक्ष्यको ७२.०२ प्रतिशत अर्थात् १ अर्ब ८२ करोड ८८ लाख १२ हजार र असारमा लक्ष्यको ७७.४५ प्रतिशत अर्थात् १ अर्ब ८८ करोड ३६ लाख ९५ हजार राजस्व संकलन भएको सूचना अधिकारी खड्काले बताए ।

नेपालगञ्ज नाका हुँदै भारतबाट पेट्रोलियम पदार्थ, खाना पकाउने ग्यास, मार्बल, ए.टी.एफ, जीप्सन, विभिन्न केमिकल, खाद्यान्न, तयारी कपडा, तरकारी, फलफूल आयात हुन्छ भने जडीबुटी, एसेन्सीयल आयल, दालचिनी, अलैंची, प्लाइउड, खोटो रोजीनलगायतका अन्य वस्तु भारततर्फ निकासी हुने गरेको छ ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले कोभिड महामारीपछि शिथिल बनेको देशको अर्थतन्त्रमा सामान्य सुधारका संकेत देखापरेकाले राजस्व संकलनमा केही सुधार आएको बताए । उनले भने, ‘राज्यले व्यावसायी मैत्री वातावरण सिर्जना गरेर व्यवसायीहरुलाई प्रोत्साहन गर्नेहो भने चालू आर्थिक वर्षमा राजस्व अझै बढ्न सक्छ । सरकारले आयात भन्दा निर्यात बढाउनेतर्फ ध्यान दिन जरुरी छ ।’