समाजका लागि एक दिन !

मेचीकाली संवाददाता

१० श्रावण २०८२, शुक्रबार
792 shares

टोपलाल अर्याल

गुल्मी । दशैतिहारमा आफ्ना बाटा आफैँले सफा गर्नुपथ्र्यो । सार्वजनिक भवन बनाउन हुलका–हुल मान्छे हुन्थे । चौतार, इनार र कुवाहरु खन्नुलाई धर्म मानिन्थ्यो । झोलामा खाजा र मनमा समाजिक भावना हुन्थ्यो । आफ्नै मानो खाएर महिनौँ सडक खनेका पुस्ता अझै समाजमा छन् । त्यो बेला टाढा भएको सरकारसँग जनताका आशा पनि कम थिए । अचेल सरकार नजिक छ । तर, नागरिक कर्तव्य टाढा पुगेको छ । सामाजिक काममा सामुदायिक भावना भएकाले सरकारी बजेट कम खर्च कम हुन्थ्यो, अपनत्व धेरै । अहिले सामाजिक काममा कसैको रुची छैन् । सडकको भल तर्काउन पनि सरकारको मुख ताक्ने प्रवृत्ति मौलाएको छ । यही समाज र प्रवृत्तिका बिच इस्माको एउटा क्लवले वर्षौँदेखि निकै उदाहरणीय सामाजिक काम गरिरहेको छ ।

इस्मा गाउँपालिका–५ इस्मारजस्थलको द–ग्यासेक्सी युवा क्लवले ‘३६४ दिन आफ्ना लागि एक दिन समाजका लागि’ भन्ने अभियानमार्फत सामाजिक कामहरुमा अग्रसरता देखाएको छ । विसं. २०६६ सालमा स्थापना भएको क्लव भर्खरै जिर्ण लालकुमारी मन्दिर संरक्षणका लागि २८ जनाले २५ दिन श्रमदान गरेका छन् । मन्दिर प्लाष्टर, रङरोगन, विद्युत् जडान, दानपात्र, रिटेलिङ्ग वाल, गेट र रेलिङ्गसहितको सिँढी निर्माण गरिएको क्लवका पूर्व अध्यक्ष विकाश बिष्टले जानकारी दिए ।

क्लवले आगामी दिनमा ट्रस निर्माण गर्ने योजना बनाएको छ । मन्दिर व्यावस्थापनका सामग्रीको लागि तुल्सी बस्नेतको स्मृतिमा मुमा बस्नेतसहितको परिवारले ४५ हजार रुपियाँ, चुनाकुमारी बिष्टको स्मृतिमा दुजमान बिष्टको परिवारले मन्दिरको गजुर तथा चार सुरमा काँसको पाता, हरिचन्द्र चालिसेले मन्दिरको गेटमा ३ वटा गजुर, यमुना महत, विपिन–किरण पाण्डे, ज्ञानकुमारी थापा, कृष्ण थापा र भिमबहादुर बिष्टले घण्ट सहयोग गरेको पूर्व अध्यक्ष बिष्टले बताए । मन्दिर व्यावस्थापनको अभियानमा १२८ जनाले आफू सक्दो आर्थिक सहयोग गरेका छन् ।

अभियानमा संकलन भएको तीन लाख ५२ हजार ६२३ रुपियाँमध्ये मन्दिरमा दुई लाख २७ हजार ७९० रुपियाँ खर्च भएको क्लवका अध्यक्ष डेमबहादुर बिष्टले जानकारी दिए । व्याडीपोखरी र दोवाट डाँडामा चौतारी निर्माण तथा अधेरीखोला, सिख्रे, भिरपानी, ओख्ले र रातापोखरा पँधेरो सरसफाई गरिँदै आएको अध्यक्ष बिष्टले बताए । क्लवले प्रत्येक बर्ष जेष्ठ नागरिक सम्मान, सिद्ध प्राविका गरिव तथा जेहेनदार विद्यार्थीलाई सहयोग, तीज गीत प्रतियोगिता र कोभिड–१९ को बेला बिद्यालयहरुमा माक्स वितरण पनि गरेको जनाएको छ । अहिलेसम्म निर्माण, मर्मत र सरसफाइ गरिएका सार्वजनिक संरचना स्वतस्र्फूत रुपमा गरिएको श्रमदानबाट बनाइएको बिष्टले बताए ।

इस्मा गाउँपालिका–५ का ५० वर्ष गुञ्जमान विष्टसंग श्रमदान गरेका थुप्रै अनुभव छन् । संचालन खर्च नहुँदा सरकारी बजेट विद्यालयमा राखेर कैयौँपटक श्रमदान गरेर सडक खनिएको विष्टले बताए । उनले भने,‘आफ्नै घरको खाएर दिउँसोको खाजासमेत बोकेर दिनभर काम गरेर साँझ घरकै खान फर्किन्थ्यौँ । अहिले श्रमदान भन्दा कोही घरबाट निस्कदैनन् ।’ आफूहरुले श्रमदान गर्ने प्रवृत्तिलाई क्लवमार्फत बचाएर राख्न सकेको बिष्टले बताए । यो अभियानमा बच्चादेखि ८४ बर्षसम्मका बृद्धहरुको सहयोग र ऊर्जा रहेको उनले बताए ।