

मीनप्रसाद पौडेल
साउन ६ गते विपी कोइराला र साउन ७ गते पुष्पलाल श्रेष्ठको स्मृति दिवस मनाइन्छ । नेपाली कांग्रेसका संस्थापक विपी कोइराला र नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल दुवै नेपाली राष्ट्रियता र लोकतन्त्रप्रतिको समर्पणका आदर्श पात्र हुन् । विपी र पुष्पलाल दुवै बहुदलीय व्यवस्था, मौलिक हक र नागरिक स्वतन्त्रताको पक्षमा जीवनभर संघर्षरत रहे । यद्यपि विपी क्रमशः संवैधानिक राजतन्त्रमा केन्द्रित भए भने पुष्पलाल जीवनभर कट्टर गणतन्त्रवादी रहे ।

पुष्पलाल भारतको हस्तक्षेपकारी भूमिकाको स्पष्ट आलोचक थिए भने विपीले पनि भारतको स्वार्थ केन्द्रित नीतिबाट निराश भई अन्ततः मेलमिलापको नीति अवलम्बन गरे । दुवैले नेपालभित्र विदेशी प्रभाव अस्वीकार्य हुनुपर्ने धारणा राखे ।
विपीले संवैधानिक राजतन्त्रमा पनि लोकतन्त्र सम्भव हुने तर्क गरे भने पुष्पलालले राजतन्त्र उन्मूलन गरी गणतन्त्र र समाजवादमा पुग्नुपर्ने विचार राखे । पुष्पलाल नेपालको पहिलो गणतान्त्रिक चेतनाका सिद्धान्तकार मानिन्छन् ।
आजको सन्दर्भमा सन्देश
वर्तमान राजनीतिक दलहरूले सत्ताको लागि आत्मसमर्पणवादी नीति अपनाउँदै विदेशी शक्तिलाई रिझाउन खोज्ने प्रवृत्ति देखाएकोप्रति चिन्ता व्यक्त गरिएको छ । विपी र पुष्पलालजस्ता नेताहरूले देखाएको स्वाभिमान, देशभक्ति र स्पष्ट दृष्टिकोण आजको नेतृत्वले अनुसरण गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
दुवै नेताको सम्मान भाषण र माल्यार्पणमा मात्र सीमित नहोस् । उनीहरूको विचार, दर्शन र त्यागलाई व्यवहारमा उतार्नु नै सच्चा श्रद्धाञ्जली हुनेछ । नेपालले आफ्नो निर्णय आफैं गर्ने साहस र आत्मसम्मान कायम राख्न नसके विपी र पुष्पलालको योगदानको अर्थ हराउनेछ ।
यी दुई विभूतिको योगदानबिना आजको नेपालको कल्पना सम्भव थिएन भन्दा पनि हुन्छ । तर, स्मरणको नाममा औपचारिकता मात्र दोहोरिने, विचारलाई बिर्सिने क्रम बढ्दो छ र अराजकताले यस्ता युग पुरुषको निरन्तर अबमूल्यक गर्ने गलत प्रवृत्ति झाँगिदै गएको छ । आजको गणतन्त्र नेपालको स्थापना र वाक स्वतन्त्रताका लागि पुष्पलाल र विपीले उतिबेलै आवाज उठाएका थिए र बाँचुञ्जेल त्यसैका लागि संघर्ष गरेका थिए ।
सहिद गंगालालका भाइ पुष्पलाल नेपाली कम्युनिस्ट पार्टीका संस्थापक महासचिव, नेपाली इतिहासको भौतिकवादी धारका पहिलो विश्लेषक पनि हुन् । नेपाली समाजको वर्ग विश्लेषण, अन्तरविरोध र शत्रु एवं मित्र किटान गर्दै संघर्षको दिशा निर्धारण गर्ने एकक अग्रणी नेताका रुपमा पनि लिइन्छ पुष्पलाललाई ।
समय गुज्रँदै जाँदा पार्टीमा स्वत्वका टकराहट बढेर सत्ता संघर्षमा हुत्याइँदै गए पनि आन्दोलनबाट कटाउन भने नसकिएका र राजतन्त्रसँगको संघर्षप्रधान मान्ने पुष्पलाल राजतन्त्रप्रति नरम धारणा राख्ने साड्दाजु मनमोहन अधिकारीसँग जीवनपर्यन्त मेल खान सकेन । प्रजातान्त्रिक आन्दोलन कांग्रेस र कम्युनिस्ट सहकार्यमा मात्रै राजनीतिले कोल्टे फेर्छ भन्ने धारणा पुष्पलालमा रहिरह्यो ।
२०१७ सालको महेन्द्रशाही ‘कू’ पछाडि त पुष्पलाल अझ कांग्रेस–कम्युनिष्टका बिचमा सहकार्य हुनुपर्छ भन्ने कुरामा दृढ रहे । आफन्तबाट प्रताडित हुँदै जाँदा मोहनविक्रमबाट ‘गद्धार पुष्पलाल’ पनि भनिए । मोहनविक्रम अहिले जीवितै छन् र सायद पश्चातापमा पनि हुनुपर्छ उनी यो विषयमा । विपी राष्ट्रिय मेलमिलाप नीति लिएर फर्किएपछि पुष्पलाललाई पनि राजाको राष्ट्रवादी अभियानमा सहयोग पु¥याउन सन्देश लिएर वनारस पुगेका टंकप्रसाद आचार्यको प्रस्ताव स्विकारेनन् ।
पुष्पलालले प्रजातान्त्रिक आन्दोलनमा कांग्रेस–कम्युनिष्ट सहकार्य गर्नुपर्छ भन्ने आफ्नो विचारको सफलता जीवनकालमै देख्न भने पाएनन् । अहिले कांग्रेस–कम्युनिष्टका बिचमा सहकार्य छ । त्यतिमात्रै होइन, सत्तागठबन्धन नै छ ।
विपीले जनतामाझ लोकतन्त्रको बिउ रोपे, गरिबी र भयमुक्त समाजको सपना देखे । पुष्पलालले त्यसबेला नै समाजवादको सपना देखे, समानताको सपना देखे, विभेदको अन्त्यको कामना गरे र समुन्नत समाजको कल्पना गरे । छोटो प्रधानमन्त्रीकालमै वीपीले भूमि सुधार, वन राष्ट्रियकरण, विद्युत् र उद्योग विस्तारजस्ता दूरदर्शी कामहरू थालनी गरे । पुष्पलाल राजकीय भूमिकामा जानै पाएनन् । पुष्पलालले युवावस्थामै सिपमूलक शिक्षादेखि समतामूलक समाजको परिकल्पना गर्दै नेपालमा कम्युनिस्ट विचारधाराको जग बसाले । ती विचार र प्रयत्न आजका नेता र दलहरूको प्रेरणास्रोत हुनु पर्ने हो ।
दुर्भाग्यवश, अहिले ती नेताका नाममा भव्य कार्यक्रम त गरिन्छन् तर विचारहरू बिर्सिएजस्तै छन् । जनताको अवस्था परिवर्तनको एजेण्डा घोषणापत्रमा सीमित छ, संविधानका लेखिएको समाजवाद उन्मुख समाजको कुरा कागजमै सीमित छ । बरु संविधानको कार्यान्वयनमा पनि आफूखुशी बढिरहेको छ । कांग्रेस र कम्युनिस्टबिच सत्ता मिल्न सक्छ, तर जनजीवनमा परिवर्तन ल्याउनेगरी तदारुकताका साथ काम कहिले हुने हो ? अहिले एमाले र कांग्रेसका बिचमा सत्ता सहकार्य छ, सत्ता गठबन्धन छ । आपसी मेलमिलापबाट बनेको गठबन्धनको सरकारले परिवर्तनको अनुभूति गराउनुपर्ने छ ।
साँचो श्रद्धाञ्जली भनेको विचारको निरन्तरता हो । भ्रष्टाचारमुक्त, जनउत्तरदायी र समावेशी शासन पद्धतिमार्फत मात्रै ती नेताका सपना साकार हुन्छन् । सुशासनको अनुभूति गराउने भनेको नाराले होइन, भाषणले होइन, स्टण्डले होइन, कुराले मात्रै होइन, नयाँका नाममा पुराना भएजतिकालाई सरापेर होइन, ठगी गरेर, आर्थिक अपचलन गरेर, सहकारी ठगेर, भ्रष्टाचार गरेर होइन । व्यवस्था मात्र होइन, अवस्था परिवर्तन गर्ने दृढ संकल्पका साथ अघि बढ्दा मात्र वीपी र पुष्पलालका आत्मालाई सन्तोष मिल्नेछ भन्ने कुरामा कांग्रेस र एमालेका नेताहरुले अब बुझ्न जरुरी छ ।
अहिले अवस्था प्रतिकुल बनिरहेको छ । सामाजिक सञ्जालको बढ्दो दुरुपयोग र एआइको समेत तीव्र विकासले समाजमा एकप्रकारको भाँडभैलो निम्त्याउन सक्ने जोखिम बढिरहेको छ । एआइमार्फत दुरुस्तै हो कि भन्ने खालका गलत भिडियो, आवाज र लेखहरु छ्यापछ्याप्ती भइरहेका छन् ।
यसै त झुटो र भ्रम छिटो बिक्ने मुलुकमा एआइको दुरुपयोगले झन जोखिम बढाइरहेको छ । यसतर्फ सरकारका निकायले भने बेलैमा चासो दिन सकिरहेका छैनन् । नियमन गर्ने, नियन्त्रण गर्ने, कानुन बनाउने र देशप्रति, समाजप्रति जवाफदेही बनाउनेतर्फ केन्द्रित हुनुपर्ने छ । नागरिकले अधिकार मात्रै खोज्ने होइन, आफ्नो असल नागरिकको भूमिका, कर्तव्य, जिम्मेवारी र उत्तरदायित्व पनि बहन गर्नुपर्छ भनेर सिकाउनुपर्नेछ ।
स्मृति दिवसहरू आत्ममुग्धताको होइन, आत्मसमीक्षाको अवसर हुन् । आजको नेपालमा यी दुई सन्देश बढी सान्दर्भिक छन्–विपीको ‘राष्ट्रिय मेलमिलाप’ र पुष्पलालको ‘जनमुखी परिवर्तन ।’ यी सन्देशलाई व्यवहारमा उतार्नु नै सच्चा सम्मान हो ।
विपी कोइराला र पुष्पलाल श्रेष्ठ नेपाली स्वाधीनता, लोकतन्त्र र राष्ट्रियताको प्रतीक हुन् । साउन ६ र ७ मा मनाइने उनीहरूको स्मृति दिवस केवल औपचारिकतामा सीमित नभई उनीहरूको जीवन दर्शनबाट प्रेरणा लिनु आवश्यक छ । विपी संवैधानिक राजतन्त्रभित्र लोकतन्त्रको सम्भावनाको पक्षधर थिए भने पुष्पलाल कट्टर गणतन्त्रवादी र समाजवादका प्रणेता थिए । यद्यपि दुवै विदेशी हस्तक्षेपको डटेर विरोध गर्ने शैली, स्वाभिमानी र जनहितकेन्द्रित नेताका रुपमा स्थापित थिए ।
आज कतिपय राजनीतिक दलका नेताहरु स्वार्थका लागि विदेशी शक्तिको चरणमा ढोग्ने, सामाजिक एकता र सद्भावका विरुद्ध लाग्ने तत्वसंग साँठगाँठ गर्ने, अरुलाई गाली मात्रै गर्ने, तथ्यका आधारमा सत्य स्थापित गर्नतिर लाग्ने भन्दा पनि सामाजिक सञ्जाल र एआइको दुरुपयोग गरेर चरित्रहत्या गर्ने, देशकै विरुद्ध पनि प्रस्तुत हुन तम्सिने खालका पनि छन् । विपी र पुष्पलालबाट हामीले आत्मसम्मान, स्पष्ट दृष्टिकोण र निष्ठाको पाठ सिक्नुपर्छ । साँचो श्रद्धाञ्जली भनेको उनीहरूले देखाएको बाटोमा हिँड्नु र नेपाललाई स्वाभिमानी राष्ट्र बनाउनतिर एक भएर लाग्नु हो । अहिलेको सत्ता गठबन्धनले त्यहीँ लक्ष्यमा केन्द्रित भएर लाग्नुपर्नेछ । (लेखक, नेकपा एमाले रुपन्देहीका प्रचार विभाग प्रमुख हुनुहुन्छ ।)