

रमेश पराजुली
बुटवल । लुम्बिनी प्रदेशमा सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढेको देखिएको छ । बढ्दो सहरीकरणसँगै वृद्धि भएका सवारी, सडक पुर्वाधार, चालकको लापरबाही, सडक सञ्जाल, प्रतिकुल मौसमलगायतका कारणले दुर्घटना वृद्धि भएका हुन् । यससँगै मृतक र घाइते हुनेको संख्या पनि बढेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलले जनाएको छ ।

लुम्बिनी प्रदेशमा गत आर्थिक वर्ष २०८१/०८२ मा सानाठूला गरी ३ हजार ४७९ वटा सवारी दुर्घटना भएका छन् । यी दुर्घटनामा परी ५०६ जना नागरिकले ज्यान गुमाएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मित्रबन्धु शर्माले जानकारी दिए । उनका अनुसार ज्यान गुमाउनेमा महिलाभन्दा पुरुष धेरै छन् । जसमा १०१ जना महिला र ४०५ जना पुरुष रहेका छन् । एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी ५ हजार ६९१ जना घाइते भएका छन् । घाइते हुनेहरुमा १ हजार ५७८ जना महिला र ४ हजार ११३ जना पुरुष रहेका छन् ।
यो तथ्यांक अघिल्लो आर्थिक वर्षको भन्दा धेरै हो । अघिल्लो आव ०८०/०८१ मा १ हजार १२० वटा सवारी दुर्घटना हुँदा ४९६ जना नागरिकले ज्यान गुमाएका थिए भने १ हजार ६९३ जना घाइते भएका थिए । यस्तै, आव ०७९/८० मा ८९२ वटा सवारी दुर्घटना हुँदा ४६२ जनाको मृत्यु भएको थियो । दुर्घटनामा परेका सबै सवारी र घाइतेहरुको संख्या रेकर्डमा राख्दा दुर्घटनामा परेका सवारी र घाइतेहरुको संख्या बढेको प्रहरी उपरीक्षक शर्माले बताए । ‘अघिल्ला आर्थिक वर्षहरुमा मध्यम र गम्भीर घाइतेहरुको मात्र रेकर्ड राख्ने गरीएको थियो । तर, गत वर्षदेखि दुर्घटनामा परेका सबै सवारी र घाइतेहरुको संख्या रेकर्डमा राख्ने गरेका छौँ, जसले गर्दा अघिल्ला वर्षमा भन्दा गत आवमा दुर्घटनाग्रस्त सवारी र घाइतेको संख्यो बढेको छ ।’ प्रहरी उपरीक्षक शर्माले भने ।

रुपन्देहीमा सबैभन्दा धेरै सवारी दुर्घटना
ट्राफिक प्रहरीको तथ्यांकअनुसार लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै सवारी दुर्घटना रुपन्देहीमा भएका छन् भने सबैभन्दा कम दुर्घटना रुकुम पूर्वमा भएका छन् । रुपन्देहीमा एक वर्षमा ८०२ वटा सवारी दुर्घटना हुँदा १२१ जनाको मृत्यु भएको छ भने १ हजार २३२ जना घाइते भएका छन् । यस्तै, नवलपरासी पश्चिममा ३७८ वटा सवारी दुर्घटना हुँदा ४६ जनाको मृत्यु भएको छ भने ६०५ जना घाइते भएका छन् । कपिलवस्तुमा ४६३ वटा सवारी दुर्घटना हुँदा ७३ जनाको मृत्यु भएको छ भने ७८२ जना घाइते भएका छन् । पाल्पामा ११६ वटा सवारी दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको छ भने १७९ जना घाइते भएका छन् । गुल्मीमा ६९ वटा सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने १४६ जना घाइते भएका छन् ।
यस्तैगरी, अर्घाखाँचीमा एक वर्षको अवधिमा ६४ वटा सवारी दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ भने १८८ जना घाइते भएका छन् । दाङमा ३६२ वटा सवारी दुर्घटना हुँदा ७८ जनाको मृत्यु भएको छ भने ६०३ जना घाइते भएका छन् । बाँकेमा ५७७ वटा सवारी दुर्घटना हुँदा ७० जनाको मृत्यु भएको छ भने ९२६ जना घाइते भएका छन् । बर्दियामा ४८२ वटा सवारी दुर्घटना हुँदा ३८ जनाको मृत्यु भएको छ भने ७५८ जना घाइते भएका छन् । प्युठानमा ६६ वटा सवारी दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने ११८ जना घाइते भएका छन् । रोल्पामा ८४ वटा सवारी दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ भने १२८ जना घाइते भएका छन् । रुकुम पूर्वमा १६ वटा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।
‘हामीले निरन्तर ट्राफिक सचेतना र लेनअनुशासनलाई कडाई गरिरहेका छौं’, प्रहरी उपरीक्षक शर्माले भने, ‘चालक निदाउँदा, ओभरट्याक गर्दा, लेन पालना नगर्दा, क्षमताभन्दा बढी यात्रु चढाउँदा र मादकपदार्थ सेवन गरेर सवारी चलाउँदा बढी दुर्घटना हुने गरेका छन् । यसलाई रोक्न प्रदेशका १२ वटै जिल्लामा विभिन्न योजनासाथ काम गरिरहेका छौं ।’ सबैभन्दा धेरै दुईपाङ्ग्रे सवारी दुर्घटनामा युवापुस्ता धेरैले ज्यान गुमाएका छन् ।
कारबाहीमा परेका सवारी घटेपनि जरिवाना रकम बढ्यो
सवारी नियम उल्लङ्घन, नक्कली चालक अनुमतिपत्र, गलत नम्बर प्लेट, ओभरलोड, स्वरुप परिवर्तन गरिएको सवारीलगायतका मुद्दामा कडा निगरानी गरिएको कार्यालय प्रमुख प्रहरी उपरीक्षक शर्माले बताए । उनका अनुसार गत आर्थिक वर्षमा १ लाख ७० हजार बढी सवारीसाधन कारबाहीमा परेका छन् । उक्त कारबाहीबाट १७ करोड ८३ लाख ८३ हजार ४१९ रुपैयाँ जरिवाना संकलन भएको छ । यस्तै यातायात कार्यालयमार्फत २७३ वटा सवारी कारबाहीबाट ३८ लाख ८५ हजार ८४५ रुैयाँया राजस्व संकलन भएको छ । यस्तै अघिल्लो आव ०८०/०८१ मा २ लाख ३३ हजार ९६ सवारी कारबाहीमा परेका थिए भने १७ करोड ४२ लाख ३७ हजार ५०३ रुपैयाँ जरिवाना संकलन भएको थियो ।
यस्तैगरी ट्राफिक प्रहरीले गत आर्थिक वर्ष २०८१/०८२ मा स्वरुप परिवर्तन गरेका २१९ वटा मोटरसाइकल चालकलाई कारबाही गरी (यातायातमार्फत) २० लाख १० हजार राजस्व संकलन भएको छ । अघिल्लो आवमा स्वरुप परिवर्तन गरेका ६७ वटा मोटरसाइकल चालकलाई कारबाही गरीएको थियो । यस्तै, नगरपालिकामा दर्ता नभएका २४९ वटा ई–रिक्सा तथा टेम्पोहरुलाई कारबाहीका लागि नगरपालिकामा पठाई (नगरपालिकामार्फत) १४ दाख ६८ हजार राजश्व संकलन भएको छ । गत आवमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ६ हजार ५६६ जना चालक कारबाहीमा परेकोमा ३३ लाख ७५ हजार ५ सय राजस्व संकलन भएको छ ।
‘हामीले राजस्व संकलनभन्दा पनि नियम पालना र दुर्घटना न्यूनीकरणमा विशेष ध्यान दिएका छौं’, प्रहरी उपरीक्षक शर्माले भने, ‘तर, नियम नमान्ने र उल्लङ्घन गर्नेलाई भने कानुनी दायरामा ल्याएर जरिवाना पनि गरेका छौं ।’ ट्राफिक प्रहरीले दैनिकजसो लापरबाही गरी सवारी चलाउने चालकलाई कारबाही गरेपनि सवारी साधनहरूको संख्या थपिँदै जाँदा दुर्घटनाको संख्या पनि बढ्दै गएको प्रहरी उपरीक्षक शर्मा बताउँछन् ।

ट्राफिक सचेतनामूलक अभियान
सडक सुरक्षामा नागरिकको भूमिका बढाउन कार्यालयले विभिन्न स्थानमा ट्राफिक सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेको छ । बाँकेमा ट्राफिक सप्ताह, बुटवल–भैरहवा सडक खण्डमा ‘मेरो सवारी, मेरो लेन’ अभियान, शैक्षिक सडक नाटक, तथा दुर्घटनामा नपरेका चालकलाई सम्मान गर्ने कार्यक्रमले जनचेतनामा सुधार ल्याएको देखिन्छ । एक वर्षको अवधिमा १५ हजार ५१७ वटा सचेतनामूलक कार्यक्रम भएका छन् । जसमा बाँकेमा सबैभन्दा बढी २ हजार ६२४ वटा सचेतनामूलक कार्यक्रम गरिएको छ । यस्तै ट्राफिक प्रहरीले बुटवल उपमहानगरपालिकाभित्र मात्रै २०४ वटा, रुपन्देहीमा २ हजार ६ वटा, नवलपरासी पश्चिममा २ हजार ४६, कपिलवस्तुमा २ हजार १७२, पाल्पामा ७५८, गुल्मीमा ६७१, अर्घाखाँचीमा ३५३, दाङमा १ हजार ४२६, बर्दियामा ८२२, प्यूठानमा १ हजार ३०, रोल्पामा ६ सय र रुकुम पूर्वमा १८३ वटा सचेतनामूलक कार्यक्रम गरिएको प्रहरी उपरीक्षक शर्माले बताए । अघिल्लो आव ०८०/०८१ मा १३ हजार ६७७ वटा सचेतनामूलक कार्यक्रम भएका थिए । ‘विद्यालय, संघसंस्था, सडक प्रयोगकर्ता सबैलाई सचेतना जगाएका छौं’, ‘लापरबाही, सडक सञ्जाल र मौसमका कारण पनि दुर्घटना रोकिएका छैनन् ।’ उनले भने ।
सवारी व्यवस्थापन र स्वास्थ्य सेवा
ट्राफिक प्रवर्तनसँगै ७६३ सवारी साधनको मेकानिकल चेकजाँच, ३ हजार ४०५ चालकको स्वास्थ्य तथा आँखा परीक्षण, १ हजार १४५ सवारीमा स्टिकर टाँस गरिएको छ । ट्राफिक लाइट तथा रोड मार्किङ जडान गरेर व्यवस्थित सवारी चलनलाई प्रोत्साहन गरिएको छ ।

आठ स्थानमा ट्राफिक लाइट जडान
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले एक वर्षको अवधिमा रुपन्देही र बाँकेका विभिन्न थप ८ स्थानमा ट्राफिक लाइट जडान गरेको छ । रुपन्देहीमा बुटवलको ट्राफिक चोक, मिलन चोक र कालिका चोक तथा बाँकेमा नेपालगञ्जको विपी चोक, धम्बोजी चोक, पुष्पलाल चोक, राँझा चोक र गणेशमान चोकमा ट्राफिक लाइट जडान गरिएको छ ।
प्रविधिको प्रयोग र दक्षता अभिवृद्धि
लुम्बिनी प्रदेशभर ई–चलान प्रणाली, ई हाजिरी, टीभीआरएस सेवा ३२ स्थानमा विस्तार गरिएको छ । हाइड्रोलिक मेटल कटर, लागुपदार्थ सेवन जाँच किट, एनपीआर र फिक्स क्यामेरा, डिजिटल उपकरण प्रयोग गरी ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाइएको कार्यालय प्रमुख प्रहरी उपरीक्षक शर्माले जानकारी दिए । यसैगरी मानसिक स्वास्थ्य, योग, श्रवण परीक्षण, दृष्टि परीक्षण, अग्नि नियन्त्रण तालिमलगायतका कार्यक्रममार्फत प्रहरी कर्मचारीको क्षमता अभिवृद्धिमा जोड दिइएको उनको भनाइ छ ।
स्थानीय समन्वय र सामाजिक सहभागिता
सुरक्षा प्रविधिको विकासमा स्थानीय तहको समन्वय उल्लेखनीय छ । अटोमेटिक नम्बर प्लेट रिड (एनपीआर) र सीसीटीभी जडान, ट्राफिक एफएम. स्थापनाको प्रयास, तथा सुरक्षित यात्रा नेपालसँग सहकार्यमा नीति निर्माण छलफल सम्पन्न गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।
यस्तैगरी सडक दुर्घटना न्यूनीकरणका लागि ६५० भन्दा बढी छाडा चौपाया बुटवल, दाङ, कपिलवस्तुलगायत स्थानमा व्यवस्थापन गरिएको छ । कतिपय चौपायामा रातको समयमा देखिने रेडियम वेल्टसमेत लगाइएको प्रहरीको विवरणमा उल्लेख छ । यस्तै हराएका सवारी साधन र मोबाइल उपकरणहरू सम्बन्धित धनीलाई फिर्ता दिने कार्यमा कार्यालयले उदाहरणीय भूमिका निर्वाह गरेको छ ।
न्यून जनशक्ति, बढ्दो सवारी चाप
लुम्बिनी प्रदेशका १२ जिल्ला हेर्ने राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयमा रहेको जनशक्तिले अहिलेको सवारी चापको व्यवस्थापन थेग्न नसक्ने भइरहेको छ । सहर केन्द्रित जनघनत्वले बढाएको ट्राफिक चापलाई अहिलेको यहीँ साधन स्रोतको जनशक्तिले थेग्ने अवस्था नरहेको प्रतिवेदनले नै देखाएको छ ।
उपलब्ध प्रविधि, जनसहभागिता र कानुनी कार्यान्वयनलाई समन्वय गर्दै सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा सकारात्मक परिवर्तन ल्याउनेगरी हरदम काममा खटिएको कार्यालय प्रमुख प्रहरी उपरीक्षक शर्माले बताएपनि प्रायः शहरहरुमा जनशक्तिले थेग्नै नसक्नेगरी ट्राफिक चाप बढिरहेको छ । व्यवस्थापनका कामलाई अझ प्रभावकारी बनाउन १२ वटै जिल्लामा स्थानीय तह, सरोकारवाला निकाय, आमसञ्चारकर्मी र नागरिक समाजसँग सहकार्यको दायरा फराकिलो बनाउँदै सबै जिल्लामा जनशक्ति व्यापक रुपमा परिचालन गरी दुर्घटना न्यूनीकरण र पार्किङ व्यवस्थापनामा विशेष ध्यान दिइएको प्रहरी उपरीक्षक शर्माले बताए ।